
म्याग्दी । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरमा जेठ १० गते (बिहीबार) परेको चण्डी पूर्णिमामा भाकल र पूजाआजाका लागि आउने भक्तजनको सुविधाका लागि करिब १८ लाखको लागतमा मालिकाको धुरीमा खानेपानीको व्यवस्था गरिएको छ ।
समुद्र सतहबाट तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिकाको धुरीमा दुई किलोमिटर टाढाको मुहानबाट पाइपमार्फत पानी ल्याएर भक्तजनलाई खानेपानीको व्यवस्था गरिएको हो ।
कुइनेमङ्गले निवासी भरत छन्त्याल र खिममाया छन्त्यालको व्यक्तिगत ७ लाख ६५ हजार र रघुगङ्गा गाउँपालिकाको १० लाख गरी १७ लाख ६५ हजार र ३५ हजार रुपैयाँ बराबरको स्थानीयको श्रमदानबाट मालिका देउरालीमा खानेपानी पुर्याइएको शीतल मालिका युवा क्लबका निवर्तमान अध्यक्ष एवं रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका अगुवा युवा प्रविन छन्त्यालले जानकारी दिनुभएको छ ।
पूर्वअध्यक्ष छन्त्यालका अनुसार मालिका देउरालीबाट दुई किलोमिटर पर रहेको लिसेखर्क भन्ने ठाउँबाट पाइपमार्फत मालिका देउरालीमा पानी पुर्याइएको हो । यसअघि मालिका मन्दिरमा खानेपानी नहुँदा त्यहाँ पुग्ने भक्तजनले सास्ती व्यहोर्दै आउनुपरेको थियो । एक घण्टाको दूरीमा रहेका मूलहरूबाट पानी बोकेर भक्तजन मालिका मन्दिरमा पुग्नुपर्ने अवस्था रहेकामा देउरालीमा पानी पुगेपछि भक्तजनलाई सुविधा पुगेको छन्त्यालले बताउनुभयो ।
पानीको मुहान रहेको लिसेखर्कबाट धारा राखिएको मालिका देउराली उकालो दुई किलोमिटर उकालोमा पर्दछ । उकालो भएकाले पानी चड्न गाह्रो हुने भएको र लगातार धारोमा पानी नझर्ने भएकाले एक हजार लिटरको ट्याङ्कीमा पानी भर्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
मालिका मन्दिर परिसरको धरम पानीसम्म पानी पुर्याउने योजना रहेको भए पनि ठाडै उकालो भएकाले पानी नचढेपछि देउरालीमा धारा राखिएको उहाँले बताउनुभयो । ठाडाखानी, हिदी र टोड्केको बाटो हुँदै मालिका मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीहरूलाई देउरालीमा पानी हुँदा निकै सहज हुने रघुगङ्गा गाउँपालिका–६ का वडाध्यक्ष मनकुमार शेरपुंजाले बताउनुभयो । यो समय पानीको स्रोत पर्याप्त नहुँदा पानी अनावश्यक खेर नफालिदिनुहुन मालिका खानेपानी समितिले त्यहाँ पुग्ने भक्तजनलाई अनुरोध गरेको छ ।
मालिका म्याग्दीको ऐतिहासिक धार्मिकस्थल एवं प्रमुख पर्यटकीयस्थल हो । समुद्र सतहबाट तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित यो मन्दिर विकट भूगोलमा अवस्थित छ । जिल्लाको मालिका गाउँपालिकाका वडा नम्बर ६, ७ र रघुगङ्गा गाउँपालिका–६ को सिमानामा रहेको मालिकामा विशेषगरी चण्डी पूर्णिमा, जेष्ठी पूर्णिमा, भाइटीका र बालाचतुर्दशीमा पूजाआजासहित भव्य मेला लाग्ने गर्दछ । मालिकाको पूजाआजा, दर्शन र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै