+

वन्यजन्तुका लागि जङ्गलमै पोखरी

कैलाली ।  कैलालीका सामुदायिक वनमा वन्यजन्तुको लागि पोखरी निर्माण गरिएको छ ।

जिल्लाको मोहोन्याल गाउँपालिकास्थित बरगदा सामुदायिक वन, जालपा सामुदायिक वन र लम्किचुहाको महिला जागरण सामुदायिक वनमा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामबिचारी ठाकुरले जानकारी दिनुभयो ।
 
ठाकुरका अनुसार नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयको ‘एकीकृत भूपरिधी व्यवस्थापन आयोजना’अन्तर्गत पोखरी निर्माण गरिएको हो । आयोजनाले पोखरी निर्माणसँगै कैलालीको कर्णाली कोरिडोरमा वन जनावर र जैविक विविधता संरक्षणका विभिन्न काम गरेको छ । 
 
कर्णाली करिडोरअन्तर्गत जिल्लाको लम्किचुहा र टीकापुर नगरपालिका, मोहोन्याल र जानकी गाउँपालिका जोडिन्छन् । ती क्षेत्रमा चिसापानी, लम्की र टीकापुर सब–डिभिजन वन कार्यालयमार्फत आयोजना सञ्चालित भएका हुन् ।  
 
आयोजना लुम्बिनी प्रदेशको बाँके राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र, बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र र कम्दी जैविकमार्गका साथै सुदूरपश्चिम प्रदेशको ब्रह्मदेव जैविकमार्ग कञ्चनपुर र कैलालीको कर्णाली जैविकमार्गमा सञ्चालन भइरहेको आयोजनाका फिल्ड व्यवस्थापक प्रकाश थापाले जानकारी दिनुभयो । 
 
थापाका अनुसार यो आयोजना ग्लोबल इन्भाइरोमेन्ट फेसिलिटी (जिइएफ) र वल्र्ड वाइल्डलाइफ फण्ड (डब्लुडब्लुएफ) को सहयोगमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयमार्फत तराई भूपरिधि क्षेत्रमा रहेका संरक्षित क्षेत्र तथा संवेदनशील जैविकमार्ग संरक्षणमा सञ्चालित छन् ।
 
आयोजनाले कर्णाली करिडोरमा सिमसार र घाँसेमैदान व्यवस्थापन, वन्यजन्तु उद्धार तालिम तथा उपकरण वितरण, नर्सरी निर्माण तथा बिरुवा उत्पादन, वन डढेलो व्यवस्थापन गोष्ठी तथा औजार हस्तान्तरण, वन उद्यम र जीविकोपार्जनसम्बन्धी क्रियाकलाप सञ्चालन गरेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ । 
 
वन्यजन्तुका लागि पोखरी निर्माण, वन डढेलो व्यवस्थापनसम्बन्धी उपकरण हस्तान्तरण, विभिन्न तालिम गोष्ठी, वन उद्यम तथा जीविकोपार्जनसम्बन्धी क्रियाकलाप सञ्चालन गरेको सबडिभिजन वन कार्यालय चिसापानीका प्रमुख पूर्णकुमार विष्टले बताउनुभयो । 

आयोजनाको सहयोगमा घाँसेमैदान निर्माणसँगै लम्की सबडिभिजन वन कार्यालय र टीकापुर सबडिभिजन वन कार्यालयमा बिरुवा उत्पादन गरिएका छन् । लम्कीमा एक लाख र टीकापुरमा ७० हजार अम्बा, बकाइनो, गोलमोर, सितलचिनी, निम, अमला, सागुन, कपोक, सिमल, कोइराल, श्रीखण्ड, पारिजात, कागती जातका बिरुवा उत्पादन गरिएको सबडिभिजन वन कार्यालय लम्कीका प्रमुख शेरबहादुर भण्डारीले जानकारी दिनुभयो । 

आयोजना जिल्लामा ५ वर्षका लागि लागू भएकामा ३ वर्ष पूरा भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट