
सिरहा। कृषि ज्ञान केन्द्र सिरहामा करार सेवामा कार्यरत कर्मचारी अजयकुमार कर्णले किसानलाई अनुदानमा ट्र्याक्टर मिलाइदिने आश्वासन दिँदै लाखौँ रकम असुल गरी फरार भएका छन् । अहिले पीडित किसान आफूहरूले अनुदानको ट्र्याक्टर पनि नपाएको र रकम फिर्ता नपाएको जनाउँदै चिन्तित भएका छन् ।
पीडितले आफूहरूको रकम फिर्ता हुनुपर्ने माग राखेपछि कर्णले ट्र्याक्टर नपाउने सबैको रकम फिर्ता गरिदिने जनाउँदै विभिन्न मितिका नबिल र ग्लोबल आइएमई बैंकको चेक सहीछाप गरी पीडितलाई दिएका थिए । पीडितले पटक–पटक बैंक जाँदा पनि उक्त खातामा रकम नभएको जानकारीपछि चेक अनादारमा बैंकिङ कसुरसम्बन्धी जिल्ला प्रहरी प्रशासन कार्यालयमा बैंकको अनादार चेक रिपोर्टसहित निवेदन दिएका बताइएको छ । प्रहरी कार्यालय सिरहाका अनुसार कर्ण फरार रहेको र खोजी जारी रहेको छ । सिरहा प्रहरी प्रवक्ता रवीन्द्रराज पाण्डेले फरार कर्णको ‘केवाइसी’ अध्ययन भइरहेको र प्राप्त भएका निवेदनको आधारमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइने छ बताउनुभयो ।
आफूहरूलाई प्रलोभनमा पारी रकम असुली गरिएको औरही गाउँपालिका–२ स्थित तुलसीपुरकी पुनिता महतोले बताउनुभयो । उहाँले भन्नुभयो, “ठगी गर्ने कर्ण चिनजानकै व्यक्ति हुन् । कृषि ज्ञान केन्द्रका कर्मचारी पनि भएकाले विश्वास गरी ट्र्याक्टर पाउने आशले अग्रिम अनुदानको आधा रकम बुझाइयो । तर अहिले न ट्र्याक्टर पाइयो, न रकम फिर्ता नै ।” उहाँका अनुसार कर्णले गत कात्तिक १९ र २० गते नबिल र ग्लोबल आइएमई बैंकको चेक दिएका थिए । तर उक्त खातामा पर्याप्त रकम नभएको बैंकले बताएको थियो ।
महतोजस्तै सुखीपुर नगरपालिका–५ का राजकिशोर यादव पनि ठगी गरी कर्ण फरार भएपछि आफू मानसिक तनाबमा परेको बताउनुभयो । यादवमार्फत सिरहाको औरही, अर्नामा, कल्यानपुर, मिर्चैया, वरियारपट्टी, लक्ष्मीपुर पतारीलगायतका स्थानबाट ११ स्थानीयले जम्मा रू ९६ लाख कर्र्णलाई ट्र्याक्टर पाउने आश्वासनमा बुझाएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक पीडित व्यक्तिबाट रु पाँचदेखि नौ लाखसम्म लिइएको थियो । केही बैंकमार्फत त केही नगदमा उक्त रकमको कारोबार गरिएको यादवले जानकारी दिनुभयो ।
पीडितहरूको यकिन तथ्या्क नभए पनि सयौँको सङ्ख्यामा हुनसक्ने स्थानीय मनोज यादव बताउनुहुन्छ । उहाँका अनुसार नागरिकको कम्तीमा पनि रु १० करोडबराबरको रकम हिनामिना गरी कर्ण फरार भएका छन् । फरार कर्णको सिरहा नगरपालिका–१० स्थायी घर हो । अहिले दैनिक दर्जनौँ पीडित व्यक्ति घर पुग्ने गरेको कर्णको बुवा कृष्णदेवलाल कर्णले जानकारी दिनुभयो । छोराको बदमासीका कारण यतिबेला आफू तनाबमा परेको जनाउँदै प्रहरीमा शान्ति सुरक्षाको निवेदन दिएको उहाँले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र सिरहाले भने फरार रहेका कर्ण कार्यालय सहयोगीमात्र भएको जानकारी दिएको छ । पीडितका अनुसार कर्णले नायबसुब्बाको परिचयपत्र झुण्ड्याएको बताए पनि ज्ञान केन्द्रका प्रमुख नरेन्द्रकुमार महासेठले भने कर्ण कार्यालय सहयोगीमात्र भएको र विगत दुई महिनादेखि तलब पनि नलिएको जानकारी दिनुभयो । कर्णले सर्वसाधारणको रकम हिनामिना गरेको सम्बन्धमा आफू जानकार नभएको प्रमुख महासेठले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग