
काठमाडौँ । नेपालको रक्षा गर्ने ऋषि नेमुनिको मूर्ति स्थापना गरिने भएको छ ।
द्वापरयुगको अन्त्य र कलियुगको शुरुवाती चरणमा सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर १ स्थित आँपघारी र नेपालथोकको बीचमा रहेको गुफामा नेमुनिले तपस्या गर्नुभएको विश्वास गरिन्छ ।
नेमुनिकै नामबाट नेपालको नामकरण भएको मान्यता छ । योगिनीले नेमुनिलाई तिमीद्वारा पालित भूमि नेपाल हुनेछ भनी आशीर्वाद दिएको विषय स्कन्द पुराणलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको रुरु एवं लक्ष्मी ह्यग्रीव पीठाधीश स्वामी जगदीश प्रपन्नाचार्यले राससलाई जानकारी दिनुभयो । गुह्येश्वरी अथवा बज्रयोगिनीमध्ये एक देवीले नेमुनिलाई नेपालको रक्षा गर्न आशीर्वाद दिनुभएको उहाँ बताउनुहुन्छ । नेमुनि अहिले पनि नेपालस्थित योगिनीहरुको सान्निध्यमा तपस्या गरिरहनुभएको विश्वास गरिन्छ ।
नेपालको नामकरण गर्ने नेमुनिले पशुपति क्षेत्रको पूर्वी भागस्थित गुह्येश्वरी मन्दिर नजिकै बसेर पनि तपस्या गर्नुभएको स्कन्द पुराणलगायत ग्रन्थमै उल्लेख गरिएको उहाँले सुनाउनुभयो । नेपालसँग नाम जोडिएका र अहिले पनि नेपालको रक्षा गरिरहनुभएका नेमुनिको मूर्ति कतै नभएकाले स्थापना गर्न लागिएको हो । पशुपति क्षेत्रमा ठाउँ पाए ठूलो मूर्ति स्थापना गर्ने लक्ष्य रहेको स्वामी जगदीश प्रपन्नाचार्य बताउनुहुन्छ । यसका लागि पशुपति क्षेत्र विकास कोषलगायतसँग पनि समन्वय भइरहेको जनाइएको छ ।
सिन्धुलीको गुफामा नेमुनिको मूर्ति स्थापना गर्ने अभियानमा शिक्षाविद् विद्यानाथ कोइरालालगायत स्थानीयवासी पनि जुट्नुभएको स्थानीय राजु कोइरालाले जानकारी दिनुभयो । नेमुनिले गुफामा तपस्या गरिरहेका बेला विभिन्न रोगले ग्रस्त विरुपाक्ष खोज्दै त्यहाँ पुग्नुभएको थियो । नेमुनिले नै विरुपाक्षलाई ६४ ज्योतिर्लिङ्गका विषयमा जानकारी दिई सबैको दर्शन गराउनुभएको थियो । नेमुनिले विरुपाक्षलाई ६४ ज्योतिर्लिङ्गको दर्शन गराएपछि रोगमुक्त भएको प्रसङ्ग पनि पुराणमा वर्णन गरिएको छ । ६४ ज्योतिर्लिङ्गमध्ये सिन्धुलीकै दुम्जास्थित कुशेश्वरलाई आदि अर्थात् पहिलो र वाग्मती नदीको किनारमा रहेको कटुवालदह नजिकैको जलेश्वरलाई अन्तिम ज्योतिर्लिङ्गका रुपमा पूजा आराधना गरिन्छ ।
नेमुनिले विरुपाक्षलाई जलेश्वर ज्योतिर्लिङ्गको दर्शन गराएपछि पशुपति पठाई आफू बज्रयोगिनीतिर लाग्नुभएको प्रसङ्ग पुराण लगायत ग्रन्थमा भेटिएको स्वामी प्रपन्नाचार्यले बताउनुभयो । पशुपतिनाथ मन्दिर नजिकै अहिले पनि विरुपाक्षको मूर्ति रहेको छ । अहिले चर्चामा रहेको ६४ ज्योतिर्लिङ्गको महत्व कलि युगका भक्तजनका लागि नेमुनिले नै प्रकाश पार्नुभएको हो । गोपालवंशी राजाले नेमुनिलाई गुरुका रुपमा मानेका थिए । नेमुनिकै मार्गदर्शनमा गोपालवंशी राजाले शासन गरेका थिए । योगिनीले नेमुनिलाई नेपालसँगै पशुपतिनाथको रक्षाका लागि पनि पठाउनुभएको हो । अहिले पनि अदृश्यरुपमा नेमुनिले पशुपतिनाथ र नेपालको रक्षा गरिरहनुभएको पुराण र धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको भाषाबाट प्रष्ट हुने स्वामी जगदीश प्रपन्नाचार्य बताउनुहुन्छ ।
स्वामी जगदीश प्रपन्नाचार्यकै सङ्कल्पमा साढे दुईदेखि तीन फिट अग्लो नेमुनिको मूर्ति निर्माण गरिँदैछ । हाल ललितपुरको पाटनमा मूर्ति निर्माणको काम भइरहेको उहाँले सुनाउनुभयो । पाटनमा निर्माण भइरहेको मूर्ति तीन महिनामा सकिने छ । तीन महिनापछि मूर्ति सिन्धुलीको गुफामा प्राण प्रतिष्ठा गरिने छ । ‘सत् संस्कार जागरण’ नामक संस्थाले मूर्ति निर्माण गरी सिन्धुलीको गुफामा प्राण प्रतिष्ठा गर्न लागेको हो ।
पुराना संस्करणको स्कन्द पुराणमा ‘पशुपतिनागथको दर्शन तब पूर्ण हुन्छ, जब नेमुनिको दर्शन हुन्छ’ भन्ने वाक्यांश उल्लेख गरिएको छ । यसैले भक्तजनले पशुपतिनाथमा गएर गरेको दर्शनलाई पूर्णता दिन नेमुनिको दर्शन गराउने उद्देश्यले पनि नेमुनिको मूर्ति स्थापना गर्न लागिएको हो । स्थान पाएसम्म नेमुनिको मूर्ति पशुपति क्षेत्रमा पनि स्थापना गरिने सत् संस्कार जागरणले जनाएको छ । नेपालभरका सबै मानिसले सम्झनै पर्ने व्यक्तित्व नेमुनि हुनुभएकाले मूर्ति स्थापनाको अभियान शुरु गरिएको हो ।
स्वामी जगदीश प्रपन्नाचार्यकै अग्रसरतामा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ स्थित कोलमतेश्वरमा नेपालमै पहिलो लक्ष्मी ह्यग्रीव मन्दिर स्थापना गरिएको छ । विभिन्न पुराणलगायत धर्मग्रन्थमा प्राचीनकालमा यस ठाउँमा लक्ष्मी ह्यग्रीवको प्रसङ्ग भेटिएको भन्दै उहाँकै सङ्कल्पमा मन्दिर स्थापना गरिएको थियो । लक्ष्मी ह्यग्रीव मन्दिर स्थापना भएपछि हाल यो स्थल धार्मिक पर्यटकीयस्थलका रुपमा विकास भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री