
म्याग्दी । बजारमा माग बढेपछि पश्चिम म्याग्दीको ग्रामीण क्षेत्रका किसान जुनेलो र फापरको व्यावसायिक खेतीमा लागेका छन् । जिल्लाका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकाका एक दर्जनभन्दा बढी पहाडी गाउँका किसान व्यावसायिक खेतीमा लागेका हुन् ।
पछिल्लो समय बजारमा जुनेलो र फापरको माग ह्वात्तै बढेको छ । विशेषगरी सहरिया उपभोक्ताको दैनिक उपभोग्य वस्तुका रुपमा जुनेलो र फापरको परिकार बन्ने गरेको छ । त्यसैले ग्रामीण क्षेत्रमा किसानले यी वस्तुको व्यावसायिक खेती शुरु गरेका छन् । दुई/चार वर्षअघिसम्म सहर बजारमा यी वस्तुलाई अखाद्य वस्तुका रूपमा हेरिन्थ्यो । त्यसले खेती पनि क्रमशः कम हुँदै गएको थियो । पछिल्लो समय माग बढ्दै गएपछि खेती बढाएको मालिका गाउँपालिका– २ का किसान टेकबहादुर विकले बताउनुभयो ।
पश्चिम म्याग्दीका प्रायःसबै गाउँमा जुनेलो र फापरखेती हुने भए पनि पछिल्लो समय किसानले खेती गर्न छाडेका थिए । विगत पाँच वर्षयता बजारमा जुनेलो, फापर, भाँगो र रातो सिमीको माग बढ्दै गएपछि किसानले अरु बाली छाडेर बजारमा बिक्री हुने र राम्रो मूल्य पाइने भाँगो, जुनेलो र फापरको खेती विस्तार गरेको विकले जानकारी दिनुभयो ।
‘केही वर्षअघिसम्म जुनेलो खासै बिक्री हुँदैन थियो, त्यसैले खेती गर्न छाडेका थियौँ तर अहिले घरमै खरिद गर्ने व्यापारी आउने गरेका छन्’, विकले भन्नुभयो । विक लगायत रुमका प्रायः सबैले भाँगो, जुनेलो र फापरखेती गरेका छन् । जुनेलो बजारमा प्रतिपाथी रु चार सयका दरले बिक्री हुने उहाँले बताउनुभयो ।
फापरको पनि बजारमा माग बढेको छ । विशेषगरी उपभोक्ताले तीते फापर खोज्ने भएकाले किसानले पनि तीते फापरकै खेती बढाएका छन् । पहिले पहिले गाउँघरमा सागका लागि तीते फापरखेती गर्ने गरेको किसान बताउँछन् । पछिल्लो समय बाली लिनकै लागि खेती सुरु गरिएको मङ्गला–५ की गोमा रोकाले बताउनुभयो । ‘हाम्रो बारीमा पहिले तीते फापर फल्दैन थियो’ रोकाले भन्नुभयो ‘आफैँले खाजामा रोटी खानका लागि मिठे फापर लगाइन्थ्यो ।’
दुई वर्षयता मिठेको साटो तीते फापरको खेती गर्न थालेको उहाँले बताउनुभयो । ‘घट्ट वा मिलमा पिँधेको फापरको मिठोसँग चामल साटिन्छ’, उहाँले भन्नुभयो– ‘बजारमा पनि फापरको उच्च माग रहेको छ ।’ गाउँमा उत्पादन भएको फापर एक पाथीको दुई सय रुपैयाँदेखि ३ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह