
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–१ हात्तीवाङमा घरबास व्यवसाय फस्टाउँदै गएको छ । सिराइचुलीमा पर्यटकको आगमन बढेसँगै हात्तीवाङमा घरबास व्यवसाय फस्टाएको हो ।
सिराइचुली आउने पर्यटक बढ्दै गएपछि दैनिकजसो पर्यटक घरबासमा बास बस्न आउने गरेको सिराइचुली घरबास (होमस्टे) हात्तीवाङका सञ्चालक जगदिश्वर पुरीले बताउनुभयो । उहाँले भन्नुभयो, “पाहुना दैनिकजसो बास बस्न आउनुहुन्छ, पछिल्लो समय यहाँ स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढेको छ ।”
समुद्र सतहबाट एक हजार नौ सय ४५ मिटर उचाइमा रहेको सिराइचुलीबाट सूर्योदय अवलोकन गर्न पर्यटक आउने गरेका छन् । हात्तीवाङमा बास बसेर बिहान सूर्योदय हेर्न पर्यटक सिराइचुली पुग्ने गर्छन् । हात्तीवाङबाट पनि समयको सडक यात्रापछि आधा घण्टाको पैदल यात्रापछि सिराइचुली पुग्न सकिन्छ ।
घरबास सञ्चालकसमेत रहनुभएका इच्छाकामना–१ का वडाध्यक्ष सन्तबहादुर राना मगरले पछिल्लो समय पर्यटकको आगमनमा वृद्धि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दैनिक आउने पर्यटकको तथ्याङ्क राख्ने गरिएको छैन, तर सिराइचुली आउने पाहसनाको सङ्ख्या बढ्दै गएको छ ।” सिराइचुली आउने पर्यटक बढेसँगै हात्तीवाङका घरबास व्यवसाय फस्टाउँदै गएको वडाध्यक्ष राना मगरको भनाइ छ । सिराइचुलीसम्म पुग्न सिँढीसहितको बाटो निर्माण गरिएको छ ।
सिराइचुलीको फेदसम्मै सडक पुगेको छ । पैदल दूरी छोटिँदा पर्यटकलाई आवतजावत गर्न सहज भएको छ । हात्तीवाङमा हाल चार घरबास र एउटा होटल सञ्चालनमा छ । तर यहाँ आउने पाहुनाका लागि बास बस्न पर्याप्त नभएको घरबास सञ्चालक जगदिश्वर पुरी बताउनुहुन्छ ।
घरबासमा पाहुनाको रोजाइअनुसार स्थानीय परिकारसमेत खुवाउने गरिएको छ । गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले पर्यटकको आगमन बढेसँगै घरबास सञ्चालन गर्न गाउँपालिकाले स्थानीयलाई प्रोत्साहन गर्न थालेको बताउनुभयो । अनुदानसहित स्थानीयलाई तामिलसमेत प्रदान गरिँदै आएको उहाँको भनाइ छ ।
गाउँपालिकाले पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको वडा नम्बर २ मायाटार आसपासमा रहेका घुर्केश, डाँडा गाउँलगायतका गाउँमा पनि घरबास सञ्चालनको तयारी गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै