
म्याग्दी । म्याग्दीमा यस आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी १८ योजना सम्पन्न भएका छन् ।
चालु आव २०८०/८१ मा गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले विनियोजन गरेको १ करोड ५६ लाख बजेटबाट १८ वटा पर्यटन पूर्वाधार योजना निर्माण भएका हुन् ।
चर्चित, ऐतिहासिक र धार्मिक पर्यटकीयस्थलमा नौ किलोमिटरभन्दा बढी पदमार्ग निर्माण भएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख पोषानाथ शर्माले जानकारी दिनुभयो । ‘कार्यालयका सबै योजना कार्यान्वयन गरेका छौँ’ उहाँले भन्नुभयो– ‘सात किलोमिटर ४८ मिटर नयाँ ट्रयाक बनाउने, ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाउने काम भएको छ ।’
उहाँका अनुसार एक किलोमिटर ७२ मिटर पदमार्गमा ढुङ्गा छापेर पदमार्ग बनाइएको छ । थप एक किलोमिटर ८२ मिटर पदमार्गलाई ढलान गरेर पक्की बनाइएको छ । पदमार्गसँगै धार्मिक पर्यटकीयस्थलमा घेराबार, संरक्षण, प्रवेशद्वार, रेलिङ, भ्यूप्वाइन्ट, वनभोजस्थल लगायत पूर्वाधार निर्माण भएको कार्यालयका सबइन्जिनियर सुमन बोगटीले जानकारी दिनुभयो ।
पर्यटन पूर्वाधार बनेपछि पर्यटक प्रवर्द्धनमा सघाउनुका साथै स्थानीयवासीलाई सुविधा पुगेको छ । यस वर्ष सबैभन्दा धेरै २० लाख रुपैयाँ विनियोजन भएको अन्नपूर्ण गाउँपालिका–५ को खोप्रालेकमा पदमार्ग, भ्यूप्वाइन्ट निर्माणसँगै खानेपानीको पूर्वाधार निर्माण गरिएको छ ।
जिल्लाकै ऐतिहासिक धार्मिकस्थल ताकमकोट, ज्यामरुकोट, चिनाकोटमा १०–१० लाख रुपैयाँबाट पदमार्ग, रेलिङलगायत पर्यटन पूर्वाधार निर्माण भएका छन् । बेनी नगरपालिका–९ स्थित ढोलथानमा १० लाख रुपैयाँ बाट पदमार्ग, प्रवेशद्वार वनभोजस्थल र रेलिङ निर्माण भएको कार्यालयले जनाएको छ ।
महभिरबाट करबाकेलीथान जाने बाटो, पनथोकबाट मालिका जोड्ने बाटो, गलेश्वर–काउलेगौडा–नेप्टेचौर ढोलठान जाने बाटो, दर्मिजा–नाङ्गीदेवी थान बाटो, लामाखोरिया–डाँडागाउँ जोड्ने बाटोमा १०–१० लाख रुपैयाँबाट पदमार्ग निर्माण र विस्तार गरिएको छ ।
त्यसैगरी बेनीस्थित डल्लेपिपल–फोहोटे रिठाबोट र रघुगङ्गा गाउँपालिका–२ भगवतीको अन्नपूर्ण आधारभूत विद्यालयबाट हवल्दारको चौतारासम्म ८– ८ लाख रुपैयाँ बाट सिँढी चिनेको पदमार्ग निर्माण गरिएको छ । बेनी नगरपालिका–१ रत्नेचौरमा रहेको परम बैदिक धार्मिक सनातन आश्रम, सारेमारे–भुवाने, भालश्री छापाछाङ औसी–खालीखोला, बलौटे–दुखुबेँसी, कालीबराह ताल, शिलखुङ–चाङ्गा जोड्ने बाटोमा ५–५ लाख रुपैयाँबाट पदमार्ग निर्माण तथा संरक्षण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै