
काठमाडौँ । नयाँ वर्ष विसं २०८१ को शुरु भएदेखि नै दर्शकले नेपाली चलचित्रलाई साथ दिन थालेका छन् । गत वर्ष नेपालमा विदेशी चलचित्रको प्रभाव रहेको र स्वदेशी चलचित्रलाई प्रदर्शकले नै बेवास्ता गरेको आरोप थियो । त्यही आरोप लगाएर केही निर्माताले चलचित्रको प्रदर्शन समेत स्थगित गरेका थिए । यद्यपि गत वर्षको चैत ९ गतेदेखि सार्वजनिक प्रदर्शन शुरु गरिएको चलचित्र ‘महाजात्रा’ पछि प्रदर्शन गरिएको ‘डिग्री माइला’, ‘बोक्सीको घर’ लाई दर्शकले साथ दिएका छन् ।
‘महाजात्रा’ को यात्रा ५१ औँ दिन उन्मुख छ । लेखक तथा निर्देशक प्रदीप भट्टराईका यसअगाडिका चलचित्रले पनि ५१ औँ दिन पूरा गरेकाले यसपटक पनि त्यो आशा गर्न सकिन्छ । ‘अहिले दर्शकले नेपाली चलचित्रलाई साथ दिइरहनुभएको छ । यसले हामीलाई उत्साहित बनाएको छ । समग्रमा यो चलचित्रका लागि सुखद शुरुवात हो’ निर्देशक भट्टराईले भन्नुभयो।
चलचित्रमा हरिवंश आचार्य, विपीन कार्की, वर्षा राउत, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, दिव्य देवलगायतले अभिनय गर्नुभएको छ । डिग्री पास बेरोजगारको कथालाई प्रस्तुत गरिएको रामबाबु गुरुङले निर्देशन गर्नुभएको चलचित्र ‘डिग्री माइला’ तेस्रो सातामा प्रदर्शन भइरहेको छ । यो चलचित्रले ६ करोड रुपैयाँभन्दा बढीको ‘ग्रस कलेक्सन’ गरिसकेको निर्माता मणिराम पोखरेलले जानकारी दिनुभयो । युवाको सपना र क्षमतालाई प्रस्तुत गरिएको नाटक ‘डिग्री माइला’कै पात्रबाट प्रभावित भई तयार गरिएको चलचित्रमा दयाहाङ राई शीर्ष भूमिकामा हुनुहुन्छ ।
‘यो पात्रले हाम्रो समाजको धेरै पक्षलाई देखाएको छ । शिक्षा, समाज, ग्रामीण अवस्था र बेरोजगार युवाको अवस्थालाई माइला पात्रमार्फत व्यक्त गरिएको छ’ अभिनेता राईले भन्नुभयो – ‘यो पात्रलाई नाटकबाट चलचित्रमा ल्याउने सपना बल्ल पूरा भएको छ । अब यो कथा धेरैसम्म पुर्याउनु छ ।’ गत वर्ष चैत ३० गतेदेखि प्रदर्शन गरिएको चलचित्रमा अभिनेता राईसँगै आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ, प्रकाश घिमिरे लगायत कलाकारले अभिनय गर्नुभएको छ ।
यस्तै, गत वैशाख १४ गतेदेखि प्रदर्शन गरिएको चलचित्र ‘बोक्सीको घर’ लाई पनि दर्शकले उस्तै साथ दिएका छन् । शुक्रबार आधुनिक चलचित्र भवन (मल्टिप्लेक्स) मा प्राप्त अधिकांश ‘शो’हरू भरिभराउ थिए । शनिबार पनि त्यही क्रमले निरन्तरता पायो । विभिन्न चलचित्र भवनमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहनुभएकी अभिनेत्री केकी अधिकारी दर्शको उत्साहजनक उपस्थिति देखेर दङ्ग हुनुहुन्छ ।
‘शुरुवाती समयमै हामीलाई विश्वास गरेर दर्शक हलसम्म आइ्हन्भएको छ । यसले हामीले पनि जिम्मेवारी बढेको महसुस गरेका छौँ । दर्शकले मनोरञ्जनसँगै सन्देश पनि पाउनु भएको छ’ अभिनेत्री अधिकारीले भन्नुभयो । सुलक्षण भारतीको लेखन तथा निर्देशन गर्नुभएको चलचित्रमा थपलिया, सुपला सापकोटा, स्वेच्छा राउत, सुष्मा निरौला, सबिन बाँस्तोला लगायत कलाकारले अभिनय गर्नुभएको छ ।
केही समययता नेपाली चलचित्रमा दर्शकको उपस्थिति उत्साहजनक हुनु सुखद पक्ष रहेको वितरक करण श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो– ‘विदेशी चलचित्रको उपस्थिति कमहुनु र नेपाली चलचित्रमा शुरुवाती व्यापार नै उत्साहजनकहुनुले यो वर्ष राम्रो हुने सङ्केत गरेको छ । दर्शकलाई चलचित्र मन पर्दासम्म अब समय मिल्दा नेपाली चलचित्रमै आउनुहुन्छ भन्ने हाम्रो अनुमान छ ।’ नेपाली चलचित्रमा केही समयसम्म यसरी नै दर्शक देखिए यो वर्ष विदेशी चलचित्रलाई विस्थापित गर्दै नयाँ रेकर्ड बन्नसक्ने उहाँको विश्लेषण छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै