+

भारतीय प्रधानमन्त्रीले अर्को साता रुस भ्रमण गर्ने

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को साता रुस भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्री मोदीले यही जुलाई ८ र ९ मा रुसको भ्रमण गर्नुहुने क्रेमलिनले बिहीबार बताएको छ ।


 मस्कोले युक्रेनमा सैन्य आक्रमण शुरु गरेपछि मोदीको यो पहिलो रुस भ्रमण हुनेछ ।  भारतले रुसी तेलको खरिद बढाएको छ । साथै भारत पश्चिमी प्रतिबन्धमा संलग्न नभए पनि त्यो द्वन्द्वले मस्को र नयाँदिल्लीबीचको सम्बन्धको परीक्षण गरेको छ ।  मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले परम्परागतरूपमा मैत्रीपूर्ण रुस–भारत सम्बन्धको थप विकासको सम्भावनाहरूका साथै अन्तर्राष्ट्रिय र क्षेत्रीय एजेन्डाका सान्दर्भिक मुद्दामा छलफल गर्नुहुने क्रेमलिनले एक विज्ञप्तिमा जनाएको छ । 

रुसी राष्ट्रपति पुटिनले मोदीलाई सम्भावित कूटनीतिक र आर्थिक सहयोगीका रूपमा हेर्नुहुन्छ । रुस पश्चिममा एक्लो भएको छ तर युक्रेनमाथि रुसको आक्रमणले सम्बन्ध जटिल बनाएको छ ।

सन् २०२२ सेप्टेम्बरमा उज्बेकिस्तानमा भएको क्षेत्रीय शिखर सम्मेलनमा पुटिन र मोदीबीचको बैठकमा रुसी राष्ट्रपति पुटिनले मोदीसँग आफूले द्वन्द्वका बारेमा ‘चिन्ता’ रहेको बुझेको र मोदीले यसलाई ‘जतिसक्दो चाँडो’ अन्त्य गर्न चाहेको बताउनुभएको थियो । 

भारतीय नागरिक रुसी सेनासँग ‘सहायक नोकरी’ का लागि भर्ती भएको, केही रुसी सीमावर्ती गाउँमा फसेको र उनीहरूलाई युक्रेनमा लड्नका लागि बाध्य बनाइएको जस्ता समाचार आएपछि यसै वर्षको प्रारम्भमा भारतले रुसमा आफ्ना केही नागरिकलाई रिहा गर्न दबाब दिइरहेको बताएको थियो । भारतले आफ्ना नागरिकसँग ‘यो द्वन्द्वबाट टाढा रहन’ आग्रह गरेको छ ।

नयाँदिल्ली पनि किएभको कट्टर समर्थक भएको छैन । विशेषगरी गत महिना स्वीट्जरल्यान्डमा एक शान्ति शिखर सम्मेलनमा संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्न भारतले अस्वीकार गरेको थियो । विज्ञप्तिमा कुनै पनि शान्ति सम्झौतामा युक्रेनको क्षेत्रीय अखण्डताको सम्मान गर्न आह्वान गरिएको थियो । 

भारत रुसी तेलको प्रमुख खरिदकर्ता पनि बनेको छ । पश्चिममा रुसलाई परम्परागत बजारबाट विच्छेद गराएपछि त्यसलाई भारतले अत्यावश्यक निर्यात बजार उपलब्ध गराएको छ । तर भुक्तानीको समस्या र भारतको पूँजी नियन्त्रणका कारण रुसी निर्यातकर्ताले आम्दानी फिर्ता गर्न नसककेको समाचार आएको छ । 

हालै ऐतिहासिक तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएका प्रधानमन्त्री मोदीले पछिल्लो पटक सन् २०१९ सेप्टेम्बरमा सुदूर पूर्वी शहर भ्लाडिभोस्टकमा भारत–रुस वार्षिक शिखर सम्मेलनका लागि रुसको भ्रमण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट