+

रासस तस्बिर प्रदर्शनी जेठ मसान्तसम्म रहने

काठमाडौँ । गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस) द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनी  जेठ मसान्तसम्म  रहने भएको छ ।

पूर्वाधारविज्ञ, कलाप्रेमी, फोटोपत्रकार,  राजनीतिक पार्टीका नेता,  समाजका प्रतिष्ठित व्यक्ति प्रदर्शनी अवलोकनमा आउनेक्रम जारी रहेको तथा  केही विशिष्ट पदाधिकारीहरूबाट पनि प्रदर्शनी हेर्ने इच्छा व्यक्त भएकाले पुनः समय थप गरी जेठ मसान्तसम्म पुर्याएको रासस व्यवस्थापनले जनाएको छ ।

जेठ १० गते सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गर्नुभएको प्रदर्शनी यसअघि जेठ १७ गते एक साताका लागि समय थप भई जेठ २४ गतेसम्म पुर्याइएको थियो ।

रासस केन्द्रीय कार्यालयमा आयोजित प्रदर्शनी अवलोकनका लागि विभिन्न राजनीतिक दलका नेता, विशिष्ट पदाधिकारी, पूर्वाधारविज्ञ, पत्रकार, चित्रकारसहित आमसर्वसाधारणको आउनेक्रम जारी रहेकाले जेठ मसान्तसम्म समय थप गर्नुपरेको राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले जानकारी दिनुभयो ।

सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रथम राष्ट्रपति डा रामवरण यादव र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी  (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले प्रदर्शनी अभिरुचिपूर्वक अवलोकन गर्नुभएको छ ।

यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री भगवती चौधरी, सङ्घीय संसद्अन्तर्गतको राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा, नेपाली कांग्रेसका नेताद्वय अर्जुननरसिंह केसी र दिलेन्द्रप्रसाद बडू, राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारलगायत नेताले तस्बिर प्रदर्शनी अवलोकन गर्नुभएको छ ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षद्वय डा महेन्द्र विष्ट र गोविन्द आचार्य, राससका पूर्वअध्यक्ष डा बालकृष्ण चापागाईँसहित वरिष्ठ पत्रकार, प्राध्यापक, विद्यार्थी, विकास एवं कलाप्रेमी आमसर्वसाधारण तस्बिर प्रदर्शनीमा सहभागी हुनुभयो ।

प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्र समेतका सहायतामा निर्मित एवं निर्माणाधीन राष्ट्रिय र प्रादेशिक गौरवका आयोजनाका  तस्बिर समावेश छन् ।

विसं २०७२ को गोरखा भूकम्पमा भत्किएका ऐतिहासिक सम्पदाका साथै सडक, पुल, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटनका पुनःनिर्मित भौतिक संरचना, नवनिर्मित पूर्वाधार, हुलाकी मार्ग, मूलपानी क्रिकेट मैदान, काठमाडौँ–मधेस दू्रतमार्ग, थानकोट–नागढुङ्गा सुरुङमार्ग, सुनकोशी–मरिन डाइभर्सन बहुद्देश्यीय आयोजना, सौर्य प्यानल, एकीकृत बस्ती, राष्ट्रिय गौरव र प्रदेश गौरवका आयोजनाका राससबाट सम्प्रेषित तस्बिर प्रदर्शनीमा समाविष्ट छन् ।

प्रदर्शनीमा सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ वटा तस्बिर राखिएका छन् । गणतन्त्र दिवसका अवसरमा गत वर्ष पनि राससले ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा तस्बिर प्रदर्शनी आयोजना गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट