
नवलपुर । नवलपुरको गैँडाकोटमा ‘बुद्ध र कमल’ विषयक चित्रकला प्रदर्शनी शुरु भएको छ । बुद्ध जयन्तीको अवसर पारेर बिहीबारदेखि सुरु भएको प्रदर्शनीमा स्थानीय १३ जना कलाकारका १३ वटा तस्वीर राखिएका छन् ।
अहिंसा र सत्यको बाटोमा लाग्नुपर्छ भन्ने सन्देश दिने तस्वीर प्रदर्शनीमा राखिएका गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदीले बताउनुभयो । संस्कृति र कलाको उत्थान नभएसम्म राष्ट्रको उन्नति हुन नसक्ने भन्दै उहाँले प्राचीन कलाले नेपाललाई चिनाएको बताउनुभयो । उहाँले काठमाडौँमा हुने कला सिर्जना र काठमाडौँ बाहिर हुने कला सिर्जनाको गुणस्तरमा भिन्नता नभए पनि काठमाडौँ बाहिर रहेका कलाकार र चित्रकला प्रदर्शनीबारे आमसञ्चारका माध्यमले कम महत्व दिने गरेका गुनासो गर्नुभयो ।
गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव कलाकार भीम शर्माले संस्कृति, कला र प्राकृतिक सम्पदाबाट ठाउँ चिनाउन सकिने बताउनुभयो । ‘हामीले कोरेका चित्र हेर्ने मान्छे कम हुँदा तथा चित्रबारे प्रतिक्रिया नआउँदा हामीमा उत्साह थपिँदैन’ उहाँले भन्नुभयो– ‘प्रदर्शनीमा राखिएका चित्र बिक्री पनि हुँदैनन् र कलाकारको ऊर्जा घट्छ ।’
मोफसलमा कलाका पारखीको कमी रहेको कलाकार बताउँछन् । प्रदर्शनीको सन्दर्भमा आयोजित कला संवादका क्रममा साहित्यकार एवं समीक्षक उदय अधिकारीले साहित्यकार सरिता तिवारी, कलाकार प्रकाश थापा र पत्रकार रमेशकुमार पौडेलसँग कलासम्बन्धी विविध विषयमा संवाद गर्नुभएको थियो । संवादका क्रममा पत्रकार रमेशकुमार पौडेलले मोफसलमा हुने कलासम्बन्धी कार्यक्रमबारे पत्रकारलाई कम जानकारी हुने हुँदा सञ्चारमाध्यमबाट प्रचारप्रसार कम हुने गरेको बताउनुभयो ।
संवादकै क्रममा साहित्यकार सरिता तिवारीले कला महँगो हुँदा सबैको पहुँचमा पुग्न नसकेको बताउनुभयो । स्थानीय सरकारको कलाकारलाई प्रवर्द्धन गर्ने कार्यक्रम नहुनु, कलाकारले समुदायसँग सहकार्य नगर्नाले चित्रकलाप्रति मान्छेको रुचि नबढेको बताउनुभयो ।
प्रदर्शनीमा राखिएका चित्रमा गौतमबुद्ध र कमलको सम्बन्धलाई देखाइएको छ । प्रदर्शनीमा कलाकार गोविन्दराज विनोदी, दामोदर (डी) बराल, प्रकाश थापा, बरुणबाबु घिमिरे, आकृति घिमिरे, भीम शर्मा, प्रमेश कँडेल, गोपाल तामाङ, सन्तोष श्रेष्ठ, नारायण सापकोटा, रामहरि श्रेष्ठ, सुलभ पौडेल र सुशील गुरुङका चित्र छन् । आगामी १० दिनसम्म जारी रहने प्रदर्शनीका तस्वीर खरिद गर्न सकिनेछ ।
गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानको आयोजनामा भएको प्रदर्शनीमा ‘हामी कलाकार’ नामको संस्थाको पनि साझेदारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री