
म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका २६ जनालाई नौमती बाजा बजाउने र पुख्र्याैली नाचसम्बन्धी तालिम दिइएको छ । मौलिक लोकबाजा, कला र संस्कृतिको संरक्षणका लागि पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले धवलागिरि गाउँपालिकाको आर्थिक सहयोगमा वडा कार्यालयले तालिम सञ्चालन गरेको हो । असार १ गते शनिबार सुरु भएको तालिम सोमबार सकिएको वडासचिव बेदनाथ सुवेदीले जानकारी दिनुभयो ।
संस्कारगत कार्य, सभा, समारोहमा नौमती बाजा बजाउने र पुख्र्याैली नाच्ने कलाकार अभाव हुन थालेपछि युवायुवतीलाई तालिम दिइएको उहाँले बताउनुभयो । मल्कवाङ अल्पसङ्ख्यक छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको बस्ती हो । यहाँ मगर र दलित समुदायको पनि बसोबास छ ।
पुख्र्यौैली नाच्ने र सोरठी गाउने छन्त्याल र मगर समुदायको मौलिक परम्परा हो । पछिल्लो समय वैदेशिक रोजगारीका कारण पलायन हुने र पुराना पुस्ताका कलाकार निधन भएपछि पुख्र्यौली नाच सञ्चालन गर्न कलाकारको अभाव हुन थालेपछि नयाँ पुस्तालाई सिकाइएको धवलागिरि–५ का वडाध्यक्ष अमर छन्त्यालले बताउनुभयो ।
एघार जना सहभागी नौमती बाजा तालिमको दीपेन्द्र परियार र जीवन परियारले सहजीकरण गर्नुभएको थियो । उहाँहरूले दमाह, कर्णाल, ढोलकी, सहनै, ट्याम्को, झ्याली, नरसिङ्गालगायत बाजा बजाउने सीप सिकाउनुभएको थियो ।
सोह्र जना सहभागी पुख्र्याैली नाच तालिममा दिलीप छन्त्यालले सोरठी गाउने, सरस्वती जगाउने, सुख र दुःखको अवस्थामा नाच्ने तरिका सिकाउनुभएको थियो । कछाड, सर्ट, पेटी, भाङ्ग्रा, टोपीमा सजिएर कम्मरमा मादल भिरेर नाच्नेलाई मादले भनिन्छ । महिला र पुरुषको समूहले सोरठी गीत गाउँछन् ।
मादलेसँगै नाच्ने मारुनीले गुनियो, टिकिया, पटुकी, पछ्यौरी, कानमा ढुङ्ग्री, पोते, कन्ठीलगायत गहना लगाउँछन् । मौलिक कला, संस्कृति संरक्षण गर्न गत वर्ष मल्कवाङका नौमती बाजा खरिद गरेर उपलब्ध गराइएको थियो । यसपालि पोशाक उपलब्ध गराइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै