
म्याग्दी । बेनी नगरपालिका–२ खबराका तेजेन्द्र कार्कीले धान रोप्ने खेतमा केराखेती विस्तार गर्नुभएको छ । ६ वर्षदेखि व्यावसायिक केराखेती शुरु गर्नुभएका कार्कीले करिब २० रोपनी खेतबारीमा खेती विस्तार गर्नुभएको छ ।
यस वर्ष बगरफाँटमा रहेको खेतमा पनि केराखेती विस्तार गर्ने योजना रहेको कार्कीले बताउनुभयो । खेती गर्न सजिलो, लगानी धेरै नहुने र उत्पादन भएको केराको सहज बजारीकरण हुने भएकाले परम्परागत अन्नबाली छाडेर नगदेबालीको रुपमा केराखेती विस्तार गरेको उहाँको भनाइ छ । कार्कीले अहिले वार्षिक ६ लाख रुपैयाँ बढी आम्दानी हुने गरेको जानकारी दिनुभयो ।
कार्की जस्तै स्थानीय चन्द्रबहादुर घिमिरेले पनि १० रोपनी बारीमा केराखेती गर्नुभएको छ । धानखेती गर्दा धेरै खेताला चाहिने र लगानी अनुसारको उत्पादन नहुने भएपछि केराखेतीमा लागेको उहाँले बताउनुभयो । ‘केरा लगाएको दुई वर्षमा फल दिन शुरु हुन्छ । एउटा बोट लगाएपछि आफैँ घारीको रुपमा विस्तार हुन्छ । यो वर्ष थप ३ रोपनी खेतमा केरा लगाउन शुरु गरेको छु, अहिले मासिक रुपमा १५ देखि २० हजार रुपैयाँको केरा बिक्री हुँदै आएको छú उहाँले भन्नुभयो ।
खबरा क्षेत्रमा चन्द्रबहादुर कार्की, सोवित शर्मा, प्रेमबहादुर कुँवर, राजीप घिमिरे, डोलेन्द्र सापकोटा, गणेश जिसी, रामकृष्ण खड्का, ध्रुव सापकोटा, मानबहादुर थापालगायतले प्रत्येकले १० रोपनी बढीमा केरा खेती गर्दै आउनुभएको छ ।
बेनी नगरपालिका–२ को सानो खबरा, ठूलो खबरा, अम्बोट, रोटेपानी, बगरफाँटलगायत बस्ती केराखेतीको पकेट क्षेत्र मानिन्छ । यो क्षेत्रका करिब २ सय ५० किसानले ६ सय ५० रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक रुपमा केराखेती गर्दै आएका खबरा केरा पकेट विस्तार कार्यक्रमका संयोजक सोवित शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सिङ्गो गाउँ नै केराखेतीमा लागेपछि यहाँका स्थानीयको आर्थिकस्तरम सुधार हुँदै गएको छ ।
गत वर्षमा केरा बिक्री गरेर गाउँमा ३ करोड भित्रिएको संयोजक शर्माले जानकारी दिनुभएको छ । ‘गाउँमा केराखेतीको लहर चलेको छ, उपयुक्त उर्भर भूमि भएकाले पनि केराखेतीमा लागेकाहरु उत्साहित बनेका छन्’ उहाँले भन्नुभयो– ‘उत्पादन भएको केरा खरिद गर्न बेनी र बागलुङ बजारबाट व्यापारी गाउँसम्म आइपुग्छन् ।’
यस क्षेत्रमा चिनीचम्पा, हजारिया, धुर्से, मुरेलगायत प्रजातिका केरा उत्पादन हुने गरेको संयोजक शर्माले बताउनुभयो । उहाँका अनुसार खबरा क्षेत्रमा परम्परागत रुपमा घरायसी प्रयोजनका लागि केराखेती हुँदै आएकामा एक दशक अघिबाट केराको व्यावसायिक खेती शुरु भएको हो ।
गाउँका अधिकांश किसानले धान, गहुँ, मकै लगायतका परम्परागत खाद्यबाली लगाउन कम गरिसकेका छन् । खेतीयोग्य जमिन अधिकांशमा केराखेती विस्तारको अभियान चलेको छ । केरामा अत्यधिक सम्भावना देखिएपछि बेनी नगरपालिकाले यस क्षेत्रमा केरा पकेट विकास कार्यक्रम सञ्चालन गरेर व्यावसायिकता र क्षेत्र विस्तारमा सहयोग गर्दै आएको छ ।
गत वर्षदेखि शुरु भएको केरा पकेट कार्यक्रमअन्तर्गत नगरपालिकाले क्षेत्र विस्तार, थोपा सिँचाइ, तालिम, औँजार उपकरण, मल, बिरुवा लगायत क्षेत्रमा अनुदान सहयोग गर्न थालेको छ । गतवर्ष नगरपालिकाको ११ लाख र किसानको ११ लाख रुपैयाँ साझेदारीमा १ सय रोपनी बढीमा केराखेतीको क्षेत्र विस्तारसँगै मल, बिरुवा र औजार उपकरणमा सहयोग गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख आकृति ढुङ्गानाले जानकारी दिनुभएको छ ।
६ लाख र समुदायको ६ लाख रुपैयाँ साझेदारीमा केराका बिरुवा वितरणसँगै थोपा सिँचाइ विस्तार र केराको बहुआयामिक उपयोगिताको सन्दर्भमा तालिम सञ्चालन गरिएको छ । गतवर्ष ६ हजार २ सय बोट केरा विस्तार गरिएकामा चालु आर्थिक वर्षमा थप ३ हजार ५ बिरुवा लगाएर खेती विस्तार गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
केराको व्यावसायिक खेतीगर्दै आएका यहाँका किसानले फल र बोट दुवैबाट आयआर्जन गर्न थालिसकेका छन् । केराको थामबाट रेशा निकालेर फाइबर, धागो, कपडा र सेनेटरी प्याड बनाउने र खेर गएको थामको थुलोबाट कम्पोष्ट मल बनाउने तालिम लिएपछि केराखेतीमा लागेका किसानले बोट र फल दुवैबाट आयआर्जन गर्न थालेका कृषि शाखा प्रमुख ढुङ्गानाले बताउनुभयो ।
गर्मीयाममा केराको बजार अभाव नहुने भए पनि चिसो मौसममा बजार अभाव हुने भएकाले स्थानीयले केराबाट पाउडर, चिप्स, बिस्कुट बनाउने प्रविधिको खोजी गर्न थालेका उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन