
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको खुला मञ्च खेल मैदानलाई फराकिलो बनाउन क्षेत्रफल विस्तार गरिएको छ ।
खेल मैदान परिसरमा रहेको बेनी भगवती मन्दिरको पर्खाललाई स्थानान्तरण गरेर खेलमैदानको लम्बाई बढाएर मापदण्डअनुसारको बनाइएको हो । एघार/एघार जना फुटबल खेलाउन मिल्ने बनाउन मन्दिरको पर्खाललाई तीन मिटरपछि सारेर खैल मैदानको लम्बाइ सय मिटर बनाइएको बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो ।
‘यसअघि ९७ मिटर भएको बेनी खुला मञ्चको खेल मैदानको लम्बाइ विस्तार गरेर सय मिटर बनाएका छौँ’ उहाँले भन्नुभयो– ‘३८ मिटर चौडाइ भएको खेल मैदानलाई ४५ मिटर चाक्लो बनाउन म्याग्दी नदीको किनारमा पर्खाल उठाएर प्याराफिट बनाइसकिएको छ ।’
कालीगण्डकी नदीतर्फ खेलमैदान विस्तार गर्न पिल्लर उठाइएको र प्यारापिट बनाउन प्रदेश, सङ्घीय सरकारसँग बजेट प्रस्ताव गरिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । खेल मैदानको क्षेत्रफल विस्तार गर्न बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ विनियोजन गरेको थियो ।
बजेटबाट खेल मैदानमुनि कालीगण्डकी र म्याग्दी नदीको दोभानमा दुई कोठे मलामी घर र मन्दिर परिसरको पर्खाल सार्ने काम अन्तिम चरणमा पुगेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । मलामीघरको माथिल्लो भागमा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीमार्फत ११ वटा सार्वजनिक शौचालय निर्माण गर्न लागिएको छ ।
‘बेनी मिनी रङ्गशाला’ म्याग्दी जिल्लाको प्राथमिकता प्राप्त र बेनी नगरपालिकाको गौरवको आयोजना हो । यसअघि म्याग्दी नदीको किनारतर्फ एक सय पाँच मिटर लामो र पाँच मिटर अग्लो पर्खाल बनाएर त्यसमाथि करिब सय मिटर लामो प्यारापिट बनाइएको थियो ।
दर्शक बसेर खेल अवलोकन गर्ने प्यारापिटको बाहिरी भागमा बल बाहिर जान नदिन र अग्लो तारजाली लगाइएको छ । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्यारापिट बनाउन विसं २०७४ मा ९ करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो ।
फुटबल, क्रिकेट र एथ्लेटिक्स खेलको अभ्यास गर्ने र प्रतियोगिता सञ्चालन गर्ने एकमात्र मैदान खुला मञ्च हो । जिल्लास्तरीय मेला, महोत्सव, सभा, समारोह, सांस्कृतिक कार्यक्रम र सम्मेलन यही हुने गर्छ ।
कालीगण्डकी किनारतर्फ करिब ५० मिटर लामो प्यारापिट बनाउन पिल्लर ठडाइएको छ । दर्शक बस्ने चार तहको प्यारापिट बनाउने योजना छ । हाल ९/९ जनाको फुटबल खेलाइने खेलमैदान विस्तार गरेपछि ११/११ जनाको टिम खेलाउन सकिन्छ । हाल फुटबल खेल्दा खेलाडीले फालेको बल खोलामा पुगेर हैरान हुन्छ ।
विसं २०५१ मा तत्कालीन सांसद निल पुनले सांसद विकास कोषबाट रु एक लाख बजेट विनियोजन गरेर खुलामञ्चलाई व्यवस्थित बनाउन शुरु गरिएको थियो ।
आव २०७७/७८ र ०७८/७९ मा बजेटविहीन हुँदा अलपत्र बनेको बेनी खेलमैदान योजनालाई पूर्णता दिन पछिल्लो दुई आवमा ५०÷५० लाख रुपैयाँ व्यवस्थापन गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन