
सोलुखुम्बु । महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जाल सोलुखुम्बुकी अध्यक्ष बिना विक जातीय विभेदको सिकार हुनुपरेको तितो यथार्थ सुनाउँदै एक सार्वजनिक कार्यक्रममा नै भक्कानिनुभयो । राष्ट्रिय मानवअधिकार आयोग शाखा कार्यालय खोटाङले सदरमुकाम सल्लेरीमा केही दिनअघि आयोजना गरेको ‘सोलुखुम्बुको मानवअधिकारको अवस्था’ विषयक अन्तरक्रियामा अध्यक्ष विकले आफू समाजमा शिक्षित भनिएकाहरूबाटै विभेदमा परेको अनुभव सुनाउँदै भक्कानिनुभएको थियो ।
केही समय पहिले एउटा कार्यक्रममा जिल्लाको पञ्चन क्षेत्र पुग्दा आफुलाई दलित भएका कारण रातभर घर बाहिर राखिएको अनुभव सुनाउँदै उहाँले भन्नुभयो– ‘मानवअधिकारको क्षेत्रमा कार्यरत म आफैँ शिक्षित भनिएकाबाटै विभेदमा परे, त्यो दिन अरु सबैलाई घरभित्र बसाए पनि मलाई प्रवेश दिइएन । मलाई त्यो रात दलानमै बसेको पीडाले अहिले पनि पोलिरहेको छ ।’
नेचासल्यान घर भएकी उहाँले गाउँमा हुने हरेक विवाह, प्रतबन्ध, पूजापाठमा टीका लगाउँदासमेत विभेद हुने गरेको सुनाउनुभयो । ‘समाज सभ्य र शिक्षित हुँदैछ भनिन्छ, त्यो शहरमा होला तर हामीकहाँ त अहिले पनि उस्तै अवस्था छ’ विकले प्रश्न गर्नुभयो– ‘अझै कति भोग्नुपर्ने हो जातीय विभेद र अपमान ?’
सोलुदूधकुण्ड नगर कार्यपालिका सदस्यसमेत रहेका दलित अधिकारकर्मी निरकुमार नेपालीले संविधान र मुलुकमा छुवाछूत मुक्तिको कुरा गरिए पनि अझै व्यवहार लागू नभएको गुनासो गर्नुहुन्छ । नेपालीले भन्नुहुन्छ, ‘संविधान र कानुनले त धेरै कुरा बोलेको छ । जातीय विभदलाई कानुनी तथा सामाजिक अपराधसमेत भनिएको छ तर हामीले सहजरूपमा बाटोमा समेत हिँड्न पाउँदैनौँ । झन् घरमा मात्रै होइन, सार्वजनिक ठाउँमा पनि विभेद भोग्नुपरेको छ ।’
राष्ट्रिय मानव अधिकार आयोग खोटाङका प्रमुख उपसचिव गीता दाहालले सर्वोच्च शिखर सगरमाथा भएको जिल्लाका शिक्षित ठाउँमै जातीय विभेद हुनु लज्जास्पद भएको बताउनुहुन्छ । ‘सोलुखुम्बु सर्वोच्च शिखर सगरमाथा भएको जिल्ला हो, यहाँ विश्वका विकशित भनिएका देशहरूबाट समेत सयौँ मान्छे आउँछन्, त्यसैले पुरातवादी सोच र सामाजिक विकृतिहरू कायमै हुनु दुःखद कुरा हो । यसलाई परिवर्तन गर्न जरूरी छ’ उहाँले भन्नुभयो ।
जातीय, लैङ्गिक र अन्य गलत सामाजिक प्रथा परम्पराका कारण जिल्लामा समग्र मानवअधिकारको अवस्थामाथि नै प्रश्न खडा भएको दाहालको भनाइ छ । ‘छुवाछूतजस्ता सामाजिक तथा कानुनी अपराधका कारण मानवजअधिकार संरक्षमा चुनौति छ । कुनै एक व्यक्ति वा निकायले नभई सबै तहतप्काबाट विभेदविरूद्ध सामाजिक जागरणका लागि योगदान गर्न जरूरी छ । यस्ता कार्यमा मानवअधिकार आयोग सहकार्य गर्न तयार छ’ उहाँले अगाडि भन्नुभयो– ‘अहिलेको अवस्थामा कुनै पनि प्रकार सामाजिक विभेद कानुनले बर्जित गरेका छन् । त्यसको परिपालना नभए कानुनी कारबाहीको दायरा उभ्यान पनि सबै जागरूक बन्नुपर्छ ।’
नेपालमा कानुनतः छुवाछुतको अन्त्य भएको करिब छ दशक भइसकेको छ । छुवाछूतलाई दण्डनीय फौजदारी अपराधका रूपमा परिभाषित गरी जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ प्रचलनमा आएको पनि १३ वर्ष भइसकेको छ । २०६३ को अन्तरिम संविधानको धारा १४ ले गरेको जातीय विभेदविरुद्धको मौलिक हकलाई नेपालको संविधान, २०७२ ले अझै परिष्कृत रूपमा परिभाषित गरेको छ ।
संयुक्त दलित एकता समाजका अध्यक्ष कान्छाबहादुर विश्वकर्मा कानुनले अपराध र राज्यले छुवाछूत मुक्त राष्ट्र घोषणा गरे पनि व्यवहारमा कार्यन्वयन हुन नसकेकामा खेद प्रकट गर्नुहुन्छ ।
राजनितिकर्मी नरेन्द्र थापा मगर पनि छुवाछूत मानव सभ्यताका लागि कलङ्क भएकाले यसको अन्त्यका लागि सामूहिकरूपमा पहल गर्नुपर्नेमा जोड दिनुहुन्छ ।
जिल्लाका धेरै अधिकारकमीहरू छुवाछूत अन्त्यका लागि स्थानीय प्रहरी प्रशासनबाट समेत पर्याप्त सहयोग नपाएको गुनासो गर्छन् । खड्ग बहादुर हिङ्माङ अब राज्यका निकायसहित सरोकार भएका सबै मिलेर सामाजिक तथा सबै प्रकारका जातीय विभेद अन्त्यका लागि एकसाथ अगाडि बढ्नुपर्ने धारणा राख्नुहुन्छ ।
‘विभेद अपराध हो भन्ने विषय कानुनमा उल्लेख भएपनि यसको कार्यन्वयनमा सबै लागेमा समाज विभेदमुक्त हुन सक्छ । त्यसैले राष्ट्रिय मानवअधिकार आयोग सबैसँग मिलेर कानुन परिपालनाका लागि सहकार्य गर्न तयार छ’ खोटाङका मानवअधिकार अधिकृत दिपेश बस्नेत भन्नुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै