
भोजपुर । टेम्केमैयुङ गाउँपालिका-३ का ३५ वर्षीय रञ्जित गिरी चियाखेतीमा लागेको एक दशक नाघ्यो । बुबा शरमान गिरीले शुरु गर्नुभएको चियाखेतीलाई अगाडि बढाउनुभएका उहाँको दैनिकी चियाका बोटको हेरचार, स्याहार र प्रशोधनमै बित्छ ।
असी रोपनी क्षेत्रफलमा फैलिएको चियाबगानलाई उहाँले यतिबेला पर्यटकीय गन्तव्य बनाउन सक्रिय हुनुहुभएको छ । ‘यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर चिया बगानभित्रै टेम्के फनपार्क तथा रिसोर्ट सञ्चालन सुरु गरेको छु’ रञ्जित गिरीले भन्नुभयो– ‘रिसोर्ट निर्माणपछि पर्यटकहरु बिस्तारै बढ्न थालेका छन् ।’
एक वर्षअघिबाट सञ्चालनमा आएको रिसोर्टमा ९० लाख रुपैयाँ लगानी गर्नुभएको छ । चियाखेतीबाट आम्दानीसँगै बगानमा पर्यटक बढाउन पनि सकिने उहाँको विश्वास छ ।
विसं २०७६ देखि गुरास चिया उद्योग सञ्चालन गरिरहनुभएको उहाँको यो उद्योग भोजपुरमा एक्लो हो । हालसम्म चियाका लागि करिब दुई करोड ५० लाख रुपैयाँ लगानी गर्नुभएका उहाँले आफूले उत्पादन गरेको चियाले नेपाल चिया तथा कफी विकास बोर्डबाट टे«डमार्क समेत पाइसकेको उहाँले जानकारी दिनुभयो ।
‘अग्र्यानिक चिया भएकाले देशका ठूला सहरसँगै विदेशसम्म जान थालेकाले चिया बजारीकरणमा कुनै समस्या छैन’, उहाँले भन्नुभयो । गिरीले चियाले उचित मूल्य पाएमा वार्षिक २५ देखि ३० लाख रुपैयाँ सम्म आम्दानी गर्न सकिने उहाँले बताउनुभयो । उहाँले हाल अग्र्यानिक हरियो चिया (ग्रिनटी) प्रतिकिलो १ हजार ८ सय, कालो चिया १ हजार २ सय र सिल्भर चिया ३० हजार रुपैयाँमा बिक्री गर्दै आउनुभएको छ । उहाँले चिया उद्योग सञ्चालनका लागि कोशी प्रदेश सरकारबाट प्रोत्साहन स्वरुप १७ लाख ५० हजार रुपैयाँ अनुदान पनि पाइसक्नुभएको छ ।
‘चियाखेतीबाट आम्दानी राम्रो छ, अब पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना बनाएका छौँ’ उहाँले भन्नुभयो– ‘चियाखेती हुने क्षेत्रफल बढाउने पनि योजना छ ।’ हाल उहाँको उद्योगमा पाँच जनाले रोजगारी पाइरहनुभएको छ ।
बगानमा उत्पादन भएको चिया एक महिनामा चार पटकसम्म टिप्न सकिने गिरीले जानकारी दिनुभयो । उहाँले चियाको नर्सरीसमेत आफैँ गर्दै आउनुभएको छ भने किसानलाई आवश्यक परामर्श पनि दिनुहुन्छ ।
युवा व्यवसायी गिरीलाई प्रोत्साहन गर्नका लागि वडा कार्यालयका तर्फबाट सडक मर्मतका लागि ३ लाख रुपैयाँ उपलब्ध गराइएको वडाध्यक्ष पूर्णप्रसाद राईले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह