
जुम्ला । जुम्लाको धार्मिक पर्यटकीय गन्तव्यकारुपमा रहेको ठाकुरज्यूसम्म आन्तरिक तथा बाह्य पर्यटनलाई सहजरूपमा पुग्न सडक निर्माण गरिने भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जिल्लाको गुठिचौर गाउँपालिकाले ठाकुरज्यूसम्म सडक निर्माण योजना अघि बढाएको हो ।
पर्यटकीय स्थान ठाकुरज्यूसम्म पुग्ने सडक सहज बनाउन पालिकाले योजना बनाएको गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले बताउनुभयो । ‘बाटो नहुँदा आउँजाउँमा सास्ती खेप्दै आएका स्थानीयका साथै आन्तरिक धार्मिक पर्यटकको समस्यालाई मध्यनजर गर्दै ठाकुरज्यूसम्म जाने सडक पूर्वाधार निर्माणलाई जोड दिएका छौँ’ उहाँले भन्नुभयो ।
अध्यक्ष बुढाले यहाँको पर्यटन प्रवर्द्धनसँगै स्थानीयको जीवनस्तर सहज बनाउन सडक सञ्जाल विस्तार योजना बनाई काम थालिएको उहाँले जानकारी दिनुभयो । पर्यटन क्षेत्र आर्थिक समृद्धि, रोजगारी सिर्जनाका मुख्य आधार भएकाले सडक निर्माणलाई प्रथामिकतामा राखिएको उहाँको भनाइ छ ।
पालिकाको एक मात्र पर्यटन क्षेत्र रहेकाले ठाकुरज्यूलाई आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न स्थानीय सरकारले पहल थालेको अध्यक्ष बुढाले बताउनुभयो ।
कामको गुणस्तर, समयमै काम सक्न नियमित अनुगमनलाई विशेष जोड दिने गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी भण्डारीले बताउनुभयो । गुठिचौरको पर्यटन प्रवर्द्धनका लागि सङ्घ र प्रदेश सरकारसँग थप बजेटको माग गरिएको उहाँले जानकारी दिनुभयो ।
गुठिचौरको लाग्ना हुँदै ठाकुरज्यू जोड्ने सडकका लागि २८ लाख ४० हजार रुपैयाँ लाग्ने अनुमानसहित बजेट व्यवस्थापन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय ध्रुर्वराज गिरीले बताउनुभयो ।
अहिले सडक निर्माण भइरहेको गाउँपालिका प्राविधिक शाखा प्रमुख मीनबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार के एण्ड पी निर्माण सेवा डोल्पाले ठेक्का लिएको छ ।
कूल एक करोडको खुला प्रतिस्पार्धामा ठेक्का आह्वान भए पनि निर्माण व्यवसायीले घटेर २८ लाख ४० हजार रुपैयाँमा सम्झौता भएको भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार लाग्नाबाट ठाकुरज्यूसम्म पहिलो चरणमा तीन हजार पाँच सय मिटर निर्माण हुनेछ ।
पहिलो वर्ष ट्र्याक खोल्ने र आगामी वर्षमा स्तरवृद्धि गरेर पर्यटन र स्थानीयवासीलाई ठाकुरज्यूसम्मको यात्रा सहज हुने गरी निर्माण गरिने गाउँपालिका कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै