
काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने तथा समयमा नापतौल यन्त्रको नवीकरण नगर्ने ४ हजार ७ सय ४१ व्यापारीलाई कारबाही गरेको छ ।
कार्यालयले चालू आर्थिक वर्षको ६ महिनामा नापतौलमार्फत उपभोक्तालाई ठगी गर्ने तथा समयमा यन्त्रको नवीकरण नगर्ने उल्लेखित व्यापारीलाई कारबाही तथा जरिवाना गरेको हो ।
कार्यालयका प्रमुख राकेशकुमार झाले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्रको प्रयोग गरेर आम उपभोक्ता ठगी गर्ने क्रम बढेकाले कार्यालयले विशेष निगरानी बढाएको बताउनुभयो । ‘अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको भेटिएको छ, त्यस्तालाई हामीले कारबाहीको दायरामा ल्याएका छौँ’ उहाँले भन्नुभयो ।
कार्यालयले पछिल्लो समय व्यापारीको सहजताका लागि ‘डोर टू डोर’ अभियानसमेत सञ्चालन गरिरहेको छ । ‘डोर टू डोर’ अभियानअन्तर्गत कार्यालयले नयाँ व्यापारीलाई अनुमति प्रदान गर्ने, अनियमित गर्नेलाई कारबाही गर्ने, जाँच नवीकरण गर्नेलगायत काम गर्दै आएको कार्यालय प्रमुख झाले बताउनुभयो ।
कार्यालयले साउनदेखि पुस मसान्तसम्म १ हजार ३ सय ८२ व्यापारीलाई नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोेग गर्न अनुमति प्रदान गरेको छ । यसैगरी, ४ हजार ३३ नापतौल तथा नाप्ने तौलने यन्त्रको जाँच, १ सय २ पेट्रोल पम्प जाँच र २ हजार ६ सय १८ ट्याक्सी मिटर जाँच गरेको जनाएको छ ।
सीमित स्रोत र साधनबीच बजार अनुगमनलाई तीब्रता दिएको कार्यालयले नापतौलसम्बन्धी उपभोक्ता हक, हित संरक्षणका लागि ८० पटक एकल अनुगमन र ५२ पटक संयुक्त रुपमा बजार अनुगमन गरेको छ ।
कार्यालय प्रमुख झाले जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले नापतौल कार्यालयले कारबाहीलाई प्राथमिकता दिएको बताउनुभयो । ‘नियतवश आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याउँछौँ’ उहाँले भन्नुभयो ।
कार्यालयले चालु आवको ६ महिनामा ९२ लाख ९८ हजार ५ सय ९२ राजस्व सङ्कलन गरेको छ । कार्यालयले हाल काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवा गरी ९ जिल्लामा नापतौलको अनुमति प्रदान, नवीकरण, अनुगमन र गल्ती गर्नेलाई कारबाही गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग