+

पर्यटकीय गाउँ सिक्लेसमा बसपार्क बन्दै

गण्डकी । कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा निर्माणाधीन बसपार्कको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिका र गण्डकी प्रदेश सरकारको बजेटबाट बसपार्क बन्न लागेको वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिनुभयो । 

उहाँका अनुसार गत आर्थिक वर्षमा गाउँपालिकाको रु २५ लाख बजेटबाट बसपार्कको काम सुरु गरिएकामा चालु आवमा प्रदेश सरकारले रु ५० लाख बजेट विनियोजन गरेको थियो । “सिक्लेसमा पार्किङको समस्या थियो, ढलानसहितको व्यवस्थित बसपार्क बनेपछि अब स्थानीय र पर्यटकलाई लाभ पुग्नेछ”, उहाँले भन्नुभयो, “पोखरा जोड्ने सडक पनि स्तरोन्नति भएपछि सिक्लेसको यात्रा सहज बनेको छ ।”

निर्माणको जिम्मा पाएको लिएको पावर टेक इन्जिनियरिङका सञ्चालक हिमाल गुरुङले आगामी असारभित्रमा बसपार्कको काम सकिने बताउनुभयो । “ढलान र पर्खालको काम सकिएको छ, केही ठाउँमा ग्याविन जाली, बसपार्क जोड्ने सडक ढलानको काम बाँकी छ”, उहाँले भन्नुभयो । प्रदेश सरकारको सहरी विकास तथा भवन कार्यालयमार्फत सिक्लेसमा सडक स्तरोन्नति, नाली निर्माणलगायतका काम भइरहेको वडाध्यक्ष गुरुङले बताउनुभयो ।

सडक पुगेको दुई दशकपछि सिक्लेसमा व्यवस्थित बसपार्क निर्माण गरिएको हो । गाउँपालिकामार्फत बसपार्कलाई चाहिने अन्य पूर्वाधारका लागि प्रदेश सरकारसँग बजेट माग गरिएको वडाध्यक्ष गुरुङले बताउनुभयो । “टिकटघर, यात्रु विश्रामस्थल, शौचालयलगायत संरचनाका लागि थप बजेटको आवश्यकता छ”, उहाँले भन्नुभयो, “अहिले कम्तीमा बसपार्क ढलानसम्म भएको छ, यसले  पनि पार्किङमा धेरै सहजता थपेको छ ।”

सिक्लेस आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गन्तव्य भएकाले पछिल्लो समय त्यहाँ पर्यटकीय गतिविधि बढ्न थालेका छन् । पर्यटकसँगै स्थानीयवासीको सुविधाका लागि सडकलगायतका पूर्वाधार विकासका काममा प्रदेश सरकार र गाउँपालिकाले लगानी बढाएका छन् ।

प्रदेश सरकारको बजेटबाट पोखराको काहुँखोलाबाट सिक्लेस जोड्ने सडक कालोपत्रको काम पनि तीव्र रूपमा भइरहेको छ । काहुँखोलाबाट मादी–७ थाकसम्मको १० किमी सडक कालोपत्र भइसकेको छ । थाकबाट मादी–६ चिप्लीसम्मको १० किमी खण्ड कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको पूर्वाधार विकास कार्यालय कास्कीले जनाएको छ । 

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत उक्त सडक स्तरोन्नतिको काम भइरहेको पूर्वाधार विकास कार्यालयका कन्सल्ट्यान्ट इन्जिनियर धनप्रसाद सुवेदीले जानकारी दिनुभयो । 

उहाँका अनुसार दोस्रो चरणमा थाकबाट चिप्लीसम्मको १० किमी सडक कालोपत्र गर्न लागिएको बताउनुभयो । “अहिले ग्रेड र सब–बेस मिलाउने काम भइरहेको छ, निर्माण कम्पनीले पनि समय तालिकाअनुसार नै काम गरिरहेको छ”, उहाँले भन्नुभयो । चिप्लीबाट सिक्लेससम्मको बाँकी खण्ड कालोपत्रका लागि आगामी आवमा समपूरक योजनामा समावेश गर्न प्रस्ताव अगाडि बढाएको कार्यालयले जनाएको छ । 

प्रदेश सरकारले सिक्लेस हुँदै कास्की, लमजुङ र मनाङको सङ्गमस्थल दुधपोखरीसम्म सडक सञ्जाल पुर्याउने गरी चार वर्षअघि उक्त आयोजना सुरु गरेको थियो । वडाध्यक्ष गुरुङले सडकले सिक्लेससहित खिलाङ, चिप्ली, ताङतिङ, कोरी, कपुचेलगायतका गन्तव्यमा पुग्ने पर्यटकको यात्रा सहज हुने बताउनुभयो । “सिक्लेस कास्कीकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो, सडक स्तरीय बन्यो भने अझ धेरै पर्यटक यहाँ भित्र्याउन सकिन्छ”, उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट