
काठमाडौँ । प्यालेस्टिनी समर्थक प्रदर्शनकारीले अमेरिकी प्रमुख शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुल बन्द गरेका छन् ।
प्यालेस्टिनी समर्थक प्रदर्शनकारीले सोमबार अमेरिकी शहर इलिनोइस, क्यालिफोर्निया, न्यूयोर्क र प्यासिफिक नर्थवेस्टमा सडक अवरुद्ध गर्नुका साथै अस्थायी रूपमा देशको सबैभन्दा धेरै प्रयोग हुने विमानस्थल, गोल्डेन गेट, ब्रुकलिन पुल र व्यस्त ठाउँमा यात्रा बन्द गरेका हुन् ।
आयोजकमध्येका एक रिफ्का फालानेले शिकागोमा प्रदर्शनकारीले काँध मिलाएर एक सय ९० लेन अवरुद्ध पारेकोे बताउनुभयो । उहाँले प्यालेस्टिनीलाई स्वतन्त्र गर्नका लागि यो विश्वव्यापी आर्थिक नाकाबन्दीको हिस्सा रहेको बताउनुभयो ।
प्रदर्शनकारीले गोल्डेन गेट ब्रिजमा सबै सवारी साधन, पैदल यात्री र बाइक ट्राफिक बन्द गरेको र ओकल्यान्डको अन्तरराज्यीय ८ सय ८० मा सिमेन्टले भरिएका ५५ ग्यालेन ड्रममा बाँधेर राखेकाले सानफ्रान्सिस्को खाडी क्षेत्रमा ट्राफिक घन्टौँसम्म रोकिएको थियो ।
ब्रुकलिनमा प्रदर्शन गर्ने आन्दोलनकारीले ब्रुकलिन ब्रिजमा म्यानहट्टन जाने यातायात अवरुद्ध गरेका थिए । प्रदर्शनकारीले युजिन, ओरेगनका साथै पाँच अन्तरराज्यीय अवरुद्ध गरेर करिब ४५ मिनेटका लागि प्रमुख राजमार्गमा यातायात बन्द गरेका थिए । प्रदर्शनकारीले सबैभन्दा ठूलो ओहेर विमानस्थललाई छनोट गरेका थिए ।
इजराइल र हमासबीचको युद्धमा तत्काल युद्धविरामका लागि प्रदर्शनकारीहरूले आह्वान गरेका थिए । हमासले अक्टोबर ७ मा दक्षिणी इजराइलमा गरेको हमलामा करिब एक हजार दुई सय व्यक्तिको मृत्यु भएदेखि शिकागोमा दैनिक रूपमा युद्धविरोधी प्रदर्शन भइरहेका छन् ।
गाजा स्वास्थ्य मन्त्रालयले इजराइली आक्रमणमा ३३ हजार ७ सयभन्दा बढी प्यालेस्टिनी मारिएको जनाएको छ । मन्त्रालयले आफ्नो गणनामा नागरिक र लडाकूबीचको भिन्नता नराखेको र मृतकमध्ये दुई तिहाइ महिला र बालबालिका रहेको बताएको छ ।
ओहेर विमानस्थलले सामाजिक सञ्जाल एक्समा यात्रीहरूलाई कार यात्राका साथै यातायातको वैकल्पिक मार्ग प्रयोग गर्न भनेको छ । ट्राफिक जाममा फसेका केही यात्रु आफ्नो कार छाडेर सामान बोक्दै विमानस्थलतर्फ हिँडेका थिए ।
शिकागो उड्डयन विभागले १५ मिनेटभन्दा कमको ढिलाइका साथ विमानस्थल सञ्चालनमा आएको जनाएको छ । ओहेरतर्फको ट्राफिक बिहान करिब ९ बजे सञ्चालनमा आएको थियो ।
सिएटल नजिकै वासिङ्टन राज्य यातायात विभागले प्रदर्शनले सिएटल–टाकोमा अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य सडक बन्द गरेको बताएको छ । सामाजिक सञ्जाल पोष्टले राजमार्गमा उभिएर ब्यानर बोकेका र प्यालेस्टिनी झण्डा फहराएको देखाएका छन् । सडक करिब तीन घण्टापछि खुला भएका थिए ।
क्यालिफोर्निया राजमार्ग गस्तीका अनुसार गोल्डेन गेट ब्रिज प्रदर्शनमा लगभग २० प्रदर्शनकारी पक्राउ परेका छन् । अधिकारीहरूले अन्तरराज्यीयमा दुईवटा विन्दुमा उनीहरूलाई पक्राउ गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु