
म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्गोज पदमार्गमा दाताको सहयोगमा रकम सङ्कलन गरी पूर्वाधार निर्माण गरिएको छ ।
रघुगङ्गा गाउँपालिका–१ बेगकी ललिता शेरपुञ्जाले दातासँग सहयोग जुटाएर पदमार्गको सङ्धीखर्कमा दुईकोठे सार्वजनिक शौचालय, खानेपानीलगायत पूर्वाधार निर्माण गर्नुभएको हो । ‘केही समयअघि मौरिस हर्गोज पदमार्ग भएर अन्नपूर्ण आधार शिविरको पदयात्रामा जाँदा सार्वजनिक शौचालय, खानेपानी र फोहर व्यवस्थापनको आवश्यकता महसुस गरेकी थिएँ’ ललिताले भन्नुभयो– ‘शौचालय बनाउन सामाजिक सञ्जालमार्फत गरेको आग्रहमा दाताहरूले सहयोग गर्नुभयो र बर्खायाम भए पनि निर्माण गर्न सफल भयौँ ।’
अध्ययनका लागि अष्टे«लियामा जानुभएकी शेरपुञ्जा अहिले स्वदेश फर्किनुभएको छ । शौचालय निर्माणलगायत पूर्वाधार निर्माण गर्न पदमार्गका अभियन्ता तेज गुरुङ र नारच्याङका तम चोचाङ्गी पुनलाई शेरपुञ्जाले रु चार लाख ६० हजार पठाउनुभएको थियो ।
ललिताको शौचालय अभियानमा अन्य दाताहरूले पनि सहयोग गर्नुभएको थियो । शेरपुञ्जाले पठाएको रकमबाट १५ दिनसम्म आठजना मजदूर परिचालन र निर्माण सामग्री खरिद, ढुवानी गरी शौचालय, खानेपानी आपूर्ति र फोहर व्यवस्थापन गर्ने खाडल बनाएको चोचाङ्गीले बताउनुभयो ।
सार्वजनिक शौचालयको अभावमा पर्यटक, स्थानीयवासी र पर्यटक मजदूरलाई असहज भएको थियो । वातावरण प्रदूषण घटाउन, सरसफाइ कायम र पर्यटकको सुविधाका लागि सार्वजनिक शौचालय बनाइएको ललिताले बताउनुभयो ।
आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोहण दलको नेतृत्व गरेका फ्रान्सका मौरिस हर्गोजको सम्मानमा नारच्याङबाट आधार शिविर जोड्ने पदमार्गको नामकरण गरिएको छ । अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलोपटक मानव पाइला परेको हिमाल भएकाले यसले मुलुकको आरोहण पर्यटनमा महत्व छ । सन् १९५० जुन ३ गते अन्नपूर्णको सफल आरोहण भएको थियो ।
प्रथम आरोही मौरिसको पाइला पछ्याउँदै नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा पहिचान भएको पदमार्ग २०७७ सालदेखि सञ्चालन भएको थियो । नारच्याङबाट २० किलोमिटर टाढा हुमखोलासम्म निलगिरी खोला जलविद्युत् आयोजनाको पहुँचमार्ग पर्दछ ।
हुमखोलाबाट आधार शिविर जोड्ने २२ किमी लामो पदमार्ग, खोलामा झोलुङ्गे पुल, आश्रयस्थल निर्माण गरिएको छ । एकै दिनको पैदलयात्रामा आधार शिविर पुग्न सकिने भएकाले पर्यटकको आकर्षण बढेको अभियन्ता गुरुङले बताउनुभयो ।
सङ्धीखर्क, धरमढुङ्गा, भुसकेट, गुफाफाँट, हुमखोला र छोटेपामा सातवटा आश्रयस्थल निर्माण भएका छन् । होटल तथा लजको सुविधा नभएको यो पदमार्गमा क्याम्पिङ गर्न खानेबस्ने सामग्री लिएर जानुपर्छ ।
अन्नपूर्ण र निलगिरी हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । अन्नपूर्ण फेदीमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँको थप आकर्षणको रूपमा रहेको छ ।
अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा खानेपानी, आश्रयस्थल, सञ्चार, विद्युत्, पदमार्ग लगायत पूर्वाधार निर्माण र प्रचारप्रसारका लागि एकीकृत गुरुयोजनाको मस्यौदा तयार पारिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो । आधारभूत स्तरको पूर्वाधार बनेको पदमार्गमा पर्यटक भित्र्याउन प्रचारप्रसार र प्रवर्द्धनात्मक क्रियाकलापलाई पनि जोड दिइएको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन