
काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घले नूर दुबई फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा ‘टेलिअफ्थाल्मोलोजी’ परियोजना शुरुवात गरेको छ । परियोजनाले ‘टेलिअफ्थाल्मोलोजी’मार्फत नेपालको दुर्गम क्षेत्रका वासिन्दामा आँखा उपचारको पहुँच बढाउने लक्ष्य लिएको छ ।
३ वर्षका अवधिमा सङ्घअन्तर्गतका १५ केन्द्रमार्फत परियोजनाले प्राथमिक हेरचाह, विशेषज्ञ परामर्श र तालिमसमेत प्रवाह गर्ने मङ्गलबार आयोजित कार्यक्रममा जानकारी दिइएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल, नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्त, नेपालका लागि युएईका राजदूत अबदुल्लाह अल सम्सी र नूर दुबई फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत डा मनाल तारियामले संयुक्त रूपमा परियोजनाको शुभारम्भ गर्नुभयो । त्यस अवसरमा सचिव डा पोखरेलले भन्नुभयो– ‘गुणस्तरीय स्वास्थ्य सेवा पहुँच विस्तार गर्न मन्त्रालयले उच्च प्राथमिकता दिएको छ । यस लक्ष्यलाई परियोजनाले थप सहयोग गर्ने छ । दिगो विकासका लक्ष्य २०३० प्राप्तिमा आँखा स्वास्थ्य सेवाको भूमिका अग्रणी छ ।’
फाउण्डेशनका बोर्ड सदस्य एवं प्रमुख कार्यकारी अधिकृत डा तारियामले भन्नुभयो– ‘ फाउण्डेशनले नेपाल नेत्रज्योति सङ्घसँगको साझेदारी मार्फत नेपालमा आँखा उपचार सेवा गर्न समुदायमा पुग्न पाउँदा अत्यन्तै गौरवान्वित छौँ । यस परियोजनाले आँखा स्वास्थ्य सेवाको प्रवाहलाई रूपान्तरण गर्नुका साथै सेवाको पहुँचलाई बढाई यसलाई दिगो बनाउने विश्वास लिएका छौँ ।’
सङ्घका अध्यक्ष प्रा डा पन्तले भन्नुभयो– ‘परियोजनाले नेपालको दुर्गम र ग्रामीण क्षेत्रका विपन्न नागरिकलाई अस्पतालको विशेषज्ञ आँखा उपचार सेवासँग जोड्नेछ । टेलिअफ्थाल्मोलोजी उपचार सेवाले बिरामीको घरमै विशेषज्ञ आँखाको हेरचाह सेवा प्रदान गर्ने हुनाले यो बढी प्रभावकारी हुने विश्वास लिएका छौ ।’ कार्यक्रममा सङ्घका महासचिव भरतबहादुर चन्द र कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले आँखा उपचार सेवामा सङ्घले गरिरहेका काम एवं परियोजनाबारे जानकारी दिनुभएको थियो ।
उन्नत प्रविधि टेलिअफ्थाल्मोलोजी
‘टेलिमेडिसिन’ र ‘टेलिअफ्थाल्मोलोजी’ले विद्युतीय सञ्चार र उन्नत प्रविधिको माध्यमबाट स्वास्थ्य सेवा प्रवाहलाई सहज बनाउने जनाइएको छ । बिरामी तथा विशेषज्ञ आँखा चिकित्सक भौगोलिक रूपमा टाढा भएता पनि यो प्रविधिले नजिक बनाई विशेषज्ञ उपचार सेवालाई सहज बनाउने कार्यकारी निर्देशक डा मिश्रले बताउनुभयो । उहाँका अनुसार यो प्रविधिले चाहेको समयमा तथ्याङ्क विश्लेषण गर्न, प्रविधि मार्फत निर्देशित उत्कृष्ट आँखा उपचार सेवा प्रदान गर्न, तथ्याङ्कमा आधारित निर्णय लिन र कुशल एवं उत्कृष्ट बिरामी सेवा प्रवाहलाई जोड दिनेछ ।
सङ्घका अनुसार नेपालमा करिब ६८ लाख मानिस कुनै न कुनै आँखासम्बन्धी समस्यायाबाट ग्रसित छन् । परियोजनाको अन्त्यमा सङ्घद्वारा सञ्चालित १५ आँखा उपचार केन्द्रमार्फत करिब ४ लाख ३३ हजार बिरामीलाई प्राथमिक आँखा उपचार सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ । यसैगरी ८२ हजार आँखाका बिरामीलाई टेलिअफ्थाल्मोलोजीमार्फत विशेषज्ञ परामर्श सेवा प्रवाह गर्ने छ ।
परियोजनाले १५ नेत्र सहायक र ६ नेत्ररोग विशेषज्ञलाई टेलिअफ्थाल्मोलोजीमा तालिम दिई मानव स्रोत विकासमा पनि सहयोग पुर्याउँदै समुदायलाई सशक्त बनाउने अपेक्षा गरिएको छ । साथै परियोजनाले थप १५ आँखा उपचार केन्द्र र दुईवटा विशिष्टिकृत अस्पताललाई जोडेर आँखा स्वास्थ्य पूर्वाधारलाई थप सुधार गर्ने लक्ष्य राखेको छ ।
परियोजनाले दिगो विकासका लक्ष्य ३, ८, ९ र १३ को लक्ष्य प्राप्तिमा प्रत्यक्ष योगदान पुर्याउने महासचिव चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘टेलिमेडिसिनको प्रयोगले स्वास्थ्य सेवा प्रदान गर्दा लाग्ने लागतलाई उल्लेखनीय रूपमा कम गर्दै र गुणस्तरीय आँखा उपचार सेवामा सुधार गर्नेछ । यसले समुदायको आर्थिक वृद्धिलाई सुनिश्चित गर्ने छ ।’ यस परियोजनाले जलवायु परिवर्तनको प्रभाव कम गर्न हरितगृह ग्यास उत्सर्जन घटाउनसमते सहयोग पुर्याउने अपेक्षा समेत लिइएको छ ।
युएई केन्द्रित फाउण्डेशनले विश्वव्यापी रूपमा रहेको अन्धोपना लगायत आँखासम्बन्धी विभिन्न समस्याको रोकथाम गर्ने उद्देश्य प्राप्तिमा तल्लीन रहेको जनाइएको छ ।
यसैगरी सङ्घले कूल ४ करोड ३६ लाख २६ आँखाका बिरामीलाई उपचार सेवा प्रवाह गरिसकेको छ । ५१ लाख ३३ हजार ६ सय ५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ । हाल सङ्घअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, १ सय ५७ आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखा सञ्चालनमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन