
म्याग्दी । लामो समयको खडेरीपछि परेको लगातारको वर्षाका कारण म्याग्दीमा लगाइएको मकैखेती र फलफूलमा रोग तथा कीराको सङ्क्रमण देखिएको छ ।
खडेरीका कारण यस वर्ष गहुँ उत्पादनमा कमी आएपछि चिन्तित बनेका किसान मकै छर्ने समयमा पानी नपरेपछि उत्पादन हुने सबै ठाउँमा खेती गर्न सकेका छैनन् । खडेरीमा छरिएको मकै पानी परेपछि निकै ढिलोगरी उम्रेका र ती बिरुवामा पनि डडुवा र फौजी कीराको सङ्क्रमण देखिन थालेपछि किसान चिन्तित बनेका हुन् ।
मालिका–६ का किसान वीरबहादुर विश्वकर्माले मकैबालीका साथै फलफूल, तरकारी र कोसेबालीमा समेत औँसा र फौजी कीराको सङ्क्रमण देखिन थालेको बताउनुभयो ।
जिल्लाको मालिका, मङ्गला, रघुगङ्गा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकालगायत बेनी नगरपालिकाका विभिन्न ठाउँमा गरिएको मकैखेतीमा रोगको सङ्क्रमण देखिएको स्थानीय तहका कृषि प्राविधिकले बताएका छन् ।
यहाँका किसानले लगाएको फलफूलमा औँसा, केरामा खपटे, गवारो र मकैबालीमा फौजी कीराको सङ्क्रमण प्रकोप देखिएको मालिका–१ निस्कोटका कृषक तीर्थबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार सुन्तला र केराखेतीमा पनि सङ्क्रमण देखिन थालेको छ ।
फूल फुलेर बतिला लाग्न थालेका सुन्तला, बारीभरि फलेका काँक्रा, घिरौँला, गोलभेँडा लगायत तरकारी तथा फलफूलमा औँसा, घोगा लाग्न थालेका मकैमा फौँजी र केरा खेतीमा खपटे कीराको सङ्क्रमण देखिएपछि किसान चिन्तित बनेका मङ्गाला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो ।
प्रायःफल पाकेर टिप्ने बेलामा देखिने औँसा कीराको सङ्क्रमण बतिलामै देखिएपछि किसान उत्पादन घट्नेमा चिन्तित छन् । किसानले लगाएका काँक्रा र पाक्न लागेका आरु, आरुपखडामा पनि औँसा कीराको सङ्क्रमण भेटिएको उहाँको भनाइ छ ।
मकैबालीमा अमेरिकन फौजी कीरा र गोलभेँडामा सेतो ढुसीको समस्या देखिएको म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । कीराको सङ्क्रमणलाई थप फैलिन नदिन किसानलाई सचेत गराइएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रकाअनुसार कृषि प्राविधिकले सिफारिस गरेका मकैको जातका आधारमा सोहीअनुसारको उपचार विधि र विषादी किसानलाई उपलब्ध गराइएको छ ।
गोलभेँडामा लागेको डढुवाको समस्याले व्यावसायिक किसान मर्कामा परेका मङ्गला–५ का किसान विक्रम सेनले बताउनुभयो । उहाँका अनुसार जिल्लाका अधिकांश स्थानमा लगाइएका मकै, फलफूल तथा तरकारीखेतीमा विभिन्न सङ्क्रमणले क्षति पु-याएको छ ।
निस्कोट, रणबाङ, ज्यामरुककोट, बाबियाचौर, अर्मन, रत्नेचौर, रुम, देविस्थान लगायत क्षेत्रका किसानले लगाएको मकैबालीमा फौजी कीराको सङ्क्रमण अत्यधिक देखिएको केन्द्रको भनाइ छ । घोगा हाल्न लागेका मकैका बोटमा फौजी कीराको आक्रमण बढी भएकाले बोट नै सकिन थालेको मङ्गला–२ का प्रताप सापकोटाले बताउनुभयो । उहाँका अनुसार विषादीलेसमेत कीराको आक्रमण रोकिन सकेको छैन ।
बगरफाँट, खबरा, भकिम्ली, बाबियाचौरका किसानले लगाएका सयौँ रोपनी जमिनको मकै बालीमा फौजी कीराको सङ्क्रमण देखिएको भन्दै कतिपय ठाउँमा विषादीले समेत समस्या समाधान नभएको कृषि प्राविधिक बानियाँले जानकारी दिनुभयो । कीराको सङ्क्रमण नियन्त्रण गर्न किसानलाई प्राविधिक सेवा र विषादी निःशुल्क उपलब्ध गराइँदै आइएको उहाँले बताउनुभयो ।
यहाँका किसानले परम्परागत रुपमा लगाउँदै आएका मकैबालीमा फौजी कीराको आक्रमण बढी छ । जिल्लाको ज्यामरुकोट क्षेत्रमा भने मकैका बोट उम्रन थालेदेखि नै फौजी कीराको आक्रमण बढेकाले बोट जोगाउनै मुस्किल परेको कृषि प्राविधिक बानियाँले बताउनुभयो ।
प्रायः सुक्खा मौसममा देखिने फौजी कीरा पछिल्लो समय वर्षा भइरहँदा पनि देखिन थालेका कृषि प्राविधिक बताउँछन् । फौजी कीराले मकैको पातमा लाम्चा आकारका झिल्लीमात्र छाडेर मकैको पातलाई कोतरेर खानाका साथै घोगा, पात, जुँगा र गुभोमा पनि क्षति पुर्याउने बानियाँले बताउनुभयो । जिल्लामा व्यावसायिकरुपमा गरिएको केरा र आलुखेतीमा पनि सङ्क्रमण देखिन थालेकाले सबै समयमै सचेत भई समाधानका उपाय खोज्नुपर्ने उहाँको भनाइ छ ।
डढुवा रोगका कारण आलुका बोट सुक्न थालेपछि किसानले औषधि प्रयोग गर्न थालेका छन् । कतिपय ठाउँमा औषधि प्रयोग गरे पनि सङ्क्रमण कम नभएको बगरफाँटका कृषक खीमबहादुर कार्कीले बताउनुभयो । किराका साथै रातो कमिला समेत देखिन थालेको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री