
सुनसरी । शिक्षण पेशा छाडेर बाख्रापालन गर्दै आएका धरान उपमहानगरपालिका-२० विष्णुपादुकाका राजकुमार राईले त्यसबाट राम्रो आम्दानी गरिरहनुभएको छ । उहाँले व्यावसायिक बाख्रापालनबाट वार्षिक पाँच लाखदेखि छ लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको हो ।
१७ वर्षभन्दा बढी समय शिक्षण पेशा गर्नुभएका राईले चार वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आउनुभएको छ । उहाँले चार वर्षकै अवधिमा तामाखाम गाउँमै सफल व्यवसायीको परिचय बनाउनुभएको छ ।
शिक्षणबाट सोचेजस्तो कमाइ नभएपछि बाख्रापालन रोजेको बताउने राईले अहिले आम्दानीका साथै आत्मसन्तुष्टि पनि प्राप्त भइरहेको बताउनुभयो । ‘आफ्नो पेशा व्यवसाय भनेको फरकै हुँदो रहेछ, त्यसैमा कृषि पेसाको आनन्द बेग्लै छ, कसैको करकापमा बस्नु नपर्ने र स्वतन्त्ररुपमा काम गर्न पाइने भएकाले आम्दानी र आत्मसन्तुष्टि दुवै मिल्दो रहेछ’ उहाँले भन्नुभयो– ‘शिक्षण पेशामा लामो समय काम गर्दा पनि सोचेजस्तो कमाइ भएन । आम्दानी नै नभए पनि आत्मसन्तुष्टि पनि हुने कुरै थिएन ।’
राईको बाख्रा फार्ममा अहिले एक सय २६ बाख्रा, बोका, खसी र पाठापाठी छन् । त्यसमध्ये बोयर, जमुनापारि जातका माउ बाख्रासमेत छन् । उहाँले यहाँ उत्पादन गरेका खसी, बोका, बाख्रा धरान १३ मा रहेको धरान कृषि बजारमा लेगेर बिक्री गरिरहनुभएको छ ।
राई शिक्षण पेसामा रहेका बेला उहाँको परिवारले बाख्रापालन गर्दै आएको थियो । त्यसबेला करिब २० वटा मात्रै बाख्रा थिए । पछि शिक्षण पेसा छाडेर राईले त्यसैलाई व्यावसायिक रुप दिनुभयो । धरान उपमहानगरपालिकाले कृषि अनुदानबाट एउटा बीउ बाख्रा उपलब्ध गराएपछि त्यहीँबाट बाँकी बाख्रा उत्पादन गरेको राईले जानकारी दिनुभयो। ‘पहिला मेरो परिवारमा फूर्सदको समयलाई सदुपयोग गर्दै बाख्रापालन गर्ने गरिएको थियो, त्यसैलाई मैले व्यवसायिक रुप दिएको हुँ । नजिकै जङ्गल भएकाले धेरै सहज भएको छ । यसका साथै आफ्नो जग्गामा अम्म्रिसो खेती पनि गरिरहेको छु’ उहाँले भन्नुभयो ।
राईले अम्म्रिसो बेचेर पनि राम्रै आम्दानी हुने गरेको सुनाउनुभयो । शिक्षण पेशा छाडेर कुनैबेला राईलाई विदेश जाने सोचसमेत नआएको होइन तर आफ्नै देशमा केही गर्नुपर्छ भन्ने मनसायसहित शुरु गरेको व्यवसायबाट हालसम्म पछुताउनु परेको छैन ।
राई भन्नुहुन्छ – ‘परिवारका सदस्यले पनि सहयोग गरिरहेका छन् । विशेषगरी श्रीमतीबाट राम्रो सहयोग पाएको छु । कुनैबेला विदेश जाने सोचसमेत नआएको होइन तर विदेश गएर दुःख गर्नु भन्दा आफ्नो देशमा केही गर्ने भनेर व्यवसाय शुरु गरेको थिए, अहिलेसम्म पछुताउनु परेको छैन । बरु परिवारसँगै बसेर राम्रो आम्दानी र त्योभन्दा बढी आत्मसन्तुष्टि मिलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै