
काठमाडौँ । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिले मङ्गलबार जुन ३ मा राष्ट्रपति निर्वाचन हुने घोषणा गर्नुभएको छ ।
मुलुकका पूर्वराष्ट्रपति युन सुक योलको मार्शल ल घोषणाको विनाशकारी प्रयासपछि उहाँलाई पदबाट हटाइएपछि यो निर्णय आएको हो ।
पूर्वराष्ट्रपति युनले नागरिक शासन अवरुद्ध गर्ने प्रयास गर्नुभएको तर सांसदहरूद्वारा तुरुन्तै महाभियोग लगाइएको र पदबाट निलम्बन गरिएपछि दक्षिण कोरिया डिसेम्बरदेखि प्रभावकारी रूपमा नेतृत्वविहीन रहेको छ ।
गत साता अदालतले उहाँको महाभियोगलाई सदर गरेको थियो । त्यो फैसलाले उहाँलाई शीर्ष पदबाट हटाएसँगै ६० दिनभित्र नयाँ निर्वाचन गराउनुपर्ने प्रावधानअनुसार नयाँ निर्वाचनको मार्ग खुलेको हो ।
सरकारले ‘राष्ट्रिय निर्वाचन आयोग र अन्य सम्बन्धित निकायहरूसँग छलफल गरेको’ प्रधानमन्त्री हान डक–सुले मङ्गलबार बताउनुभयो ।
यसले ‘सहज निर्वाचन सञ्चालन सुनिश्चित गर्न र राजनीतिक दलहरूलाई तयारीका लागि पर्याप्त समय दिन आवश्यक छ’ भन्ने कुरालाई पनि ध्यानमा राखेको उहाँले बताउनुभयो ।
फलस्वरूप ‘दक्षिण कोरियाको २१ औँ राष्ट्रपति निर्वाचनको मिति जुन ३ तोक्ने निर्णय गरेको’ भन्दै उहाँले मतदानलाई सहज बनाउन त्यस दिनलाई अस्थायी सार्वजनिक बिदाका रूपमा तोकिने जानकारी दिनुभयो ।
प्रधानमन्त्री हानले मन्त्रालय र राष्ट्रिय निर्वाचन आयोगलाई ‘पहिलेभन्दा निष्पक्ष र पारदर्शी एवं जनताको विश्वास कमाउन सक्ने निर्वाचन सुनिश्चित गर्न पूर्ण तयारी गर्न’ आह्वान गर्नुभयो ।
नियमित निर्वाचनमा राष्ट्रपति–निर्वाचित व्यक्तिलाई दुई महिनाको सङ्क्रमणकालीन अवधि दिइन्छ भने जुन ३ को निर्वाचनमा विजयी हुने व्यक्ति अर्को दिनै पदमा नियुक्त हुनेछन् ।
अहिलेका लागि प्रधानमन्त्री हानले कार्यवाहक राष्ट्रपतिका रूपमा सरकार चलाइरहनुभएको छ । संवैधानिक अदालतले उहाँको आफ्नै महाभियोगलाई खारेज गरेपछि उहाँले भर्खरै पुनः काम शुरु गर्नुभएको हो ।
चुनावी अभियान मे देखि शुरु
राष्ट्रपति निर्वाचन सामान्यतया बुधबारहरूमा गरिन्छ तर रिक्त पदपूर्तिका लागि आयोजित आकस्मिक मतदानका लागि कुनै विशेष दिन तोकिएको छैन ।
आधिकारिक चुनावी अभियान मे १२ देखि जुन २ सम्म चल्नेछ ।
विपक्षी नेता ली जे–म्युङ अहिलेसम्मको जनमत सर्वेक्षणमा अग्रस्थानमा रहनुभएको छ । पछिल्लो ग्यालप सर्वेक्षण अनुसार उहाँको समर्थन दर ३४ प्रतिशत रहेको छ ।
उहाँको पार्टीले पहिले नै राष्ट्रिय विधानसभामा नियन्त्रण गरेको छ ।
सन् २०२२ को राष्ट्रपति चुनावमा उहाँ युनसँग थोरै मतले पराजित हुनुभयो तर चलिरहेको मुद्दासहित कानूनी समस्याहरूले छायामा पारेको करियरका बाबजुद मुख्य विपक्षी दलका नेताका रूपमा राजनीतिक पुनरागमन गर्नुभयो ।
दोस्रो स्थानमा श्रममन्त्री किम मुन–सु हुनुहुन्छ ।
नौ प्रतिशत मत पाउँदै उहाँले युनको पिपल्स पावर पार्टीका चुनौतीकर्ताहरूको समूहको अगुवाइ गर्दै हुनुहुन्छ । यसमा पूर्व पार्टी प्रमुख हान डोङ–हुन पनि समावेश हुनुहुन्छ ।
लाखौँ कोरियालीले शुक्रबार संवैधानिक अदालतले युनलाई पदबाट हटाउने फैसला प्रत्यक्ष टेलिभिजनमा हेरेका थिए ।
यूनले सांसदहरूलाई आफ्नो आदेशलाई मतदान गर्नबाट रोक्नका लागि सशस्त्र सैनिकहरू संसद्मा पठाउनुभएको थियो । त्यो आदेशलाई अदालतले ‘राजनीतिक उद्देश्यका लागि’ सेना तैनाथ गरेको बताएको छ ।
युन सन् २०१७ मा पार्क ग्युन–हाइपछि अदालतले महाभियोग लगाउने दोस्रो दक्षिण कोरियाली नेता हुनुहुन्छ ।
दक्षिण कोरियाले मार्शल ल घोषणा गरेदेखि चार महिना राज्यका प्रभावकारी प्रमुख बिना बिताएको छ ।
नेतृत्वको अभावमा देशले विमान दुर्घटना र देशको इतिहासमा सबैभन्दा घातक डढेलो लगायत विभिन्न सङ्कट र चुनौती भोग्नुपरेको छ ।
गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी तथाकथित पारस्परिक कर लगाउनुभएपछि दक्षिण कोरियामाथि प्रमुख सहयोगी संयुक्त राज्य अमेरिकामा गरिने निर्यातमा २५ प्रतिशत भन्सार महशुल लगाइएको थियो ।
युनले मार्शल ल प्रयाससँग सम्बन्धित विद्रोहको आरोपमा अलग फौजदारी मुद्दाको सामना पनि गरिरहनुभएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
- आज दिनभर वर्षा हुने
- विद्यालय फर्कन प्रधानमन्त्रीले गरेको आग्रह महासङ्घद्वारा अस्वीकार
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’