
ललितपुर । ललितपुरमा २५ हजार चार सय ४९ बालबालिकालाई पोलियो खोपविरुद्धको ‘आइपिभी’ खोप लगाइने भएको छ । जेठ १३ गतेदेखि २६ सम्म सञ्चालन हुने खोप अभियानमा बालबालिकालाई आइपिभी खोप लगाइने जनाइएको हो ।
स्वास्थ्य कार्यालय ललितपुरका खोप अधिकृत राजाराम कार्कीले यही जेठ १३ गतेदेखि २६ सम्म सञ्चालन हुने अभियानमा २०७३ देखि २०७५ सालसम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई खोप दिने तयारी भएको बताउनुभयो ।
‘ललितपुरका छ स्थानीय तहका बालबालिकालाई १३ गतेदेखि खोप लगाइन्छ । नियमित खोप अभियान पनि सञ्चालन हुने कोञ्ज्योसोम गाउँपालिकामा १४ गते र महाँकाल गाउँपालिकामा १६ गतेदेखि शुरु हुनेछ । बागमती गाउँपालिका, ललितपुर महानगरपालिकाका साथै गोदावरी र महालक्ष्मी नगरपालिकामा १३ गतेदेखि नै शुरु हुनेछ’ अधिकृत कार्कीले भन्नुभयो ।
जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले विद्यालयमा खोप अभियान सञ्चालनका लागि शिक्षा समन्वय एकाइमार्फत विद्यालय तथा निजी अस्पतालसँग समन्वय गर्न आग्रह गर्नुभयो । उहाँले नियमित खोप लगाउन छुटेकाहरू फेरि यो अभियानमा पनि छुटे भने त्यसले नकारात्मक असर पार्ने भन्दै खोप लगाउन छुट्दा उत्पन्न हुने समस्याबाट सृजना हुने अवस्थाको अन्त्य गर्न आपसी समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारीले ललितपुरलाई पोलयोमुक्त गराउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न र स्थानीय तहसँग समन्वय र प्रचारप्रसारलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।
जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख भुवन पौडेलले पोलियोविरुद्ध २०७१ सालदेखि नेपालमा खोप लगाउन शुरु गरिए पनि २०७३ देखि २०७५ सालसम्म विश्वभर आइपिभीको अभाव हुँदा नेपालमा उपलब्ध नभएको बताउनुभयो । खोप अभावका कारण यसअघि देशभरका कतिपय बालबालिका वञ्चित भएकाले अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ ।
नियमित खोप सञ्चालनका क्रममा बालबालिकालाई जन्मिएको दिनदेखि १५ महिनाभित्र सातपटकमा १३ वटा रोगबाट बच्ने खोप लगाउनुपर्ने व्यवस्था सरकारले गरेको । त्यस अवधिमा छुटेका बालबालिकालाई १६ देखि २३ महिनाभित्र खोप दिने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
डब्लुएचओका प्रतिनिधि डा निमेश खतिवडाले नेपालमा अझैसम्म पनि चार प्रतिशत बालबालिकाले कुनै पनि खोप पाउन नसकेको अवस्था रहेको र १६ प्रतिशतले आंशिक खोप पाउन सकेका जानकारी दिनुभयो । ‘विसं २०७३ वैशाखदेखि २०७५ असोज मसान्तसम्म जन्मेका बालबालिका अहिले पाँच वर्ष आठ महिनादेखि आठ वर्ष एक महिनासम्मका उमेरका भएका छन् । उनीहरूलाई नियमित खोप अभियानमा दिन बाँकी रहेको आइपिभी खोप अहिले अभियान सञ्चालन गरेर दिनुपरेको हो’ उहाँले भन्नुभयो ।
सन् २०१० अर्थात् विसं २०६७ पछि नेपालमा पोलियो देखिएको छैन भन्दै डा खतिवडाले हालसम्म पनि पाकिस्तान र अफगानिस्तानमा पोलियोका बिरामी देखापरिरहेकाले सोको असर यहाँ पनि देखा नपरोस्, र पोलियो उन्मूलन होस् भन्ने उद्देश्यले अतिरिक्त अभियान सञ्चालन गर्नुपरेको जानकारी गराउनुभयो ।
पोलियो भएकामध्ये तीन प्रतिशत बालबालिकालाई पक्षघात हुने डा खतिवडाले जानकारी दिनुभयो । सोको उपचार नभएकामा सङ्क्रमण हुनसक्ने भन्दै सङ्मणबाट जोगाउन बालबालिकालाई खोप दिने गरिएको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री