
म्याग्दी । आज बिहानैदेखि परेको हिमपातका कारण मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा यातायात सेवा ठप्प भएको छ ।
बेनी–जोमसोम–कोरला सडकको समरदेखि माथिल्लो क्षेत्रका सडकमा हिउँ जमेपछि यातायात सेवा अवरुद्ध बनेको नेचुङस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी)का प्रमुख भीमबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
हिमपातपछि स्थानीय र पर्यटकको आवतजावत रोकिएको छ । चिसो बढेको छ । सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । घरभित्रै आगो तापेर बसेका छन् । खोला, धारामा पानी जमेको छ । डाँडापाखा सेताम्मे हिउँले छोपिएको छ । सडक, भवन, पुल, खानेपानी, सिँचाइलगायत विकास आयोजना निर्माण रोकिएको छ ।
बिहानदेखि उपल्लो मुुस्ताङमा अवरुद्ध बनेको विद्युुत् र सञ्चार सेवा अपराह्नदेखि सञ्चालन भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुुरुङले बताउनुभयो । चौँरी, च्याङ्गा, गाईलगायत घरपालुवा पशुुलाई गोठमै राखिएको छ ।
हिन्दुु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा पनि हिउँ जमेको छ । जोमसोम–कागबेनी–मुक्तिनाथ सडकमा यातायात सेवा सडकमा हिउँ जमेका कारण प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय मुुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताउनुभयो ।
हिमपात र वर्षाले हिउँदे तथा हिमाली फलफूल खेतीलाई फाइदा गरेको छ । हिउँले जमिनमा राखेको मल भिजाउन, सिँचाइका साथै स्याउ, ओखरको परागशेचन प्रक्रियाका लागि चिसो वातावरण बनाउन सहयोग गर्ने कृषि ज्ञान केन्द्र मुुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले बताउनुभयो ।
“स्याउको परागशेचनका लागि एक हजार पाँच सय घण्टा सात डिग्रीभन्दा कम तापक्रम आवश्यक पर्छ”, उहाँले भन्नुभयो, “हिउँले सुक्खा भएको जमिनलाई भिजाउने र खेतबारीमा राखेको मलको पौष्टिक तत्व बिरुवाले उपभोग गर्न सहज हुन्छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग