
कञ्चनपुर । कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुल सात वर्षदेखि अलपत्र बनेको छ । करिब ७० मिटर लामो पुल निर्माण थालिएको ७ वर्ष बितिसक्दा पनि अझै तयार हुनसकेको छैन ।
पुलका दुई स्पानमध्ये हालसम्म एउटा मात्रै निर्माण भएको छ । पैँतिसरपैँतिस मिटरका दुई स्पानसहितको पक्की पुल ओदाल खोलामा निर्माणका लागि विसं २०७३ भदौ १७ गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । पटक–पटक म्याद थप हुँदा पनि निर्माण कम्पनीको ढिलासुस्तीले काम अघि बढ्न नसकेको स्थानीय बताउँछन् । समयमा पुल निर्माण नहुँदा स्थानीयले सास्ती भोगिरहेका छन् ।
पक्की पुल नहुँदा वर्षात्मा उर्लेर आउने ओदाल खोला वारिपारि गर्न सास्ती हुने गरेको स्थानीय घनश्याम साउदले बताउनुभयो । ‘बर्खामा आउने खोलाले बिरामी तथा विद्यार्थीलाई ओहोरदोहार गर्न समस्या हुन्छ’ उहाँले भन्नुभयो– ‘पुल नहुँदा जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता छ ।’ ठेकेदार कम्पनीको लापरबाहीले अहिलेसम्म पुल निर्माण हुन नसकेको स्थानीय दिलबहादुर खत्रीले बताउनुभयो । ‘सुविधासम्पन्न बाटो र पुल नहुँदा कोही बिरामी परे पनि लैजान समस्या हुने गरेको छ । एम्बुलेन्स आउन मान्दैनन्’ उहाँले भन्नुभयो, ‘समयमै अस्पताल पुर्याउन नसक्दा कतिपयले बाटोमै ज्यान जाने डर रहन्छ ।’
खोलामा पुल नहुँदा स्थानीय अहिले पनि कठिनाइपूर्ण बाटो प्रयोग गर्न बाध्य छन् । यथाशिघ्र पुल निर्माण भए सुन्दरीफाँटा, दोमिल्ला लगायत क्षेत्रका स्थानीय लाभान्वित हुनेछन् । ‘पुल बन्ने भनेको यत्रो समय बितिसक्दा पनि बनेको छैन’ स्थानीय गणेश रावतले भन्नुभयो– ‘यहाँका नागरिक सास्तीपूर्ण यात्रा गर्न बाध्य छन् । अब त निर्माण हुन्छ भन्ने आशा पनि छैन ।’
२०७४ साल फागुन १५ गते सक्ने गरी २०७३ भदौ १७ मा थेगिम गाल्वा जेभीले ५ करोड ४७ लाख रुपैयाँमा पुल निर्माणको ठेक्का पाएको थियो । पछिल्लो पटक म्याद थप गरेर विसं २०७८ चैत्र ३० गते काम सक्नुपर्ने भनिएकामा निर्माण अलपत्र बनेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलले जानकारी दिनुभयो । ‘पटक–पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले काम अघि बढाएको छैन । उपकरण ल्याएर केही दिन काम गरेजस्तो देखाउने गरेको पाइएको छ’ उहाँले भन्नुभयो– ‘निर्माणमा लापरबाही र ढिलासुस्ती गर्ने कम्पनीलाई जरिवाना पनि तिराएका छौँ ।’
सिग्देलका अनुसार एक महिनाअघि निर्माण कम्पनी निर्माणस्थलमा परिचालन भए पनि सामग्रीको अभावले काममा ढिलाइ भएको बताउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग