
टीकापुर । टीकापुर नगरपालिकाकी पार्वती सञ्यालका दुई बच्चा छन् । श्रीमान् निधनभएपछि उहाँले निकै कठिनाइ गरेर बालबच्चा स्याहारिरहनुभएको छ ।
ज्यालादारी गरेर बालबच्चा हुकाइ, पढाइ रहेकी पार्वतीलाई छोराछोरीको भविष्यको निकै चिन्ता छ । “छोरी अहिले १० कक्षामा पढ्छिन्, छोरीको धेरै पढ्ने इच्छा छ”, उहाँले भन्नुभयो, “मेरो कमाइ छैन । छोरीलाई शिक्षा दिन सक्दिन कि भन्ने पीरले सताउँछ । यस्तो बेला सरकारले हेरिदेओस् भन्ने चाहना छ ।”
टीकापुर–३ कटानपुरकी रामपति चौधरीले तीन नातिनातिना पालेर बस्नुभएको छ । रामपतिका छोरा कुलतमा फसेपछि बुहारीले अर्को विवाह गरेर गइन् । छोराबुहारीले नस्याहारेपछि एकल रहेकी रामपतिले सामाजिक सुरक्षा भत्ताले बच्चाको भोक मेटाइरहनुभएको छ । “म आफू पनि एकल महिला, श्रीमान् बितेको धेरै भयो”, उहाँ भन्नुहुन्छ, “छोरो कुलतमा फसेर मानसिक रुपमा पनि कमजोर छ । तीन बच्चा मेरै जिम्मेवारीमा छन् । मलाई यिनको पेट भर्नै समस्या छ । कसरी अरु आवश्यकता पूरा गरौँ ?”
टीकापुर –६ का जोगी परियारका पनि छोराबुहारी बेपत्ता छन् । ज्येष्ठ नागरिक जोगीका दम्पतीले नातिनातिना स्याहारी रहनुभएको छ । “भारत कमाउन गएको छोरो उतै हरायो, बुहारी पनि कता गइन थाहा भएन”, उहाँले भन्नुभयो, “हामी ८० वर्ष आसपासका बूढाबूढी सामाजिक सुरक्षा भत्ताले यी बच्चालाई लालनपालन गरिरहेका छौँ । साह्रै गाह्रो छ हामीलाई ।”
टीकापुर–६ नारायणपुरकी चिन्कीदेवी चौधरीका श्रीमान् बितेको ११ वर्ष भयो । उहाँका दुई छोरा छन् । दुवै छोरा बिरामी छन् । पहिलो बच्चालाई सिकलसेल एनेमियाको समस्या छ । दोस्रो बच्चालाई पनि नियमित रगत चढाउनुपर्छ । “सानो बच्चा एक वर्षको हुँदा श्रीमान् बित्नुभयो, त्यसपछि दुःखका दिन सुरु भए”, उहाँले भन्नुभयो, “१४ वर्षको छोरालाई सिकलसेल एनेमिया छ । उपचारमा आउजाउ गर्न, अस्पताल बस्न, बच्चालाई पोषिलो खुवाउन सकेको छैन ।”
चिन्कीदेवी स्थानीय सरकारले बस्ने घर बनाइदिनुपर्ने, अत्यावश्यक पर्ने सरसामान, बच्चाको उपचार र शिक्षामा सघाउनुपर्ने माग गर्नुहुन्छ । “कहिलेकाहीँ यस्तो सङ्घर्ष गर्न सक्दिनकी जस्तो लाग्छ, श्रीमान् बितेपछि एक वर्षको बच्चा छोडेर इँटाभट्टामा काम गरेर बच्चाको भोक मेटाए”, उहाँले भन्नुभयो, “हरेक महिना बच्चा बिरामी हुन्छन् । नियमित काम गर्न पनि मिलेको छैन ।”
टीकापुर–५ की जानकी रेग्मी पनि एकल महिला हुनुहुन्छ । जग्गा जमिनसमेत नभएकी जानकीले दुई छोराछोरीलाई मजदुरी गरेरै पाल्नुभएको छ । “सधैँ काम पाइँदैन, काम नपाएपछि घरमा अन्न हुँदैन”, उहाँ भन्नुहुन्छ, “कहिलेकाहीँ बिरामी हुँदा काम काममा जान सकिँदैन, त्यो बेला घर चल्दैन । समस्या हुन्छ ।”
आइतबार यस्ता अभिभावक नभएका, एकल महिलाले पालिरहेका, विपन्न भएकै कारण विद्याललमा समस्या रहेका बालबालिकालाई टीकापुर नगरपालिकाले शैक्षिक सामग्री सहयोग गरेको छ । विद्यार्थीलाई झोला, शैक्षिक सामग्री, दुई थान पोसाक वितरण गरिएको हो । वडास्तरीय बाल अधिकार समितिको सिफारिसमा २५ जना विपन्न बालबालिकालाई अध्ययनमा सघाउन सहयोग गरिएको बताइएको छ ।
बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले शैक्षिक सामग्रीले शैक्षिक क्रियाकलापमा सहयोग पुग्ने बताउनुभयो । “विपन्नलाई धेरै राहत हुन्छ, कतिपय बालबालिका कापी, कलम र लत्ताकपडा नभएर पनि नियमित हुन सकेका हुँदैनन्”, उहाँले भन्नुभयो, “त्यस्ता बालबालिका नियमित विद्यालय आउने अपेक्षा गरिएको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण