
बझाङ । सानो चिटिक्क परेको गाउँ । लहरै रहेका रातो र सेतो माटोले पोतेका घर । गाउँको बीचमा सरकारले बनाइदिएको नहर । छेउछाउमा घाँसका लागि पालेका भीमलका रुखहरू । अलि भिरालो भए पनि पारिलो (हिउँदमा पनि घाम लागिरहने) ठाउँ । अनि प्रायजसो घरमा दुहुना भैँसी । यो बझाङको केदारस्यूँ गाउँपालिका–६ त्याडीगाउँ हो ।
घरघरमा दुहुनो भैँसी भएपछि पाहुनामात्र होइन छिमेकी समेत त्याडीगाउँको गोरस (दही-दूध)का पारखी छन् । यहाँका महिलाको दिनचर्या भैँसीको हेरचाहमै जान्छ । “टाढा नगया पन देलाउँदोई भैँसाकी गोठाली छु”, बझाङी भाषामा दीक्षा बोहराले भन्नुभयो, “हामी आँगनकै भैँसी पाल्छौँ । त्यसैले घरमै भए पनि भैँसीको ग्वालो (गोठालो) लाग्नुपरेको छ ।”
दीक्षाका अनुसार गाउँमा सबै परिवारले एक भैँसी र एक गोरु पालेका छन् । “भैँसी सबैले दुहुनोमात्रै पाल्छन् । दूध नदिने भएपछि त्यसलाई बिक्री गरेर भए पनि नयाँ भैँसी ल्याइहाल्छन्, एकजनाको त कामै यिनैको रेखदेख गर्नु हो”, उहाँले भन्नुभयो ।
त्याडीगाउँमा ४२ परिवार छन् । ती सबैको घरमा भैँसी र गोरु पालिएका छन् । त्याडीगाउँकी बाटुली बोहराले भन्नुभयो, “गोरु वल्लोपल्लो घरको हल बनाएर जोत्छौँ । भैँसी सबैको घरमा गोरस (दही–दूध) खानलाई हुन्छ ।” सो गाउँमा कसैको घरमा पनि कहिल्यै गोरसको कमी नहुने उहाँले बताउनुभयो ।
बाटुलीको घरमा नौजना हुनुहुन्छ । उहाँहरू सबैले घरायसी काम गर्नुहुन्छ । त्यतिलाई एउटा दुहुनो भैँसीको गोरसले पुगिरहेकै छ । “गोरस नभई खानेकुरा निल्न (खान) सकिँदैन”, बाटुलीले भन्नुहुन्छ, “उहिल्यैबाट भैँसी पाल्ने हुँदा अहिले पनि छाड्न सकेका छैनौँ । भैँसी नभए बाँच्न पनि सकिँदैन कि जस्तो लाग्छ । त्यसैले एउटा भए पनि पालिरहन्छौँ ।”
स्थानीयका अनुसार त्याडीगाउँमा पहिले भैँसी पाल्नबीच प्रतिस्पर्धा नै हुन्थ्यो । अहिले सबैले घटाए । स्थानीय उत्तम बोहरा भन्नुहुन्छ,“कहिलेकाहीँ छिमेकीको घरमा नभए पनि सबैले पुग्नेगरी दिइहाल्छन् । नत्र भैँसी खासै कसैको घरमा पनि टुट्दैन”, उत्तम बोहराले भन्नुभयो ।
त्याडीगाउँका भैँसी बर्खायाममा चर्न पाउँदैनन् । भिरालो जमिन भएकाले लेकतिर लिएपछि मात्रै भैँसीले चर्न पाउने गरेको र बाँकी समय घरमै राखेर गाजो ९खर० खुवाउने गरिएको उहाँको भनाइ छ ।
उत्तमका अनुसार सो गाउँका बोहराले दूध र दूधजन्य पदार्थ खासै बेच्दैनन् । सबैको घरमा भैँसी रहेकाले व्यावसायिकरूपमा कोही नलागेका हुन् । घ्यू भने आफन्त तथन भारतमा गएका छोराबुहारीलाई दिन्छन् ।
गाउँपालिका उपाध्यक्ष मनिषा धामी दूधमा आत्मनिर्भर सो गाउँ सबैको नजरमा रहेको बताउनुहुन्छ । अरु गाउँले पनि सो गाउँबाट सिक्नुपर्ने उहाँको भनाइ छ । “त्याडीगाउँ एउटा आत्मनिर्भर गाउँ हो । यहाँका सबै मानिस आफ्नो काममै हुन्छन् । गरिखाने समुदाय त्याडीगाउँ नै हो । यहाँको सिको अरु गाउँले पनि गर्न सकेको भए धेरै राम्रो हुन्थो”, उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह