
काभ्रेपलाञ्चोक । पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा हरेक वर्ष चण्डीपूर्णीमाको अवसरमा ठूलो मेला लाग्छ । जिल्लाको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरको रुपमा समेत परिचित छ ।
विसं ४२५ मा राजा मानदेव प्रथमको शासनकालमा स्थापित भगवती मन्दिरमा परम्परादेखि संस्कृतिको संरक्षणार्थ मनाइँदै आएको जात्रामा दर्शनार्थी भक्तजनलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले यसवर्ष जात्राको परम्परालाई निरन्तरता दिँदै सांस्कृतिक कार्यक्रम समेतको आयोजना गरिएको छ । आउँदो शुक्रबारदेखि शुरु हुने कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ । त्यही अवसरमा कालिका, एकता, एकीकृत पहरी, पलाञ्चोक गैरीगाउँ क्लब र धन्देखोला नेवा समाजले संयुक्त रुपमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेका हुन् ।
जात्राको पहिलो दिन (चण्डी पूर्णिमा)को अघिल्लो दिन अर्थात् बिहीबार साँझमा बत्ती बाल्ने, दोस्रो दिन (मुख्य दिन) पूर्णिमा जात्रा र तेस्रो दिन रथयात्रा गरिने परम्परा रहेको मन्दिरका पूजारी शैलेश्वर बज्राचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार चण्डी पूर्णिमा र बडादशैँमा एकादशीको दिन रथ बनाइ मन्दिर घुमाउने परम्परा छ ।
पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार छ सय ५६ वर्ष पहिले अर्थात् इस्वी संवत् ४२५ सालमा निर्माण भएको शिलालेखबाट प्रमाणित भएको थियो । पलाञ्चोक भगवतीलाई ‘भगवतीको जेठी दिदी’का रुपमा समेत चिनिन्छ । जिल्लाको (हाल नमोबुद्ध नगरस्थित) बुच्चाकोट भन्ने स्थानमा रहेको पलाञ्चोक भगवतीको मूर्ति एक रात स्थानीय बृद्धको सपनामा प्रकट भई आफू रहेको स्थानबाट उत्तरतर्फ सार्न आग्रह गरेको किंवदन्ती छ ।
किंवदन्तीअनुसार भगवतीको मूर्तिलाई उत्तरतर्फ लैजाने क्रममा हालको मन्दिर रहेको स्थानमा पुग्दा रात परेपछि त्यहीँ बास बसेको र भोलिपल्ट बिहान त्यहाँबाट मूर्तिलाई अन्यत्र बोकेर लैजान कोसिस गर्दा मूर्ति बोक्न नसकेपछि सोही स्थानमा भगवतीको मूर्ति राखी पूजाआजा सुरु गरिएको थियो ।
तत्कालीन अवस्थामा ६० घरधुरीले भगवतीको मूर्ति बोक्न सहयोग गरेकाले उक्त स्थानको नाम सोही बेलादेखि ‘६० घर भगवती’ भएको बताइन्छ । इस्वी संवत् ४२५ को समयमा कालीगढले दाहिने हातले निर्माण गरेको पलाञ्चोक भगवती, नाला भगवती, देब्रे हातले बनाएको नक्साल भगवती र गोडाले शोभा भगवतीको मूर्ति कुँदिएको किंवदन्ती छ ।
भगवतीका मूर्तिमध्ये सबैभन्दा पुरानो र दाहिने हातबाट निर्माण गरिएको भगवतीको मन्दिर भएकाले पनि अन्य भगवतीमध्ये पलाञ्चोक भगवती बढी चर्चित र गन्तव्यस्थानको रुपमा रहेको पाइन्छ ।
तत्कालीन समयमा भगवतीको मन्दिर निर्माण भएपछि मन्दिरको मौलिक पूजारीको बन्ने भन्ने विषयमा काठमाडौँको मखनटोलका बज्राचार्यबाट दैनिक नित्यपूजा र गुठीपूजा गर्नेगरी अनुमति पाएपछि हालसम्म पनि सोही टोलका बज्राचार्य परिवारले नै पूजा गर्दै आएका हुन् । मन्दिरका पुजारी शैलेश्वरका अनुसार करिब ९ पुस्ता बज्राचार्यले पूजारीका रुपमा दैनिक नित्यपूजा र गुठीपूजा गर्दै आएका छन् ।
पलाञ्चोक भगवतीस्थानमा विसं १९९० को भूकम्पले मन्दिर वरपरका घर सबै भत्किए पनि मन्दिरमा ठूलो खासै क्षति नभए पनि भगवतीको शिर पश्चिमतिर ढल्किएको थियो । उक्त मन्दिरमा भगवतीको दर्शन गर्नाले मनले चिताएको पूरा हुने जनविश्वासमा छ ।
बज्राचार्यका अनुसार देशमा कुनै विपत्ति तथा सङ्कट आउन लाग्यो भने भगवतीको मूर्तिमा विभिन्न सङ्केत देखिनुको साथै मूर्तिमा पसिना आउने गर्दछ । भगवतीको दर्शनका लागि दैनिकजसो दर्शनार्थीको भीड लागिरहने भए पनि विशेष रुपमा बडादसैँमा नवरात्रिको समय मन्दिरमा हाँस, बोका, राँगाआदिको बलि दिने प्रचलन छ । दसैँबाहेक वैशाखपूर्णिमा, माघे सङ्क्रान्ती, जेठको पूर्णिमालगायतका चाडपर्वमा मन्दिरमा ठूला मेला लाग्दछ ।
ऐतिहासिक दस्तावेजअनुसार पृथ्वीनारायण शाहको एकीकरणको समयपछि मन्दिर, पूजारी, गुठीयार र बाजागाजा बजाउने समुदायको व्यवस्थापन गरिएको थियो । एकीकरणपछिको समयदेखि पूजारीले दैनिक नित्यपूजा गर्ने, पहरीले रथ बोक्नुका साथै दैनिक नित्यपूजाका लागि फूल ल्याउने, कसाइले काटमार गर्ने, कुस्लेले पूजाको समयमा बाजा बजाउनेजस्ता कामको बाँडफाँट गरिएको बताइन्छ ।
पलाञ्चोक भगवतीका नाममा तत्कालीन बालुवा गाविस, दोलालघाट, पाँचखाल, होक्से लगायतका गाविसमा करिब एक हजार आठ सय रोपनी जग्गा स्थानीय मोहीहरुले कमाउँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री