
स्याङ्जा । किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका मौरी घार वितरण गरेको छ ।
गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत भिरकोट–९ का किसानलाई घार वितरण गरिएको हो । मौरीपालनका दृष्टिले प्रशस्त वनजङ्गल र चरन क्षेत्र भएकाले पनि मौरीपालन फस्टाउन सक्ने भएकाले वडाका किसानलाई घार वितरण गरी अभियान थालिएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो ।
‘मौरीपालनका दृष्टिले प्रचुर सम्भावना देखिएकाले अहिले वडा नम्बर ९ मा मौरीका घार वितरण गरेका हौँ’ उहाँले भन्नुभयो– ‘आगामी दिनमा यसलाई व्यावसायिकरुपमा अगाडि बढाउँदै आयआर्जनसँग जोड्ने र यहाँका नागरिकको आर्थिक समृद्धिमा सुधार ल्याउने उद्देश्य छ ।’ मौरीपालन गर्दा मौरीको गोलासहितको घार तथा महको पनि माग उच्च भएकाले यहाँका नागरिकलाई मौरीपालनतर्फ जोड्दै लगिएको उहाँले बताउनुभयो ।
‘पालिकाको योजना, नागरिकको चाहना र मागका आधारमा नागरिकलाई उद्यमी बनाउनका लागि निरन्तर लाग्छौँ’ उहाँले भन्नुभयो– ‘यसमा नागरिकको परिश्रम र कामप्रति लगनशीलता हुनु जरुरी छ ।’ नगरपालिकाको ८० प्रतिशत अनुदान र किसानको २० प्रतिशत लागत साझेदारीमा गोलासहितका मौरी घार उपलब्ध गराइएको वडाध्यक्ष भीमबहादुर गुरुङले बताउनुभयो ।
९ हजार मूल्य रहेको मौरीसहितको घारलाई किसानले एक हजार आठ सय रुपैयाँमा प्राप्त गरेका हुन् । वडाका ३४ किसानलाई मौरीसहितको घार वितरण गरिएको हो । ‘कृषि कर्म गर्दै आएका यहाँका नागरिकको आर्थिकस्तर उकास्न उद्यमशीलतासँग जोड्नु जरुरी छ’ उहाँले भन्नुभयो– ‘नागरिकलाई उद्यमशीलतासँग जोड्नका लागि मौरीको प्रचुर सम्भावना भएकाले मौरीपालनलाई व्यावसायिकरुपमा अगाडि बढाउने निष्कर्षमा पुगेका हौँ ।’
मौरीपालन गर्नका लागि पाँचदिने आधारभूत ज्ञान सीप किसानलाई दिइएको छ । आगामी दिनमा मौरीपालनलाई व्यावसायिकतातर्फ अगाडि बढाउन र थप विस्तार गर्नका लागि वडा तथा पालिकाले निरन्तर सहयोग गर्ने उहाँले बताउनुभयो । ‘मौरीसहितका घार तथा शुद्ध महको माग बढ्दो क्रममा छ’ उहाँले भन्नुभयो– ‘यहाँका किसानले उत्पादन गरेका मौरी तथा मह बिक्री नभएमा वडाले बिक्रीका लागि आवश्यक पहल गर्नेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह