
बागलुङ । पूर्वाधार विकास कार्यालय बागलुङको चालु वर्षको विकास बजेट एक अर्ब छ करोड १७ लाख रुपैयाँ थियो । जेठ सकिँदा पूर्वाधारले ५१ करोड ६३ लाख रुपैयाँ खर्चेको छ । यो ४८ प्रतिशत खर्च हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजनले विनियोजन गरेको आठ करोड ४२ लाख रुपैयाँ बजेटमा ४३ दशमलव तीन प्रतिशतमात्रै खर्च गरेको छ ।
ढोरपाटनस्थित बुर्तिवाङ नयाँ सहरी आयोजनाले चालु वर्ष राखेको लक्ष्य ७ करोड १६ लाख बजेटमा पुँजीगत खर्च ३ करोड ८० लाख छ । सघन सहरी विकास तथा भवन निर्माण आयोजनाले चालु वर्ष खर्चनुपर्ने ६३ करोड ५६ लाख बजेटमा जेठ मसान्तसम्म ३० करोड ६८ लाखमात्रै खर्चेको हो । सडक डिभिजनले चालु वर्ष ७५ प्रतिशत बजेट खर्चेको छ । २६ करोड ९६ लाख बजेटमा जेठ मसान्तसम्म २० करोड २८ लाख रुपैयाँ खर्चेको प्रमुख कोष तथा लेखा नियन्त्रक धर्मभक्त बस्यालले बताउनुभयो ।
उहाँका अनुसार जेठ सकिँदा बागलुङका विकासे कार्यालयको पुँजीगत खर्च ५५ प्रतिशत छ । यो अवधिमा उनीहरूले चालु खर्च ८५ प्रतिशतसम्म गरेका छन् ।
गलकोट नगरपालिकाको प्रशासकीय भवनको आगामी पुस मसान्तभित्र काम सक्नुपर्ने गरी ठेक्का लगाइएकामा अहिलेसम्म २० प्रतिशत प्रगति भएको छ । १२ करोड ४१ लाख रुपैयाँ खर्चनुपर्ने भवनको म्याद सकिन सात महिना बाँकी रहँदा दुई करोड ४८ लाख पेश्की लगेका ठेकेदारले एक करोड ६७ लाखमात्रै भुक्तानी लगेका छन् । यस्ता धेरै योजना खर्च गर्न नसकेर अलपत्र छन् । कतिपय योजनाको बजेट फ्रिज हुँदा नागरिकले सास्ती खेप्नुपर्ने बाध्यता छ ।
आयोजना सञ्चालन गर्ने सरकारी कर्मचारीले असारमा धेरै रकम खर्च हुने बताउनुभयो । “योजनामा धेरै काम भएका छन्, तर अन्तिम भुक्तानी असारमा हुँदा खर्च बढी देखिन्छ”, सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयका प्रमुख सुनिता श्रेष्ठले भन्नुभयो, “ठेक्कामा लगाएका काम समयमा नसकिँदा खर्च कम देखिएको हो ।” कतिपय कार्यालयले भने सालबसाली काम गर्दा खर्च गर्नै नसकेको श्रेष्ठले बताउनुभयो ।
जिल्लामा सङ्घीय बजेटमार्फत काम गरेका कार्यालयले पनि ६७ प्रतिशतमात्रै प्रगति देखाएका छन् । चालु वर्षका लागि आएको एक अर्ब २७ करोड ४८ लाख रुपैयाँ पुँजीगत बजेटमा जेठ मसान्तसम्म ८१ करोड ८५ लाख रुपैयाँ मात्र खर्चन सकेका हुन् । सोही अवधिमा गण्डकी प्रदेशमातहतका विकासे कार्यालयले एक अर्ब ९० करोड बजेटमारु एक अर्ब चार करोड रुपैयाँ मात्र खर्च गरेका हुन् । जुन ५५ दशमलव २० प्रतिशत हो । चालु वर्षका लागि सरकारले विनियोजन गरेको तीन खर्ब दुई अर्ब पुँजीगत बजेटमा एक खर्ब ३२ करोड रुपैयाँ मात्र खर्च भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै