
पोखरा । पोखरा महानगरपालिका–२५ हेम्जाकी हरि पौडेल बुधबार साँझपख डोकोभरि तरकारी बोकेर याम्दी खोलाको झोलुङ्गे पुल तर्दै हुनुहुन्थ्यो । याम्दीपारि उपल्लो टिमिरेचौरमा रहेको खेतबाट घर फर्कने क्रममा उहाँले पुल बनेपछि आउजाउ सहज बनेको सुनाउनुभयो । ‘पहिला एक घण्टा लाग्थ्यो, अहिले दश/पन्ध्र मिनेटमा खेतमा पुगिन्छ’ पौडेलले भन्नुभयो– ‘पुल बनेपछि धेरै सुविस्ता भएको छ ।’
गण्डकी प्रदेश सरकारको लगानीमा यही वर्ष उक्त झोलुङ्गे पुल बनेपछि हेम्जावासी प्रत्यक्ष लाभान्वित भएका हुन् । पुल बनेकै कारण टिमिरेचौर क्षेत्रमा खेती किसानी गर्नेको सङ्ख्या बढ्न थालेको पौडेलले बताउनुभयो । ‘पहिला यहाँको अधिकांश जग्गा बाँझै थियो, पुलले आवातजावत सहज बनाएपछि फेरि खेतीपाती शुरु भएको छ’ उहाँले भन्नुभयो ।
हेम्जामा सडक र नहरको सुविधा आएपछि झण्डै ३० वर्षदेखि उपल्लो टिमिरेचौर, तल्ला टिमिरेचौर, चिसाखोलालगायत क्षेत्रमा स्थानीयले कृषि गर्न छाडेका थिए । खेतबारी झाडीमा परिणत भएको थियो । ६४ वर्षीय ऋषिराम पौडेलका भनाइमा त्यस क्षेत्रमा पहिले धानलगायत खेतीबाली गरिन्थ्यो । ‘हाम्रा बाउबाजेको मुख्य कृषि उब्जनी गर्ने ठाउँ नै यही थियो, यहीँ घरगोठ थिए, गाईबस्तुपालन हुन्थ्यो’ उहाँले भन्नुभयो– ‘पछि सबै हेम्जातिर सरेपछि यहाँको जग्गा बाँझै थियो, पुल बनेपछि अहिले फेरि हराभरा भएको छ ।’
उहाँले आफूले पनि यस वर्षको रोपाइँका लागि बीउ राख्ने तयारी गरेको सुनाउनुभयो । ऋषिरामले पुल बनाउनका लागि जग्गासमेत दिनुभएको थियो । उहाँले पुल छेउछाउमा रहेको जग्गामा तरकारी खेती गर्दै आउनुभएको छ । सोही ठाउँका गोविन्द पौडेलले उपल्लो टिमिरेचौरमा ७५ घरपरिवारको जग्गा रहेको बताउनुभयो । ‘पहिला दुई भाइ पौडेलको दुई सय मुरी धान हुने खेत यहाँ थियो, जेठबुढो धान लगाइन्थ्यो’ उहाँले भन्नुभयो– करिब २५÷३० वर्ष यहाँ रोपाइँ नै भएन, अहिले फेरि किसान रोपाइँको तयारीमा लागेका छन् ।’
खेतमा आउजाउको समस्या, बढ्दो लागत, कृषि गर्ने जनशक्ति अभावजस्ता कारणले त्यो क्षेत्र पछाडि परेको गोविन्दले बताउनुभयो । ‘अहिले पुलले धेरै सहज भयो, किसान फेरि कृषितिर फर्किन थालेका छन्, बाहिरबाट आएर जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्नेहरु पनि छन्’ उहाँले भन्नुभयो– ‘हेम्जावासीका लागि यो झोलुङ्गे पुल वरदान नै सावित बनेको छ ।’
पहिले पैदल तल खोलामा झेरर फेरि माथि खेतमा उक्लँदा सारै दुःख हुने गरेको हेम्जाकी दुर्गा पौडेलले बताउनुभयो । ‘जाँदा मल बाकेर, फर्कदाँ धानको भारी लिएर आउँदा निकै गाह्रो हुन्थ्यो, अहिले धेरै सजिलो भएको छ, पुल बनेपछि सिँचाइ कुलोका लागि पनि बजेट आएको छ’ उहाँले भन्नुभयो– ‘झाडी पल्टिएको जग्गालाई सफाइ गरेर कृषि गर्न शुरु गरिएको छ ।’
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक डा महेन्द्र बानियाँले ९१ लाख रुपैयाँको लगानीमा पुल बनेको जानकारी दिनुभयो । ‘स्थानीवासीको आवश्यकता पहिचान गरेर त्यहाँ पुल निर्माण गरिएको हो, पुलले विशेष गरी कृषिउपजलाई बजार ल्याउन सहज बनेको छ, किसानको दैनिक पनि फेरिएको छ’ उहाँले भन्नुभयो ।
एक सय ७१ मिटर लामो र झण्डै एक सय मिटर अग्लो उक्त झोलुङ्गे पुल म्याग्दीको रामकृष्ण निर्माण कम्पनीले बनाएको हो । त्यही ठाउँको तल्लो टिमिरचौरमा पनि झोलुङ्गे पुल बनिसकेको छ । चिसाखोलामा प्रदेश सरकारकै लगानीमा अर्को पुल बनाउने तयारी छ । याम्दामाथिका तीन झोलुङ्गे पुलले सयौँ किसानसहित त्यस क्षेत्रका बासिन्दालाई लाभ पुग्नेछ । प्रदेशभित्र सडक, पक्की पुल र झोलङ्गे पुल निर्माणको काम पूर्वाधार मन्त्रालयमार्फत हुँदै आएको छ । पहाडी र हिमाल भेगमा आवातजावत र ढुवानीका लागि झोलुङ्गे पुल प्रभावकारी बनेको छ ।
पछिल्लो छ वर्षयता प्रदेश सरकारको लगानीमा ६३ झोलुङ्गे पुल निर्माण भएको मन्त्रालयले जनाएको छ । हाल १० वटा झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा रहेको र ५१ झोलुङ्गे पुल निर्माण शुरु हुने चरणमा रहेको निमित्त निर्देशक डा बानियाँले जानकारी दिनुभयो । ‘चालु आवमा थप चार झोलुङ्गे पुलको बहुवर्षीय ठेक्काका लागि बजेटेको स्रोत सुनिश्चित गरिएको छ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री