
मोरङ । जिल्लाको धनपालथान गाउँपालिकाको अस्तित्वसँग जोडिएको पुरातात्विक महत्वको धनपालथान संरक्षणको पर्खाइमा रहेको छ । राजा धनपालको नामबाट गाउँपालिकाको नामाकरण गरिए पनि त्यस स्थानको संरक्षण र प्रवर्द्धन नहुँदा ओझेलमा पर्दै गएको हो ।
धनपालथान गाउँपालिकाको वडा नम्बर ७ मा अवस्थित छ । यो ठाउँलाई स्थानीय भाषामा राजा धनपालको रजवाडा भनिन्छ । प्राचीन रजवाडा करिब चार बिघाह क्षेत्रफलमा फैलिएको छ ।
पुरातात्विक महत्व बोकेको यस स्थानको नामबाट साविकको नोचा, कदमाहा, दादरबैरिया, अमाही बरियाती र सोराभाग गाविसलाई समेटेर पुनःसंरचना भएको पालिकाको नाम धनपालथान गाउँपालिका राखिएको राजा धनपालथान संरक्षण तथा विकास समितिका अध्यक्ष सञ्जय सिंहले बताउनुभयो ।
रजवाडा परिसरमा निकै अगाडि बनाइएका टहरा जीर्ण अवस्थामा छन् भने २०५७ सालमा गठन भएको संरक्षण समितिले बनाएको देवी रणकाली र राजा धनपालको सिमेन्टको मूर्तिसमेत टुटेर जीर्ण बनेको उहाँले बताउनुभयो । ।
समितिका अध्यक्ष सिंहका अनुसार यहाँ आसपासमा पुरातात्विक महत्वको कयौँ वस्तु तथा मूर्ति भेटिएका छन् । विसं २०७१ मा स्थानीय किसान रघुसिंह नुनियाले रजवाडा नजिकैको खेतमा हलो जोत्ने क्रममा भगवान विष्णुको धातुको प्राचीन मुर्ति भेट्नुभएको थियो । मूर्ति संरक्षणका लागि ईलाका प्रहरी कार्यालय रङ्गेलीमा जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो ।
‘२०१७ सालमा नजिकै रहेको पोखरी उत्खन्न गर्ने क्रममा धातुका पुराना भाँडावर्तन लगायतका विभिन्न सामग्रि भेटिएपनि हाल ती सामग्री कहाँ छन्, यस विषयमा स्थानीय अनविज्ञ छन्८ अध्यक्ष सिंहले भन्नुभयो ।
धनपालथान–७ का स्थानीय उचितलाल मण्डलले रजवाडा परिसरमा खन्दा करिब डेढ फिट लम्बाइ र चाँैडाइका पुराना माटोका इँटाहरु भेटिने गरेको बताउनुभयो । ‘यहाँ निकै पुरानो संरचना भेटिने गरेका छन् । यस क्षेत्रको उत्खनन गर्नुका साथै यसको संरक्षण र प्रवर्द्धन गरी पर्यटन प्रवर्द्धन गर्न सकिन्छ’ उहाँले भन्नुभयो ।
स्थानीय राजेन्द्र कामतले उत्खनन र अध्ययनसम्म नगरिएकाले राजा धनपाल कुन कालखण्डका को हुन् भन्नेसम्म खुल्न नसकेको बताउनुभयो । ‘प्राचीन विराट राजाको राज्यअन्तर्गत पर्ने यस स्थानमा रहेको मन्दिर विराट राजाले निर्माण गरेको किंवदन्ती छ’ उहाँले भन्नुभयो ।
पुरातत्व विभागले यहाँको अध्ययन अन्वेषण गरी तथ्य पत्ता लगाउनुपर्ने गाउँपालिका अध्यक्ष जिवछप्रसाद गच्छदारले बताउनुभयो । धनपालथान क्षेत्रमा गाउँपालिकाले मन्दिर मनाइसकेको भन्दै मन्दिर परिसरमा पर्खाल घेराबारा गरी मूर्ति स्थापना गरिने उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष गच्छदारले स्थानीय सरकारसँग पर्याप्त बजेट नहुँदा पूर्वाधार निर्माण र संरक्षणमा समस्या भएको बताउनुभयो । उहाँले प्रदेश र सङ्घ सरकारले आर्थिक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
पुरातत्व विभागले यस ठाउँमा १५ वर्षअघि सामान्य अध्ययन गरी मध्यकालीन संरचना भएको हुनसक्ने निष्कर्षसहित विभागमा सूचीकृत गरेको पुरातत्वविद् भाष्कर ज्ञवालीले जानकारी दिनुभयो । उहाँले धनपालगढीमा बाहिरबाट संरचना नदेखिने भएकाले सतहमुनिको अध्ययन ‘जियोलोजिकल सर्वे’ गर्दा पौराणिकता तथ्य स्पष्ट हुने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै