+

परिक्रमायात्रीलाई मुस्लिम धर्मावलम्बीको स्वागत

महोत्तरी। आफ्नो बस्ती आइपुगेका मिथिला मध्यमा परिक्रमाका यात्रीलाई आज बलवा–१० धमौरामा फरक धर्म परम्पराका मुस्लिमले स्वागत गरेका छन् । आज सातौँ दिनको यात्रामा धमौराको ध्रुवकुण्ड पुगेका यात्रीलाई मुस्लिम समुदायले स्वागत गरेका हुन् । 

बलवा–१० मा परिक्रमाको सातौँ दिनको विश्रामस्थल ध्रुवकुण्ड वरपरका धमौरा, अधियानपुर, रौजा र भगवतीपुरसहितका बस्ती अहिले मुस्लिम बसोबास बाहुल्य छन् । शुक्रबारको रात मडैमा बिताएका यात्री आज सातौँ दिन ध्रुवकुण्ड पुग्दैछन् । अहिले ध्रुवकुण्डबाट मडैसम्मकै करिब सात किलोमिटर दूरीमा यात्रीको अटुट पङ्क्ति देखिँदो छ । ध्रुवकुण्डमा मुस्लिम समुदायले फूलमाला र गम्छा ओढाएर यात्रीको स्वागत गरेका छन् ।

जिल्लामा इस्लाम (मुस्लिम, मुसलमान) धर्मावलम्बीको बसोबास बाहुल्य रहेको धमौरामा हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र ध्रुवकुण्ड छ । सत्ययुगमा राजकुमार ध्रुवले तपस्या गरेका ठाउँ मानिने ध्रुवकुण्डलाई हिन्दूले पवित्र धार्मिकस्थल मान्ने गरेका छन् । आफ्नो ठाउँ १५ दिने माध्यमिकी परिक्रमाको सातौँ दिनको विश्रामस्थल रहँदै आउनु र यहाँ यात्रीको स्वागत गर्न पाउनु सबै धमौरावासीको गौरवको कुरा भएको मुस्लिम बताउँछन् ।

“हिन्दू परम्पराको पवित्र तीर्थस्थल ध्रुवकुण्ड यहाँ छ, अलि पर रौजामा इस्लाम धर्म परम्पराका सुफी सन्त गदालीबाबा, बहारअलीबाबा र रहमतअली बाबाको पवित्र मजार (समाधीस्थल) छ”, धमौरा बजारका ७५ वर्षीय हासिम कवारी भन्नुहुन्छ, “मजारस्थलमा श्रद्धा जनाउँदै हिन्दू मन्नत (आशिष) माग्न आउँछन्, हामी (इस्लाम धर्मावलम्बी) ध्रुवकुण्डबारे चासो राख्छौँ ।” 

मजार र ध्रुवकुण्ड आफ्नो ठाउँको खास ठाउँ भएका तथा यिनको परिचयले धार्मिक पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने कवारी बताउनुहुन्छ ।  यी दुवै धार्मिकस्थलबारे  हिन्दू र मुसलमान भन्ने नछुट्याइ सबैको समान चासो हुनुपर्ने धमौरावासी बताउँछन् ।

आज यात्रीको सातौँ दिनको रात्रि विश्रामको प्रबन्धमा मुस्लिम आफ्ना छिमेकी हिन्दूसँगै लागेका छन् । “यात्री हाम्रो ठाउँमा राम्रो बस्न सकुन्, यो ठाउँ सबैको मनमा रहन सकोस्”, धमौराकै इव्राहिम राइन भन्नुहुन्छ, “यात्रीको बसोबास र अन्य प्रबन्ध ठिक हुनसके हाम्रो ठाउँबारे राम्रो सन्देश जान्छ ।”

मिथिला माध्यमिकी परिक्रमा धर्मको बन्धनले नबाधिँएको धमौराका मुस्लिमको बुझाइ छ । “मिथिलाको महाकुम्भ भनिने यो यात्रा सिङ्गो मिथिला क्षेत्रको साझा संस्कृति बनिसकेको छ”, मुस्लिम युवा शेष इसरापूmल भन्नुहुन्छ । धमौरामा मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिनको विश्रामस्थल रहेको ध्रुवकुण्ड र रौजास्थित इस्लाम धर्मावलम्बीका पवित्र धार्मिकस्थल रौजामजार एक किलोमिटर दूरीभित्रका पवित्र तीर्थस्थल हुन् । 

इस्लाम धर्मावलम्बी गदालीबाबासहित तीन  सन्तको रौजामजारमा बर्सेनि हजारौँ सङ्ख्याका  हिन्दू दर्शन र मन्नत (इच्छित  मनोकामना) माग्न तथा भाकल दिन पुग्ने गरेका छन् । धमौराको विकासमा यी  दुवै पक्षलाई उजागर गरेर आफ्नो ठाउँको विकास र परिचय  बढाउन सकिने कुरामा यहाँ (धमौरा) का हिन्दू, इस्लाम दुवै सहमत देखिन्छन् । 

माध्यमिकी परिक्रमाका यात्री ध्रुवकुण्ड आएपछि उनीहरूको आवास, भोजन, उपचार र अन्य आवश्यक प्रबन्धमा हिन्दू तथा इस्लाम धर्मावलम्बी नबाँडिएझै रौजामजारको व्यवस्थापन, आवश्यक प्रबन्ध र प्रचारप्रसारमा पनि हिन्दू तथा  इस्लाम धर्मावलम्बीले सँगसँगै हातेमालो गर्ने गरेका यहाँका बूढापाका बताउँछन् । ध्रुवकुण्ड र रौजामजार धमौराका साझा वैभव रहेका शिक्षण पेसाबाट अवकाश लिनुभएका स्थानीय सुशील यादव बताउनुहुन्छ ।

मिथिलामा १५ दिने यो परिक्रमाका यात्रीले पाँच रात महोत्तरीमा बिताउने परम्परा रहँदै आएको छ । चौथो दिनको विश्रामका लागि मटिहानीबाट सुुरु भएको महोत्तरीको यात्रामा पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनमा बास बस्ने स्थापित चलन छ । आज ध्रुवकुण्डमा रात्रिबासपछि आइतबार यात्री कञ्चनवनका लागि प्रस्थान गर्नेछन् ।

मिथिलाको महाकुम्भ भनिने १५ दिने यो परिक्रमामा सहभागी हुँदा मन पवित्र हुने यात्री बताउँछन् । पारिवारिक कल्याण र मोक्षको कामनाका साथ गरिने यो यात्रामा नेपाल र भारतका गरी एक सय ३३ किलोमिटरको वृत्तभित्र परिक्रमा गरिन्छ । यस अवधिमा महोत्तरीमा पाँच, धनुषामा छ र छिमेकी मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा चार रात्रिबासको परम्परा रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै