
झापा । ‘ब्लडमनी’ तिरेर घर फर्किन सफल कनकाई–४ का ३३ वर्षीय सुवास राउत वैदेशिक रोजगारीका क्रममा बिताएका त्रासदीपूर्ण क्षणहरु बिर्सन चाहनुहुन्छ । किनकि, उहाँ अब स्वदेशमै रोजगारीको लयमा फर्किनुभएको छ ।
“अब विदेश जान्न”, हालै स्वदेश फर्किनुभएको उहाँ भन्नुहुन्छ, “गाउँकै पानी उद्योगमा सानो काम गर्न थालेको छु । भविष्य के–कस्तो होला भन्न सकिन्न, तर अब स्वदेशमै गरिखाने हो ।” पाँच वर्षअघि कतार जानुभएको उहाँलाई केही वर्षमै साथी हत्याको झुठो आरोपमा अदालतले मृत्युदण्डको फैसला सुनायो । ब्लडमनीबापत रु ९० लाख तिर्नुपर्ने भनी अदालतले दिएको विकल्प पनि असम्भव जस्तै थियो ।
मृत्युको मुखमा पुगिसकेका राउतलाई गाउँलेहरुले बचाएर एक महिना अघि स्वदेश ल्याएका छन् । गाउँलेले चन्दा उठाएर ब्लडमनी तिरेपछि मृतकका परिवारले उहाँलाई माफी दिएका थिए भने त्यसकै आधारमा अदालतले उहाँलाई स्वदेश फर्किन अनुमति दिएको थियो ।
स्वदेश फर्केपछि उहाँ गाउँकै एउटा पानी उद्योगमा काम गर्न थाल्नुभएको छ । उहाँकी पत्नी कुमारी राउत घर निर्माणको काममा मजदुरी गर्दै आउनु भएको छ । राउत दम्पतीका एक छोरी र एक छोरा छन् । बाह्र वर्षीया छोरी र आठ वर्षीय छोरा स्थानीय विद्यालयमा क्रमशः सात र एक कक्षामा पढ्दैछन् ।
आर्थिक अवस्था दयनीय
राउत परिवारको आर्थिक अवस्था दयनीय छ । खेती किसानी गर्ने जग्गा जमिन केही नभएका कारण छोराछोरी पढाउने र घरको गर्जो टार्ने उद्देश्यका साथ सन् २०१७ मा उहाँ कतार जानुभएको थियो । कतारमा उहाँले पानी र फर्निचर उद्योगमा श्रमिकको काम गर्नुभयो ।
विदेशको आर्जन घर पठाउन थालेको केही अवधिमै उहाँ जेल पर्नुभयो । त्यसपछि उहाँमा बाँचेर घर फर्किन पाइएला भन्ने आश नै मरिसकेको थियो । उहाँकी पत्नी कुमारी राउतले ज्याला मजदुरी गरेर छोराछोरीको पालनपोषण र पढाइको जोहो गर्नुभयो । गाउँलेले सहयोग नजुटाएको भए परिवारले ब्लडमनी बुझाउने अवस्था नरहेको उहाँले बताउनुभयो ।
बस्नका लागि कनकाई–४ को एक कठ्ठा ऐलानी जग्गामा सानो भुइँघर छ । त्यसको धनीपुर्जा कहिले पाइने हो टुङ्गो छैन । “वडा कार्यालयमा जग्गाको धनीपुर्जा पाउँ भनेर निवेदन दिएका छौँ”, कुमारी राउतले भन्नुभयो ।
उहाँले पति कतारको जेलमा परेपछि घर चलाउन ४ लाख जति ऋणमा परेको बताउनुभयो । सुवास कतारको जेलमा परेको खबर सुनेर आमा दुर्गामाया राउतको मृत्यु भएको थियो । आमाको काजकिरिया उहाँले स्वदेश फर्केर आएपछि गर्नुभयो ।
यसरी सम्भव भयो पुनर्जीवन
कतारस्थित आफ्नो डेरामा २०७६ सालको चैततिर साथीहरुको जमघटमा झगडा हुँदा खोटाङ जिल्लाको ऐँसेलुखर्क–५ का लामाकाजी राईको दुःखद् निधन भएको थियो । राई र राउत एउटै कोठामा बस्ने अत्यन्त मिल्ने साथी थिए ।
नुहाएर कोठामा आउँदा राईको शरीरमा छुरी गाडिएको अवस्था थियो भने अरु साथीहरु भागिसकेका थिए । साथी बचाउन खोज्दा लागेको फिङ्गर प्रिन्टका आधारमा अदालतले राउतलाई मृत्युदण्डको फैसला सुनाएको थियो ।
कहिल्यै मदिरा नखाने र झैझगडा नगर्ने स्वाभावका राउतलाई यस्तो अभियोग लागेको विषयमा गाउँलेलाई पत्यार लागेको थिएन । कतारमा सम्पर्क गर्दा राउतले आफू निर्दोष रहेको बताएपछि कनकाई–४ का तत्कालीन वडाध्यक्ष गोविन्द पौडेलको संयोजकत्वमा बचाउने अभियान सुरु गरिएको थियो ।
सोही अभियानले खोटाङ गएर मृतकको परिवारसँग सम्पर्क गरेको कनकाई–४ का वर्तमान वडाध्यक्ष रोशन सुवेदीले बताउनुभयो । “अभियानका साथीहरुले मृतकका परिवारलाई भेटेर ब्लडमनीबापतको रकम रु १५ लाख बुझाउने सहमति गर्नुभयो”, वडाध्यक्ष सुवेदीले भन्नुभयो, “राउत निर्दोष थिए भन्ने कुरा राई परिवारलाई पनि महसुस भएको रहेछ । एउटा साथीको मृत्यु भयो, अर्को साथीलाई पनि किन जेलमा सडाउने भन्ने कोणबाट छलफल हुँदा राई परिवारसँग सहमति भएको हो ।”
ब्लडमनी जुटाउन ‘राउत बचाउ अभियान’ले स्वदेश र विदेशमा रहेका नेपालीबाट रकम सङ्कलन गरेको थियो । अभियानबाट रु २० लाख २४ हजार छ सय ५० सङ्कलन भएको र ब्लडमनी बुझाएर बचत रहेको रु २ लाख ५० हजार स्थानीय कनकाई बालविकास केन्द्रलाई सहयोगबापत हस्तान्तरण गरिएको अभियानका सचिव किरण दवाडीले बताउनुभयो ।
सुवासलाई मृत्युदण्डबाट बचाएर स्वदेश फर्काउन कनकाई नगरपालिका, स्थानीयवासी, एनआरएन, कतार दूताबास लगायतबाट सहयोग प्राप्त भएको कनकाइ नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेल बताउनुहुन्छ । “उहाँ निर्दोष हुनुहुन्थ्यो, त्यसैले ब्लडमनी जुटाएर फर्काउन केही सहज भयो”, नगरप्रमुख पोखरेल भन्नुहुन्छ, “नत्र ब्लडमनी जुटाउन नसकेर विदेशको जेलमा अहिले पनि कष्टपूर्ण जीवन बिताइरहनुभएका थुप्रै नेपाली हुनुहुन्छ ।”
तीन वर्ष तीन दिन कतारको जेलमा बसेर घर फर्किनुभएका सुवास राउतको स्वास्थ्य अवस्था अहिले सामान्य छ । उहाँ पानी उद्योगको नियमित कामकाजमा लागिरहनुभएको छ । उहाँले आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा