
मनाङ । मनाङको डुम्रे–बेँसीसहर–चामे सडक माथिल्लो भेग, तिलिचो ताल, खाङ्सार, थोराङ्ला भञ्ज्याङ (थोराङ्ला पास) आवतजावत गर्ने एकमात्र मार्ग हो । सडक निर्माण भएको लामो समय भइसकेको छ तर यस सडकमा रहेका खोला, खोल्सी पार गर्न काठेपुलकै भर पर्नुपरेको छ । यी पुल पनि जीर्ण बन्दै गएपछि आवतजावतमा समस्या छ ।
डुम्रे–बेँसीसहर–चामे सडक आयोजना कार्यालयका अनुसार सदरमुकाम चामेमा मात्रै चार ठाउँमा काठेपुल छन् । अरु बेला कामचले पनि वर्षायाममा भने जोखिमपूर्ण यात्रा गर्नुपरेको छ । चामे–१ तिमाङस्थित तिमाङखोलामा, चामे–२ स्थित स्यार्कुखोला, चामे–४ स्थित दुईवटा घट्टेखोलामा काठेपुल नै आवतजावत गर्ने विकल्पका रूपमा छन् ।
आयोजना कार्यालयका सबइन्जिनीयर सुमन अधिकारीले बर्खा लाग्न थालेपछि चामेको दुईवटा घट्टेखोलामा नयाँ काठेपुल निर्माणकार्य अगाडि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘पक्की मोटरेबल पुल निर्माण गर्न समय लाग्ने भएपछि वर्षात्मा सहज बनाउने उद्देश्यले नयाँ काठेपुल बनाइरहेका छौँ ।’ काठेपुल हटाएर पक्की पुल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) का लागि सम्झौता भएको उहाँले जानकारी दिनुभयो । ‘यस सडकखण्डअन्तर्गत १५ वटा पुल निर्माणका लागि डिपिआर भएको छ । बजेट प्राप्त भएपछि बोलपत्र आह्वान गरी काम अगाडि बढाउने तयारी छ । त्यसपछि काठेपुल विस्थापन हुनेछन्’ अधिकारीले अगाडि भन्नुभयो ।
चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले दीर्घकालीनरूपमा समस्या समाधान हुने गरी पक्की पुल निर्माणका लागि आयोजनासँग पटकपटक समन्वय गरिएको बताउनुभयो । ‘हरेक वर्ष बर्खा लागेपछि काठका पुल बाढीले बगाएर आवतजावत नै रोकिने समस्या हुन्छ । एउटा काठेपुल निर्माणका लागि वर्षेनी पाँच/सात लाख खर्च गर्नुभन्दा छिटो पक्की पुल बनाउनुपर्छ भनेर हामीले पटकपटक आग्रह गरिसकेका छौँ । समयमै पुल बनेमा अन्य ठाउँमा उपयोग हुने बजेट काठेपुललाई छुट्याउनुपर्ने बाध्यता हट्थ्यो नि, त्यसैले आयोजनाले यसमा यथाशीघ्र पहलकदमी लिन आवश्यक छ’ अध्यक्ष घलेको आग्रह छ । उहाँले पालिका एक्लैले ठूला योजना पूरा गर्न नसक्ने भएकाले सङ्घ र प्रदेश सरकारले समस्या समाधान गर्नुपर्छ भनेर छलफल तथा समन्वय भइरहेको बताउनुभयो ।
मनाङ पर्यटकीय क्षेत्र समेत भएकाले यहाँ आउनेहरूले यही सडक प्रयोग गर्दछन् सडकमा काठेपुलमात्रै हुँदा सवारीसाधन आवतजावतमा कठिनाइ छ । सडक खण्डका नौवटा काठेपुलको यात्रा गरेर तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ पार गर्नुपर्ने भएकाले बाढीको समयमा यात्रा गर्न कठिन हुने गरेको छ ।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुवासकुमार लामिछानेले यही समस्या समाधानका लागि सडक आयोजनासँग पुल निर्माणबारे छलफल गरी पुल निर्माणकार्य अगाडि बढेको बताउनुभयो । पर्यटकीय क्षेत्रमा नै पुलको अभाव हुँदा हुने जोखिमलाई मध्यनजर गरी पुल निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरिएअनुरुप काम अगाडि बढेको उहाँले बताउनुभयो । ‘सधैँ काठेपुलबाट यात्रा गर्न सजिलो हुँदैन । यस विषयमा छलफल हुँदा पक्की पुल नबनेसम्म जीर्ण बनेका काठेपुल मर्मत गरेर समस्या समाधान गरिनुपर्छ भनेर केही काम अगाडि बढेका छन्’ प्रजिअ लामिछानेले भन्नुभयो– ‘पटकपटकको छलफलपछि अहिले पुल निर्माणको काम भइरहेकाले यस वर्ष वर्षायाममा सहज यात्रा गर्ने वातावरण बन्ने छ । पक्की पुलको काम पनि छिटो अगाडि बढाउन आयोजनाले तयारी गरिरहेको बुझिएको छ , त्यसपछि मात्र समस्याको दीर्घकालीन समाधान हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन