
धादिङ । धादिङको सिद्धलेक गाउँपालिकामा कृषि फार्म र सडक निर्माणको नाममा अवैध रुपमा सञ्चालन भइरहेको उत्खनन् तत्काल रोक्न धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले सरोकार भएकालाई निर्देशन दिनुभएको छ ।
अवैध रुपमा खानी सञ्चालन गरी बालुवा निकासी गरेको र पालिकामा तिर्नुपर्ने वातावरण शुल्कसमेत नबुझाएपछि स्थानीय तीन दल र बहुमत कार्यपालिका सदस्यले छानविन गरी आवश्यक कारबाही गर्न माग गरेसँगै प्रमुख जिल्ला अधिकारी पाण्डेले काम तत्काल रोक्न प्रहरीलाई निर्देशन दिनुभएको हो ।
सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सविता अर्यालको अध्यक्षतामा बहुमत कार्यपालिका सदस्यको बैठकले विभिन्न आठ वटा निर्णयको प्रतिलिपिसहित अनुसन्धान र कारबाही गर्न अनुरोध गरेको छ ।
गाउँपालिका कमिटी अन्तरगत नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष रामहरि बराकोटी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्प थपलिया र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष ईश्वरी अर्यालले हस्ताक्षर गरेको छ बुँदे ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी पाण्डेलाई बुझाइएको माओवादी केन्द्रका अध्यक्ष थपलियाले जानकारी दिनुभयो ।
गाउँपलिकाले विसं २०८१ जेठ १८ गते पिपलटार एकीकृत कृषि फार्म प्रालि सिद्धलेक–७ लाई प्रचलित ऐन तथा कानुनको पालना गरी कृषि कार्य गर्न मात्र अनुमति दिइएको थियो ।
फार्मले त्यस क्षेत्रमा बालुवा भएको ठाउँ उत्खनन् गरी दैनिक अवैध बालुवा निकासी गर्ने, कृषि फार्म सञ्चालन नगर्न दिइएको, अनुमतिको नाममा अवैध खानी सञ्चालन भइरहेको भन्दै कानुन विपरीतका कार्य बन्द गर्न पालिकाका अध्यक्षसहित अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि प्रमुख जिल्ला अधिकारीसमक्ष अनुरोध गरिएको उहाँले बताउनुभयो ।
अध्यक्षबाहेक बहुमत कार्यपालिका सदस्यले पिपलटार अमनटारमा कृषिजन्य कार्य गर्ने क्रममा (जमिन सम्याउँदा) निस्केको भनिएको माटोजन्य पदार्थ निकासी गर्दा पालिकामा कानुन बमोजिम कर तिर्नुपर्नेमा नतिरेकाले अवैधानिक उत्खनन् निकासी बन्द गर्न र निकासी गर्दा पालिकालाई राजश्व तिर्न माग गरिएका एकीकृत समाजवादी गाउँपालिका कमिटीका अध्यक्ष अर्यालले बताउनुभयो ।
निजी जग्गाको माटोजन्य वस्तु निकासी गर्दा वाग्मती प्रदेश सरकारको आर्थिक ऐन २०८० अनुसार प्रतिक्यूफिट ३ रुपैँया ५० पैसाका दरले पलिकामा कर तिर्नुपर्नेमा प्रावधान छ । कर नतिरेपछि जेठ १९ गतेको सर्वदलीय बैठकमा बसेर छलफल भएको थियो ।
‘पालिका अध्यक्षले त्यस बापतको रकम तिराउँछु भनेपनि पालिकामा जम्मा नभएकाले पालिकालाई हानीनोक्सानी पु¥याएको भन्दै कानुन विपरीतका कार्य बन्द गर्न माग गरेका हौँ”, एमाले गाउँपालिका कमिटिका अध्यक्ष बराकोटीले भन्नुभयो ।
गतवर्ष वाग्मति प्रदेश सरकारले पिपलटार अमनटार सडक निर्माण गर्न १० लाख रुपैयाँ दिएको थियो । सडक निर्माण गर्दा निस्किएको माटोजन्य पदार्थको निकासी शुल्क रु १८ लाख एक हजार आठ सय पालिकाको खातामा जम्मा गर्नुपर्नेमा पिपलटार अमनटार सडक स्तरोन्नति आयोजना उपभोक्ता समितिले ६८ हजार २ सय रुपैयाँ मात्र जम्मा गरेकाले बाँकी रकम तत्काल जम्मा गर्नसमेत माग गरिएको अध्यक्ष बराकोटीले बताउनुभयो ।
फकुर्केखोलाबाट बुङचुङसम्मको क्षेत्रमा सात वटा गोठ निर्माण गर्न, सिसिटिभी क्यामरा राख्न र सडक छेउमा बिरुवा रोपेर हरियाली सडक बनाउन पालिकाले गरेको ठेक्कामा केन्द्र र प्रदेश सरकारको अनुदान कटौती भएकाले गर्न नसकिने अवस्थामा ठेक्का लगाएको भन्दै उक्त ठेक्का रद्द गर्न प्रमुख जिल्ला अधिकारीलाई राजनीतिक दल र जनप्रतिनिधिले छुट्टाछुट्टै माग गरेका छन् ।
ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी पाण्डेले अवैध रुपमा भएको उत्खनन् र कृषि फार्मको नाममा भएको उत्खनन् तत्काल रोक्न र पालिकाले दिएको अनुमति समेत लिएर छलफलमा उपस्थित गराउन प्रहरीलाई तत्काल निर्देशन दिनुभएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै