
बागलुङ । कम लगानीमा धेरै आम्दानी गर्न सकिने भएपछि बागलुङको निसीखोला गाउँपालिकाका किसान मौरीपालनमा आकर्षित हुँदै गएका छन् । उच्च पहाडी इलाकामा मौरीपालन फस्टाउने हुँदा यसप्रति किसानको आकर्षण बढेको हो ।
निसीखोला–१ हुल्दीका अधिकांश किसानले मौरी पालेका छन् । आधुनिक तथा परम्परागत घारमा उनीहरुले मह उत्पादन गर्दै आएका छन् । गाउँमा यसभन्दा अगाडि स्थानीयले रैथाने मौरी पाल्दै आएकामा अहिले सामूहिक रुपमा मौरीपालन गर्न थालेका हुन् । अहिले गाउँमा १८ किसानले समूह नै बनाएर व्यावसायिक रुपमा मौरीपालन सुरु गरेका छन् । बजारीकरण र उत्पादन बढाउनका लागि किसान सङ्गठित भएको मौरीपालन कृषि समूहका नबहादुर कुँवरले बताउनुभयो । समूहमा आवद्ध किसानमध्ये पहिलो चरणमा नौजनालाई अनुदानमा मौरीका घार र मौरी उपलब्ध गराइएको उहाँको भनाइ छ ।
गाउँलाई मौरीपालनबाट आत्मनिर्भर बनाउने गरी समूहमा धेरै किसानलाई समावेश गर्दै जाने अध्यक्ष कुँवर बताउनुहुन्छ । गाउँमै बसेर उद्यमी बन्ने र बजार मागलाई पूर्ति गर्नेगरी अहिले आफूले एक सय ४० घार मौरी पाल्दै आएको जनाउँदै अब यसलाई बढाउँदै जाने उहाँको भनाइ छ । कुँवरले भन्नुभयो– ‘गाउँमा व्यवसाय गर्ने हो भने धेरै माध्यम छन्, त्यसमध्ये मौरीपालन निकै उपयोगी हुँदा युवा मिलेर मौरीपालनमा लागेका छौँ, गाउँका धेरै कृषक यो पेसामा आबद्ध हुनुहुन्छ, आवद्ध नभएका पनि बिस्तारै आधुनिक घार लिएर शुरुवात गर्न थालेका छन्, गाई, भैँसी, बाख्राको तुलनामा मौरीपालन सजिलो र आम्दानीको राम्रो स्रोत हुने देखिएपछि अहिले धेरै स्थानीयले मौरी पाल्न थालेका छन् ।’
हुल्दी गाउँमा मकै, कोदो फल्ने बारीभरि यतिबेला मौरीका घार राखेको देखिन्छ । स्थानीय पवन सिञ्जालीले लामो समयदेखि कृषि गर्दै आएको र अहिले नयाँ कामको सुरुआत गरेको बताउनुभयो । पछिल्लो समय अन्य गाउँबाट मौरी व्यवसाय हेर्न, ज्ञान लिन र घार किन्न आउने उहाँको भनाइ छ । मौरीपालनका लागि तालिम लिएर सीप हासिल गरेपछि व्यावसायिक रुपमा काम गर्न थालेको सिञ्जाली बताउनुहुन्छ । आफूले दुई घारबाट सुरुआत गरिएको भन्दै अहिले विस्तार भएर धेरै भएको उहाँको भनाइ छ ।
त्यही गाउँका राजुलाल रोकाले पनि कृषक समूह गठन गरेर मौरीपालन गर्दै आउनुभएको छ । पुरानो पुख्र्यौली घार र आधुनिक गरी एक वर्षभित्रै नौ घार माहुरी उत्पादन गर्दै आएको उहाँले बताउनुभयो । यसलाई वृद्धि गर्दै जाने र आर्थिक उपार्जनको माध्यम बनाउने रोका बताउनुहुन्छ । पुख्र्यौलीभन्दा आधुनिक घार आम्दानीको दृष्टिकोरणले राम्रो रहेको उहाँको भनाइ छ । मौरीपालनलाई व्यवस्थित गर्न सके गतिलो आम्दानीको स्रोत बन्ने रोकाले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा