
काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार संयुक्त राज्य अमेरिकाले इरानसँग उसको आणविक कार्यक्रमलाई लिएर प्रत्यक्ष, उच्चस्तरीय वार्ता शुरु गर्न गइरहेको बताउनुभएको छ ।
उहाँले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको ह्वाइट हाउस बैठकमा यो आश्चर्यजनक घोषणा गर्नुभएको हो । सोमबार ओभल अफिसमा बोल्दै ट्रम्पले तेहरानसँग सम्झौतामा पुग्ने आशावादी रहेको तर वार्ता असफल भएमा इरान ‘ठूलो खतरामा’ पर्ने चेतावनी दिनुभयो ।
तेहरानले ओमानमा शनिबारका लागि छलफल तय भएको पुष्टि गरेको छ तर ती ‘अप्रत्यक्ष’ वार्ताहरू थिए भनी जोड दिएको छ । इरानी समाचार एजेन्सी तस्निमका अनुसार विदेशमन्त्री अब्बास अराघची र मध्यपूर्वका लागि शीर्ष अमेरिकी दूत स्टिभ विटकफले वार्तामा भाग लिनुहुनेछ । ‘यो जति एउटा परीक्षा हो त्यति नै एउटा अवसर पनि हो’ अराघचीले एक्समा लेख्नुभयो– ‘बल अमेरिकाको कोर्टमा छ ।’
यसैबीच नेतन्याहुले संयुक्त राज्य अमेरिका र इजरायलले युद्धग्रस्त गाजाबाट बन्धकहरू मुक्त गर्ने अर्को सम्झौतामा काम गरिरहेको बताउनुभएको छ । गाजामा इजरायल र इरानको सहयोगी हमाससँगको शान्ति सम्झौता भङ्ग भएको छ । ‘हामी इरानीहरूसँग व्यवहार गर्दैछौँ, हामीले शनिबार एउटा ठूलो बैठक गरेका छौँ र हामी उनीहरूसँग प्रत्यक्ष व्यवहार गर्दैछौँ’ अमेरिकी भन्सार महशुलबाट इजरायललाई बचाउने प्रयासमा केन्द्रित हुने भनिएको बैठकपछि ट्रम्पले पत्रकारहरूलाई भन्नुभयो ।
ट्रम्पले वार्ता कहाँ हुने बताउनुभएन तर यसमा प्रतिनिधिहरू समावेश नहुने र ‘लगभग उच्चतम स्तर’ मा हुने कुरामा जोड दिनुभयो । इरानले देशको आणविक कार्यक्रमलाई रोक्नका लागि नयाँ सम्झौतामा प्रत्यक्ष वार्तालाई अस्वीकार गरेपछि ट्रम्पको आश्चर्यजनक घोषणा आएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१८ मा आफ्नो पहिलो राष्ट्रपति कार्यकालमा अघिल्लो सम्झौताबाट हात झिक्नुभएको थियो र कुनै नयाँ सम्झौता हुन नसकेमा सम्भवतः अमेरिकी सहयोगमा इजरायलले इरानी सुविधामा आक्रमण गर्न सक्ने व्यापक अनुमान छ ।
तर ट्रम्पले तेहरानलाई कडा चेतावनी दिनुभएको छ । ‘यदि इरानसँगको वार्ता सफल भएन भने मलाई लाग्छ कि इरान ठूलो खतरामा पर्नेछ र म यो भन्न घृणा गर्छु, ठूलो खतरा, किनकि उनीहरूसँग आणविक हतियार हुन सक्दैन’ उहाँले भन्नुभयो ।
यसैबीच अधिकारीहरूले रुस, चीन र इरान मङ्गलबार मस्कोमा इरानी आणविक मुद्दामा परामर्श गर्न तयार रहेको बताएका छन् । नेतन्याहु व्यक्तिगत रूपमा विश्वलाई हल्लाउने अमेरिकी करबाट मुक्तिका लागि अनुरोध गर्ने पहिलो विदेशी नेता बनेपछि ट्रम्पको यस्तो खुलासा भएको हो ।
इजरायली प्रधानमन्त्रीले दुई देशबीचको व्यापार घाटा हटाउने र व्यापारका ‘अवरोध’ पनि कम गर्ने प्रतिज्ञा गर्नुभयो । उहाँको देशले बैठकअघि अमेरिकी आयातमा आफ्नो अन्तिम बाँकी भन्सार शुल्क हटाउन कदम चालेको थियो ।
गाजा वार्ता
नेतन्याहु र ट्रम्पले गाजाको बारेमा पनि छलफल गर्नुभयो । गाजामा अमेरिकी–मध्यस्थता गरिएको इजरायल र हमासबीचको अल्पकालीन युद्धविराम भङ्ग भएको छ ।
नेतन्याहुले सन् २०२३ अक्टोबरमा इजरायलमा भएको अभूतपूर्व आक्रमणका क्रममा हमासले लिएका थप बन्धकलाई मुक्त गर्ने उद्देश्यले नयाँ वार्ता भइरहेको बताउनुभयो । ‘हामी अहिले अर्को सम्झौतामा काम गरिरहेका छौँ जुन सफल होस् भन्ने आशा छ र हामी सबै बन्धकलाई बाहिर निकाल्न प्रतिबद्ध छौँ’ उहाँले भन्नुभयो ।
ट्रम्पले पनि गाजा पट्टीलाई ‘नियन्त्रण’ गर्ने आफ्नो योजनामा जोड दिनुभयो । यसलाई उहाँले ‘एक उत्कृष्ट भूखण्ड’ भनेर वर्णन गर्नुभयो । उहाँले यो योजना पहिलो पटक फेब्रुअरीमा नेतन्याहुले उहाँलाई भेट्दा घोषणा गर्नुभएको थियो ।
यसअघि ट्रम्पले वेस्ट विङ बाहिर नेतन्याहुलाई स्वागत गर्नुभयो र दुई नेताहरू ओभल अफिसमा बैठकका लागि भित्र जानुअघि आफ्नो मुठी हल्लाउनुभयो । उहाँहरूको योजनाबद्ध प्रेस सम्मेलन छोटो सूचनामा बिना कुनै व्याख्या रद्द गरियो जुन एक असामान्य कदम हो । तर उहाँहरूले ओभल अफिसमा पूल रिपोर्टरहरूको सानो समूहसँग लामो समयसम्म कुरा गर्नुभयो ।
गत साता राष्ट्रपतिले आफ्नो ‘मुक्ति दिवस’ को घोषणामा इजरायलमाथि १७ प्रतिशत कर लगाएको केही दिनपछि ट्रम्प सत्तामा फर्किएपछि इजरायली प्रधानमन्त्रीको वासिङ्टनको यो दोस्रो भ्रमण हो । वासिङ्टनको इजरायलसँग उल्लेखनीय व्यापार घाटा रहेको भन्दै ट्रम्पले अमेरिकी सैन्य सहायताको सबैभन्दा ठूलो लाभार्थी इजरायललाई आफ्नो विश्वव्यापी भन्सार प्रहारबाट छुट दिन अस्वीकार गर्नुभयो ।
नेतन्याहुले आइतबार आफ्नो आगमनपछि तुरुन्तै वाणिज्यमन्त्री हावर्ड लुटनिक र व्यापार प्रतिनिधि जेमिसन ग्रिरसँग भेट गर्नुभयो । इजरायली प्रधानमन्त्रीले सोमबार ट्रम्पका दूत विटकफसँग पनि भेट गर्नुभयो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
- आज दिनभर वर्षा हुने
- विद्यालय फर्कन प्रधानमन्त्रीले गरेको आग्रह महासङ्घद्वारा अस्वीकार
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’