
काठमाडौँ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले देशभरका सबै पालिकामा आयोडिनयुक्त नुनको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
सुगम क्षेत्रमा नुनको सहज उपलब्धता भए पनि दुर्गममा नुनकै लागि सर्वसाधारण जनताले सास्ती खेप्नु परेको गुनासो सार्वजनिक भएसँगै समितिले उक्त निर्देशन दिएको हो ।
समितिले आज साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट हालसम्म भए÷गरेको कामकारबाही तथा आगामी कार्ययोजनाबारे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, आपूर्ति मन्त्रालयका सचिव दिनेश घिमिरे र साल्ट्र ट्रेडिङका उच्च अधिकारीसँग छलफल गरेको थियो ।
समितिले नुन, चिनी, रासायनिक मललगायत अत्यावश्यक सामग्रीको गुणस्तरीयता सुनिश्चित गर्दै देशभर सहजै उपलब्ध गराउन वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले साल्ट ट्रेडिङले विभिन्न शीर्षकमा पाउनुपर्ने भुक्तानीका लागि सहजीकरण गर्न अर्थ मन्त्रालयलाई समेत निर्देशन दिएको छ ।
बैठकमा सहभागी सांसदले आम नागरिकको भान्छासँग जोडिएको नुन तथा सहजरुपमा उपलब्ध हुने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँहरुले मुख्यतः बर्खायाममा रासायनिक मलको अभाव हुने गरेको यसअघिको उदाहरण प्रस्तुत गर्दै मलको अभाव नहुने गरी आपूर्ति सुनिश्चित गराउन जोड दिनुभयो ।
सांसद महेन्द्रबहादुर शाहीले दुर्गमका जिल्ला सदरमुकाम र इलाका प्रशासन कार्यालयसम्म मात्रै आयोडिनयुक्त नुन उपलब्ध भएको तथ्य प्रस्तुत गर्दैै अति दुर्गम क्षेत्रमा पनि नुनको सहज उपलब्धता गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद कान्तिका सेजुवालले जनताको मागअनुसार नुन आपूर्तिको व्यवस्था मिलाउन आग्रह गर्नुभयो । उहाँले दुई÷तीन दिनको बाटो हिँडेर दुई केजी मात्रै नुन पाउने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो ।
सांसद हेमराज राईले नुन, चिनी तथा रासायनिक मललगायत अत्यावश्यक वस्तु बिक्रीवितरणको जिम्मेवारी लिएको साल्ट ट्रेडिङले मागअनुसार आपूर्तिको सुनिश्चितता गर्नुपर्ने बताउनुभयो । सांसद सूर्यमान दोङले रासायनिक मलको सहज आपूर्ति र वितरणको योजना के छ भनी प्रश्न गर्नुभयो ।
सांसद गणेश पराजुली, सीता मिजार, शान्ति चौधरी र अमृतादेवी अग्रहरीले बर्खाको समयमा रासायनिक मलको उपलब्धता सुनिश्चित गर्न तथा दुर्गममा नुनको ढुवानीको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
‘अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन सरकार प्रतिवद्ध’
छलफलमा सांसदले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै उद्योगमन्त्री भण्डारीले नुन, चिनीलगायत अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । “अत्यावश्यक वस्तुको अभाव हुन दिइने छैन, आपूर्ति सहज बनाउन आवश्यक कार्ययोजना बनाउँदैछौँ”, उहाँले भन्नुभयो ।
मन्त्री भण्डारीले समयमै रासायनिक मलको आयातको व्यवस्था मिलाउन ठोस योजना बनाइएको बताउनुभयो । मल आपूर्तिलाई सहज बनाउन मन्त्रलायले थप कूटनीतिक पहल गरिरहेको उहाँको भनाइ थियो । मन्त्री भण्डारीले कृत्रिम अभाव, गुणस्तरहीन सामग्रीको बिक्रवितरण तथा कालोबजारी नियन्त्रण गर्न मातहतका निकायलाई व्यवस्थित ढङ्गबाट परिचालित गरिएको स्पष्ट पार्नुभयो ।
साल्ट ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले नेपाल सरकारको निर्देशनबमोजिम विभिन्न खाद्य तथा गैरखाद्य वस्तुको उत्पादन तथा बजारीकरणमा कम्पनी क्रियाशील रहेको बताउनुभयो । उहाँले आयोडिनयुक्त नुनको मूल्य समायोजन तथा ढुवानीका लागि बजेट सुनिश्चितता गरिदिन आग्रह गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु