
धनुषा । जनकपुरधाममा लामो समयदेखि अर्थशास्त्र प्राध्यापन गर्दै आउनुभएका उज्ज्वल दाहाल वर्षभरि हुने घरायसी खर्चको एकतिहाइ दशैँमा खर्च हुने गरेको बताउनुहुन्छ ।
उद्योगी–व्यवसायीले दशैँ, तिहार र छठ पर्वसँगै वस्तु र सेवाको व्यापारका लागि नयाँनयाँ छुटका कार्यक्रमहरुसहित ग्राहकलाई लोभ्याउने गर्दा पनि खर्च गर्ने क्रम अन्य समयको तुलनामा बढी नै हुने गरेको उहाँको भनाइ छ ।
साउने सङ्क्रान्तिपछि विस्तारै चाडपर्व शुरु हुन थालेसँगै बजार चलायमान हुने गर्छ । मधेश प्रदेशको राजधानी जनकपुधामलगायत देशका मुख्य शहरका पार्टी प्यालेसले पनि यस अवधिमा राम्रै आम्दानी गर्ने गर्छन् । यतिबेला किराना सामानदेखि लत्ताकपडा, गरगहना, सवारीसाधन, माछामासु, मदिरा, हल्का पेयपदार्थ, मोबाइल, टेलिभिजन, कपडा धुने मेसिन, फ्रिजलगायत विद्युतीय उपकरणका पसलहरुमा किनमेल गर्नेहरुको भीड अत्यधिक देखिएको छ । वस्तुका अतिरिक्त सेवा क्षेत्रमा सार्वजनिक सवारीसाधन, होटल रेस्टुरेन्ट, एयरलाइन्सको व्यापारमा पनि बढोत्तरी देखिएको छ ।
दशैँ, दीपावली र छठ पर्वको व्यापारले वर्षभरिको व्यापारको चक्रलाई ठूलो भरणपोषण गर्ने जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारी बताउनुहुन्छ । फर्निचर, इलेक्ट्रोनिक्स, ग्याजेट लगायतका खरिदकर्तालार्ई दसैँ, तिहारको बेला दिने छुट नै पर्खेर बस्ने बानी लागिसकेको उहाँको भनाइ छ । अहिले इन्टरनेट सेवाप्रदायक, ट्राभल एजेन्सी, सञ्चार सेवाप्रदायक तथा होटल रेस्टुरेन्टले दशैँदेखि छठसम्म छुट र उपहारका विविधि योजना ल्याएर ग्राहकलाई आकर्षित गर्न खोजिरहेको हुँदा हरेक बजार मात्र होइन, सपिङ कम्प्लेक्सदेखि अनलाइन सपिङमा किनमेलको चाप बढ्दो छ ।
अर्थविद्हरुका अनुसार दशैँ, तिहारअघिका दुई–तीन साताको अवधिमा वर्षभरिको कुल राष्ट्रिय उपभोगको २० प्रतिशत जति उपभोग हुने देखिन्छ । दशैँ तिहारलाई लक्षित गरी नयाँ सवारीसाधन खरिदमा छुट, सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा यही बेला हुनाले पनि अर्थतन्त्र चलायमान हुने गरेको अर्थशास्त्रका प्राध्यापक प्रभात घिमिरे बताउनुहुन्छ । ‘कतिपयमा यही समयमै खरिद गर्नुपर्छ भन्ने मानसिकता विकसित भएको देखिन्छ’ उहाँ भन्नुहुन्छ ।
रोजगारी वा अध्ययनका लागि नेपालबाहिर रहेका व्यक्तिहरु पनि दशैँ, तिहार र छठ पर्व मनाउन आ–आफ्नो गाउँघर आउने गर्दछन् । सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ । सरकारले दशैँको अवसर पारेर आफ्ना कर्मचारीलाई एक महिनाको तलब दिने गर्दछ भने अन्य सङ्घसंस्था, बैङ्क तथा वित्तीय संस्था र व्यापारिक प्रतिष्ठानहरुले पनि कर्मचारी, कामदारलाई केही खर्च दिने हुँदा बजारमा पैसा लेनदेन हुने भएकाले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने अर्थशास्त्री डा सुरेन्द्र लाभको भनाइ छ ।
दशैँ तिहार र छठ पर्वसम्म बजारमा करिब पाँच अर्ब रुपैयँँको कारोबार हुने डा लाभ बताउनुहुन्छ । मुलुकमा निजामती, शिक्षक, सेना, प्रहरी लगायत करिब पाँच लाख सरकारी कर्मचारी छन् । प्रतिकर्मचारीको मासिक तलब सरदर ३५ हजारका दरले हिसाब गर्दा एकमुष्ट १७ अर्ब ५० करोड रुपैयाँ हुन्छ । एक महिनाको तलब बराबर दशैँ खर्च पाइन्छ । त्यसैगरी, करिब सवा ९ लाख उद्योग, प्रतिष्ठान, कलकारखाना, साना तथा मझौला व्यवसायमा कार्यरत ३२ लाख कर्मचारी छन् ।
ती कर्मचारीले सरदर मासिक तलब १५ हजार रुपैयाँका दरले हिसाब गर्दा एकमुष्ट ४८ अर्ब रुपैयाँ हुन्छ । उनीहरूले तलबका अतिरिक्त दशैँ भत्ता मात्रै करिब ६६ अर्ब रुपैयाँँ पाउँछन् ।
यसबाहेक व्यापार–व्यवसाय, खेतीपाती गर्नेले पनि दशैँमा राम्रै खर्च गर्छन् । वैदेशिक रोजगारीमा गएकाले दशैँ, तिहार र छठ पर्व मनाउन घरमा पैसा पठाउने गर्छन् । विदेश बस्ने नेपालीले यही समयमा बढी विप्रेषण पठाउने गरेका छन् । अन्य महिनाको तुलनामा दशैँमा करिब २५ देखि ३० प्रतिशत बढी रकम विप्रेषण आउने गरेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाउँछ ।
राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार गत साउन र भदौमा विप्रेषणमार्फत दुई खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ मुलुकमा भित्रिएको छ । गत वर्षको त्यही अवधिको तुलनामा यस वर्ष विप्रेषण आप्रवाह १५.२ प्रतिशतले बढेको हो । औसतमा दशैँताका मात्र करिब १०–१५ अर्ब रुपैयाँ विप्रेषण नेपाल भित्रिन्छ । यसमा भारतमा काम गर्न गएका नेपालीले दशैँमा घर फर्किंदा लिएर आउने रकम भने जोडिएको छैन । भारतमा हजारौँको सङ्ख्यामा नेपाली कार्यरत रहेकाले पनि यसको हिस्सा नेपालको अर्थतन्त्रमा फराकिलो हुने गर्दछ ।
दशैँले बजारमा चहलपहल बढाएको नेपाल चेम्बर अफ कमर्स मधेश प्रदेशका अध्यक्ष पवन ठाकुरले बताउनुभयो । उहाँले भन्नुभयो– ‘शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन चाडपर्वले टेवा पुगेको छ । दशैँमा आम्दानी र खर्च दुवै बढ्ने भएकाले अर्थतन्त्रलाई राम्रै गर्छ ।’ यी चाडपर्वको समयमा धेरै मानिस शहरी क्षेत्रबाट आफ्नो जन्मस्थल ग्रामीण क्षेत्रमा पुग्ने हुँदा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न पनि सघाएको छ ।’
जनकपुरधाम लगायत विभिन्न ठाउँमा सस्तो बजारका नाममा विशेष बजार दशैँदेखि छठ पर्वसम्म सञ्चालन हुने गर्दछ । यस्ता बजारमा स्थानीय तथा राष्ट्रिय उत्पादन बढी मात्रामा रहेकाले देशकै आर्थिक गतिविधि बढ्ने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन