
सुर्खेत । कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइनको म्याद पुनः ९ महिना थप गरिएको छ । आयोजनाको सम्झौता २०८१ पुस १६ गतेसम्मका लागि थप गरिएको आयोजना प्रमुख रवि चौधरीले जानकारी दिनुभएको छ ।
७० करोड रुपैयाँ मा ठेक्का पाएकोे भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले २०७७ असारदेखि काम शुरुवात गरेको थियो । आयोजना निर्माणका लागि छ हजार रुख कटानका लागि टाँचा लगाइएको आयोजना प्रमुख चौधरीले बताउनुभयो । बाँके र बर्दिया जिल्लामा पर्ने राष्ट्रिय निकुञ्जमा विद्युत् विस्तार गर्नुपर्ने भएकाले रुख कटान हुने प्रमुख चौधरीले बताउनुभयो ।
विसं २०७९ असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रूख कटान निर्णय गरेको थियो । मन्त्रिपरिषदबाट निर्णय भए पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमति आउन समय लागेका कारण काम अघि बढ्न नसकेको उहाँले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को निर्णयानुसार रूखमा छपान कार्य भने सकिएको छ ।
सुर्खेतको वीरेन्द्रनगर–११ सुब्बाकुना र बाँकेको बैजनाथमा प्रसारण लाइन निर्माण हुने क्षेत्रमा अझै विवाद हल हुनसकेको छैन । विवाद समाधानका लागि विभिन्न चरणमा सरोकारवालासँग छलफल गरिएको भए पनि अझै निकास आउन सकेको छैन । विद्युत् लाइन विस्तार गर्दा वीरेन्द्रनगरको सुब्बाकुना र बाँकेको बैजथानस्थित बस्ती प्रभावित हुने भएपछि त्यहाँका नागरिकले अवरोध गरेर विकल्पसमेत मागेका हुन् ।
विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार बैजनाथ गाउँपालिकाको वडा नम्बर १ गाभर र वडा नम्बर ४ को बानियाँभार हुँदै लाइन विस्तार हुने उल्लेख छ । प्रसारण लाइन निर्माण गर्दा स्थानीयवासीलाई उचित मुआब्जा दिएर विवाद समाधान गर्न पहल भइरहेको आयोजनाको दाबी छ । पटकपटक म्याद थप्दा पनि विवाद समाधान तथा निर्माणकार्यले गति नलिँदा कर्णालीमा विद्युत्को समस्या जहाँको तहीँ छ ।
हालसम्म विद्युत् प्रसारण लाइन विस्तारको ७० प्रतिशत प्रगति हासिल भएको छ । एक सय पाँचवटा फाउण्डेसन निर्माण गरिएको छ भने दशवटा फाउण्डेशन बनिरहेका छन् । हालसम्म २५ किलोमिटर तार तान्ने काम सकिएको छ । सुर्खेतको सुब्बाकुनामा सबस्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
चार सय केभी निर्माण गर्ने सरकारको उद्घोष
सरकारले आगामी आवबाट चार सय केभी प्रसारण लाइन निर्माण सुरु गर्ने बताएको छ । भेरी र कर्णाली करिडोरामा चार सय केभी प्रसारण लाइन निर्माण गर्ने सरकारको लक्ष्य छ । चार सय केभी प्रसारण लाइन एक सय ५० केभी प्रसारण लाइनमा ल्याएर जोडिने छ । नलगाड, ताक्सुगाड र जगदुल्ला जलविद्युत् आयोजना निर्माण भएमा उक्त विद्युत् मैनतडास्थित चार सय केभीको सबस्टेशनमा जोडिने लक्ष्य लिएको छ । नलगाडको पिपीए नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशसँग भइसकेको छ ।
जगदुल्लाको पिपीए बाफीकोटस्थित सबस्टेशनमा भए पनि पुनः दानीपिपलस्थित चार सय केभीको सबस्टेशनमा हुने भएको छ । त्यस्तै कर्णाली करिडोर हुँदै चार सय केभी प्रशारण लाइन निर्माण हुनेछ । साविकको कर्णालीलगायत अन्य दैलेख लगायतका जिल्लामा विद्युतीकरण गर्न यो काम हुने भएको हो । भेरी करिडोरमा निर्माण हुने चार सय केभी प्रसारण लाइन डबल सक्र्रिटको छ । दुई हजार पाँच सय मेगावाट विद्युत् यही प्रसारणमार्फत जोड्ने लक्ष्य छ । एक सय ५० किलोमिटर लामो प्रसारण लाइन निर्माण हुने राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा नेत्रप्रसाद ज्ञवालीले बताउनुभयो ।
बत्तीस केभीले कर्णाली हैरानीमा
पटकपटक विद्युत् अवरोध हुँदा कर्णालीमा हैरानी भएको छ । ३२ केभी प्रसारण लाइनको विद्युत् पुराना भएकाले पटकपटक समस्या आउने गरेको छ । दिनमा कम्तीमा सातपटकभन्दा बढी अवरोध हुँदा समस्या हुने गरेको हो । हावापानी चल्नेबित्तिकै पूरै लाइन अवरुद्ध हुने गरेको छ ।
कर्णालीका उद्योगी, व्यवसायी विद्युत्को मारमा परेका छन् । बत्ती आइहाले पनि ‘लो भोल्टेज’का कारण काम गर्न गाह्रो हुने गरेको वीरेन्द्रनगर नगरपालिका–१० का मोहनजङ्ग शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘बत्ती आए पनि पङ्खा घुम्दैन, पानी तान्ने मोटर नै चल्दैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन