
धादिङ । जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–६ भैँसेगाउँका गुरुङ समुदाय होमस्टे (घरबास) र चौँरी घोडा नाचमार्फत पर्यटन प्रवद्र्धनमा जुटेका छन् ।
गोरखा जिल्लाको आरुघाट गाउँपालिका ४ आर्खेत बजारबाट शुरु हुने धादिङको गङ्गाजमुना गाउँपालिकास्थित ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’मा गाउँपालिकाको वडा नम्बर ६ बसेरीमा भैँसेगाउँ छ ।
गुरुङ समुदायको बाहुल्यता रहेको भैँसेगाउँमा पर्यटन प्रवद्र्धन गर्न गङ्गाजमुना गाउँपालिकाले घरबास निर्माणको काम अगाडि बढाएको छ । गुरुङ जातिको एक सय ५० घरधुरी रहेको भैँसेगाउँमा बसोबास गर्ने धेरै स्थानीय नेपाल, भारत र बेलायती सेनामा कार्यरत छन् ।
आफ्नो जागिरे जीवनको अवकाशपछि गाउँमै केही गर्नुपर्छ भन्ने मान्यता बोकेका यहाँका गुरुङ समुदाय आफ्नो गाउँका विकासका लागि लागिपरेका छन् । गाउँपालिका– ६ का वडा सदस्य एवं भैँसे गाउँका स्थानीय धनबहादुर गुरुङले गाउँको पर्यटन विकासका लागि भैँसेगाउँ जुटेको बताउनुभयो । भैँसेगाउँमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई यहिँ उत्पादित स्थानीय खानेकुरा ख्वाइन्छ ।
गङ्गाजमुना गाउँपालिका ६ मा एक हजार ७६ घरधुरी छन् । जसमध्ये चार सय घरधुरी गुरुङ समुदायको छ । गुरुङबाहेक यस गाउँमा ब्राम्हण, क्षेत्री, घले, नेवार, राईसमेत बसोबास गर्छन् । समुन्द्र सतहदेखि ५ सय ५० मिटर उचाइमा अवस्थित आर्खेत बजारदेखि २ हजार ९ सय २० मिटर उचाइमा रहेको तीनसुरे भ्यू प्वाइन्टसम्म यो वडा फैलिएको छ ।
प्राकृतिक सम्पदाले धनी रहेको यस वडामा सुन्दर हावापानी, जल, जङ्गल, बाक्लो बस्ती, खेतीयोग्य जमिन रहेको छ । गाउँपालिकाका पर्यटन विकास संयोजक एवं वडा नम्बर ६ का वडाध्यक्ष रमेश ढकाल घरबास र पुरानो चौँरी घोडा नाचमार्फत भैँसे गाउँ पर्यटन प्रवद्र्धनमा जुटिरहेको बताउनुहुन्छ ।
‘गङ्गाजमुना तीनसुरे पदमार्ग’मा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँको अग्र्यानिक खाद्यान्न र संस्कृतिमार्फत पर्यटन प्रवद्र्धन गर्नका लागि भैँसे गाउँ घरबास निर्माण गरेका हौँ’ पर्यटन संयोजक ढकालले भन्नुभयो ।
भैँसे गाउँमा नेपालकै सबैभन्दा पुरानो माने गुम्बा समेत छ । नेपालकै दोस्रो लामो झोलुङ्गे पुलले यस वडालाई छोएको छ । पुलको लम्बाइ ४ सय २० मिटर र उचाइ ३ सय ५० मिटर रहेको छ । बसेरी फार्म हाउस समेत यस क्षेत्रको पर्यटक आकर्षण गर्ने अर्को गन्तव्य हो । यस फार्म हाउसमा स्थानीयस्तरमा उत्पादित खानेकुरा खान पाइन्छ ।
यस गाउँपालिकाभित्र भैँसे गाउँमा मात्र नाचिँदै आएको परम्परागत नाच ‘चौँरी घोडा नाच’ यहाँको आकर्षक नाच हो । तिब्बत र नेपालको युद्धपछि तिब्बतलाई नेपालले पराजित गरेपछि नाच नाच्न थालिएको इतिहास छ । नाच धादिङको रुविभ्यालीपछि भैँसे गाउँमा नाचिँदै आएको छ । नाच संरक्षणमा स्थानीय सरकारले सहयोग गरेको गाउँपालिकाका वडासदस्य नवराज ढकालले जानकारी दिनुभयो ।
भैँसे होमस्टेदेखि गङ्गाजमुना तीनसुरे पदमार्ग हिले वन हुँदै बन्दीडाँडा पुगिन्छ । बन्दी डाँडाबाट अदुचेत खर्क, नाङ्गे चौरको वन, गोरखा र धादिङको साँधमा रहेको घुमाउने खोला, धरेन खर्क हुँदै समुन्द्र सतहदेखि २ हजार ९ सय २० मिटर उचाइमा रहेको ‘तीनसुर भ्यू टावर’ पुग्न सकिन्छ ।
गङ्गाजमुना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले यहाँ भएका प्रकृति र संस्कृति सम्पदालाई जोगाउँदै सिङ्गो गङ्गाजमुनाको पर्यटन विकासका लागि गाउँपालिकाले काम गरिरहेको बताउनुभयो । ‘गङ्गाजमुनाले अगाडि बढाएको पाँच वटा गौरवको आयोजनामध्ये तीन वटा आयोजना पर्यटन क्षेत्रका छन्, गङ्गाजमुनाले पर्यटन क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिएको छ’ उहाँले भन्नुभयो ।
गङ्गाजमुनाले वडा नम्बर ६ मा रहेको भैँसे गाउँ र वडा नम्बर ३ मा रहेको अम्बोटे गाउँमा होमस्टे सञ्चालन गरिरहेको छ । होमस्टेमार्फत पर्यटन प्रवद्र्धन गर्नु गाउँपालिकाको प्रमुख लक्ष्य भएको उहाँको भनाइ छ ।
यसगाउँपालिकाले चालू आर्थिक वर्षमा गाउँपालिकाभित्रको समग्र पर्यटन क्षेत्रको विकासका लागि एक करोडभन्दा बढी रकम विनियोजन गरेको छ । गङ्गाजमुना गाउँपालिकामा ब्राह्मणको भजन, नेवारको लाखे नाच, लामाको परम्परागत घोडा नाच, गुरुङको घाँटु नाच, मगर, राई, घले लगायतका परम्परागत संस्कृति अनुभव गर्न पाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा