
खोटाङ । त्रिधार्मिकस्थल खोटाङको हलेसी क्षेत्रमा अवस्थित मञ्जुश्री गुफा आवतजावतका लागि पदमार्ग निर्माण गरिएपछि भक्तजन तथा पर्यटकलाई सहज भएको छ ।
हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी नजिकै रहेको मञ्जुश्री गुफा आवतजावत गर्ने भक्तजन तथा पर्यटकलाई लक्षित गरेर आकर्षक ढुङ्गा बिच्छ्याएर पदमार्ग निर्माण गरिएको हो ।
मञ्जुश्री गुफा जाने पदमार्गसँगै तुवाचुङ पद्मार्ग, माङिखम घर निर्माणलगायतका लागि नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु छ करोड लगानीमा ठेकेदारमार्फत स्तरोन्नतिको काम शुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । ‘मञ्जुश्री गुफा जाने बाटो अत्यन्तै अप्ठ्यारो थियो । पदमार्ग निर्माण भएसँगै यात्रा गर्न सहज भएको छ’ उहाँले भन्नुभयो– ‘मञ्जुश्री गुफा जावतजावतका लागि प्रयोग गरिने पदमार्ग आकर्षक बनेपछि पर्यटकको सङ्ख्यासमेत वृद्धि भएको छ ।’
मञ्जुश्री गुफा आवतजावत गर्ने भक्तजन तथा पर्यटकलाई लक्षित गरेर बाहिरी जिल्लाबाट आयात गरिएको आकर्षक ढुङ्गा बिच्छ्याएर ३६० मिटर लामो पदमार्ग निर्माण गरिएको छ । पदमार्गको दाँया र बाँया आकर्षक ढुङ्गाकै पर्खालसमेत लगाइएको छ । पाँच मिटर चौडाइ रहेको पदमार्ग टाढाबाट हेर्दा निक्कै आकर्षक देखिन्छ ।
धार्मिकरुपमा मात्र नभइ प्राकृतिकरुपसमेतमा विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी दर्शन एवम् अवलोकन गर्न विश्वका तीर्थालु तथा पर्यटक आउने गरेका छन् । हलेसीसँगै नजिकै रहेका विभिन्न गुफामा पनि भक्तजन पुग्ने गरेका छन् ।
विशेष गरी हलेसीस्थित मारातिका गुम्बा आउने बौद्ध धर्मावलम्बी अनिवार्यरुपमा मञ्जुश्री गुफा जाने गरेका छन् । पदमार्ग भएर आवतजावत गरिने मञ्जुश्री गुफाभित्र बौद्ध धर्मावलम्बी लामो समयसम्म ध्यान गरेर बस्ने गरेका छन् ।
मञ्जुश्री गुफा जाने बाटो अप्ठ्यारो हुँदा कयौँ पटक लडेर भक्तजनलाई चोटपटक लागेकाले पदमार्ग निर्माण गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईले बताउनुभयो । ‘मञ्जुश्री गुफामा निर्माण गरिएको पदमार्ग गुणस्तरीय र आकर्षक छ । यसले हलेसी क्षेत्रको पर्यटन प्रवर्द्धनमा पनि मद्दत गर्ने अपेक्षा गरेका छौँ’ उहाँले भन्नुभयो– ‘मञ्जुश्री गुफा पदमार्गमा फोटो, भिडियो खिच्नको लागि मात्रै पनि पर्यटक पुग्ने गरेको छन् । आकर्षक पदमार्गका कारण हलेसीको पर्यटन प्रवर्द्धनमा थप टेवा पुगेको छ ।’
किरात राई समुदायको उद्गमस्थल तुवाचुङ–जायाजुममा निर्माणाधीन पदमार्गलाई ‘मिनी ग्रेटवाल’ नामाकरण गरेर स्तरोन्नति गर्ने काम भइरहेको नगर प्रवक्ता गिरीले जानकारी दिनुभयो । ६ सय ७० लामो मिनी ग्रेटवालको उचाइ एक मिटर २० सेन्टीमिटर तथा चौडाइ ६० सेन्टीमिटरको हुने जनाइएको छ ।
तुवाचुङ–जायाजुम निर्माणाधीन पदमार्गको काम ९० प्रतिशत सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि ध्रुव थापाले जानकारी दिनुभएको छ । त्रिधार्मिकस्थल हलेसीस्थित बशाहा गुफा नजिकै निर्माण गरिने माङिखम ९तीन चुल्हा०सहितको घरको काम भने शुरु भएको छैन ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल तुवाचुङ–जायजुममा दर्शन गर्न र भ्रमण गर्न आउने देश/विदेशका किराती र गैर–किरातीको भीड लाग्ने गरेको छ ।
हरेक वर्षको उँधौली र उँभौली आर्थात् मङ्सिरे र वैशाखे पूर्णिमामा बृहत् साकेला मेला लाग्ने तुवाचुङ–जायजुममा किरातीको पुर्खा रैछाकुले, तायामा र खियामाको पूर्णकदको प्रतिमा यसअघि नै स्थापना गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी