+

करापुटार–डढुवा सडक ५० प्रतिशत स्तरोन्नति

लमजुङ ।  जिल्लाको करापुटार–डढुवा–साल्मे–भञ्जाङ खण्डअन्तर्गत करापुटार–डढुवा सडकको ५० प्रतिशत स्तरोन्नति सम्पन्न भएको छ ।  यस खण्डमा आरसिसी ढलान प्रविधिको प्रयोग गरी सडक स्तरोन्नति गरिएको हो ।

मध्यनेपाल नगरपालिका र क्व्होलासोथर गाउँपालिका जोड्ने यस खण्डअन्तर्गत मध्यनेपाल–७ करापुटारबाट वडा नम्बर ८ डढुवासम्मको ९  किलोमिटरमध्ये हालसम्म चार किमी ढलान सम्पन्न भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । 

कार्यालय प्रमुख विवेक सिग्देलका अनुसार थप सडक ढलान, फराकिलो बनाउने, नाली बनाउने, पर्खाल लगाउनेलगायत काम भइरहेको छ । ९ किमी ढलान गर्नुपर्ने त्यस खण्डमा जङ्गल पर्ने भएकाले जङ्गल भएको क्षेत्रमा सडकको चौडाइ चार मिटर हुने जनाउँदै अन्य क्षेत्रमा पाँच मिटर ढलान भइरहेको उहाँले जानकारी दिनुभयो । ढलानको मोटाइ २० सेन्टिमिटर राखिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

अधिकांश क्षेत्रमा ढाँचा (स्टक्चर)को काम सम्पन्न भइसकेको कार्यालय प्रमुख सिग्देलको भनाइ छ । उहाँका अनुसार गण्डकी प्रदेश सरकारको ३१ करोड २३ लाख ३० हजार २ सय ६९ रुपैयाँ लागतमा सडक स्तरोन्नति भइरहेको छ । रसुवा जयदम्बा जेभी धादिङले विसं २०७८ असोज १३ गते निर्मााण सम्झौता गरेको थियो ।
 
विसं २०८१ असोज १३ गतेभित्रमा सडक स्तरोन्नति सम्पन्न गरिसक्नुपर्ने पूर्वाधार विकास कार्यालयका प्रमुख एवं इन्जिनियर सिग्देलले बताउनुभयो । निर्धारित समयभन्दा केही महिना म्याद थप गर्नुपर्ने सम्भावना देखिएको उहाँको भनाइ छ । 

सिक्देलका अनुसार आगामी कात्तिक÷मङ्सिरसम्म यस खण्डको ढलान कार्य सम्पन्न हुनेछ । गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडकअन्तर्गत रहेको यस सडक जिल्लाको मेरुदण्डको रुपमा हेरिएको छ । 

करापुटार–डढुवा–साल्मे–भञ्ज्याङ–मालिङ–कपुरगाउँ हुँदै लमजुङ सदरमुकाम बेँसीसहर जोडिने यस सडक जिल्लाको रिङरोडका रुपमा रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । यो खण्ड करापुटारस्थित मध्यपहाडी लोकमार्गमा जोडिने छ । सडक सम्पन्न भएपश्चात् क्व्होलासोथर र मध्यनेपालको सडक सञ्जाल गण्डकी प्रदेशको राजधानी पोखरासँग जोडिने छ ।

करापुटार–डढुवा–साल्मे–भञ्ज्याङ खण्डअन्तर्गत डढुवाबाट साल्मेसम्मको सात किमी स्तरोन्नति भइरहेको छ । विसं २०७६ फागुन ७ गते सम्झौता चई विसंं २०७८ फागुन ६ गतेसम्म सम्पन्न गर्नुपर्ने भए पनि निर्धारित समयमा सम्पन्न नभएपछि आगामी असारसम्मका लागि म्यद थप गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । 

हालसम्म त्यो खण्डको ९२ प्रतिशत वित्तीय प्रगति रहेको छ । ग्राभेल, स्टक्चरको काम सम्पन्न भएको छ । एक सय मिटर नाली निर्माण गर्न बाँकी रहेको जनाइएको छ । पर्खाल उठाउने र डेन लिटर पोष्ट राख्ने काम तीव्र गतिमा भइरहेको कार्यालय प्रमुख सिक्देलले जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै