
काठमाडौँ । भद्रकाली मन्दिर परिसर पुनःनिर्माण शुरु गरिएको छ । ३४ करोड ८० लाख ७१ हजार रुपैयाँ लागतमा मन्दिरको दक्षिण पश्चिमबाट पुनःनिर्माण शुरु गरिएको हो ।
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले आज मन्दिर परिसर पुनःनिर्माणको शिलान्यास गर्नुभयो । विसं २०७२ को भूकम्पले मन्दिर जीर्ण भए पनि अझै पुनःनिर्माण हुन सकेको थिएन ।
मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन् । कामपा सम्पदा तथा पर्यटन विभागका वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालकाअनुसार तुल्सी अम्बुजा जेभीले पुनःनिर्माणको ठेक्का पाएको छ । कामपाले निर्माण पक्षसँग गत जेठ ६ गते सम्झौतागरी यही असार ३ गते कार्यादेश दिएको छ ।
यसको निर्माण परम्परागत नेवारी शैलीमा हुनेछ । कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुनेछन् । छानो झिँगटीको हुनेछ । उत्तर (भृकुटीमण्डप) तर्फ दुई वटा ब्लक आपसमा जोडिने जनाइएको छ । दक्षिणतर्फ (नेपाली सेनाको पेट्रोलपम्पतर्फ) तीन वटा ब्लक हुने र यिनीहरु पनि आपसमा जोडिएको हुने महानगरले जनाएको छ । यसरी पुनःनिर्माण हुने भवनको क्षेत्रफल ३९ हजार वर्गफिट हुने जनाइएको छ । यसको डिजाइन कामपा सहरी योजना आयोगले तयार पारेको हो ।
पुनःनिर्माणका क्रममा मन्दिर क्षेत्रमा भएका संरचना, शिल्प र शैलीको अभिलेखन तयार पार्ने जिम्मा पुरातत्व विभागलाई दिइएको छ । हालको संरचना भत्काएपछि सङ्कलन हुने निर्माणजन्य सामग्री पुरातत्व विभाग, गुठी संस्थान, लुमधी भद्रकालीे व्यवस्थापन समितिसहितको सहजीकरण समितिले समन्वय र व्यवस्थापन गर्नेछ ।
कामपाकी उपप्रमुख डङ्गोलले, भद्रकाली सबै श्रद्धालुहरुको आस्थाको केन्द्र भएको उल्लेख गर्नुभयो । उहाँले यसको प्राचीनता बचाउनसके सबैले गर्व गर्न लायक हुने बताउनुभयो ।
कामपा वडा नं ११, २१ र २२ का अध्यक्षहरु हीरालाल तण्डुकार, उदय चूडामणि बज्राचार्य र चिनीकाजी महर्जनले, भद्रकाली धार्मिक आस्थासँग जोडिएको पीठका रुपमा चिनिएको स्मारक भएको उल्लेख गर्नुभयो ।
भद्रकाली कामपाको वडा नंं ११ मा अवस्थित भए पनि यससँग सम्बन्धित जात्रा पर्व, संस्कार, संस्कृति तथा परम्परा वडा नं २२ सहित भित्री वडासँग सम्बन्धित छन् । सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले यो बहुपक्षीय सम्बन्ध राख्ने पुनःनिर्माण रहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै