+

लहान मालपोत भवन ८ वर्षसम्मअधुरै

सिरहा । २ वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित ८ वर्षअघि निर्माण शुरु गरिएको सिरहाको लहानस्थित मालपोत कार्यालय भवन अधुरै छ । 

सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय राजविराज सप्तरीले दुई वर्षमा सम्पन्न गर्ने गरी विसं २०७२ असार ७ मा मृत संजीवनी, गहिल जे भी राजविराजसँग सम्झौता गरेको थियो । मूल्यअभिवृद्धि करबाहेक  २ करोड ९१ लाख ८७ हजार २ सय रुपैयाँमा निर्माण गरिने भनिएको भवनको कार्यप्रगति हालसम्म करिब ६५ प्रतिशतमात्रै छ । 

भवन निर्माण आयोजना राजविराका इन्जिनियर उदय चौधरीले सडक डिभिजन कार्यालय लहान र मालपोत कार्यालय लहानबीच जग्गाको स्वामित्व विवाद, विभागबाट भवनको ‘भेरिएसन आदेश’ स्विकृतिमा ढिलाइजस्ता कारणले आठ वर्षसम्म पनि भवन निर्माण नभएको बताउनुभयो । 

निर्माण ब्यवसायी सन्तोष दासले सडक डिभिजन कार्यालय र मालपोत कार्यालय लहानबीचको जग्गा विवादका कारण पूर्वनिर्धारित स्थान सार्नुपरेकाले निर्माणमा ढिलाइ भएको दावी गर्नुभयो । ‘अहिले जुन ठाउँमा मलपोत कार्यालय भवन बनिरहेको छ, त्यसको दक्षिणतर्फ भवन निर्माणका लागि नक्साङ्कन गरिएको थियो । ठाउँ परिर्वतन भएपछि भवन निर्माणका लागि पुनः डिजाइन स्वीकृति माग्दा दुई वर्षसम्म काम अगाडि बढ्न सकेन’ चौधरीले भन्नुभयो– ‘एकतला निर्माणपछि दोस्रो तलामा निर्माण सामग्रीको लागत विवरण नै फरक परेपछि ‘भेरिएसन’ स्वीकृतिका लागि फेरि डेढ वर्ष कुर्नुपर्यो । त्यसपछि कोरोना महामारी, भुक्तानीमा ढिलाइजस्ता कारणले निर्माण समयमा हुनसकेन ।’ अब अन्तिमपटकका लागि आगामी पुस मसान्तसम्म निर्माण सम्पन्न गर्नेगरी म्याद थपको पहल भइरहेको पनि चौधरीको भनाइ छ । 

विसं २०५४ सालमा स्थापना भएको लहान मालपोत कार्यालय सुरूदेखि नै निजी भवन भाडामा लिएर सञ्चालन भइरहेको छ । कार्यालय प्रमुख दिपेन्द्र नारायण चौधरीले समयमा भवन निर्माण नहुँदा वर्षेनी ६ लाख रुपैयाँभन्दा बढी भाडा तिर्नुपरेको र पर्याप्त स्थानको अभावमा दैनिक कार्यसञ्चालनमा समेत कठिनाइ भइरहेको बताउनुभयो । समस्या समाधान गरेर छिटो भवन निर्माणका लागि मौखिक तथा लिखित रूपमा ताकेता गर्दासमेत काम अगाडि बढ्न नसकेको उहाँको भनाइ छ । 

लहान मालपोत कार्यालयको सेवा क्षेत्रमा गोलबजार, लहान, धनगढीमाई र सुखिपुर नगरपालिका तथा नवराजपुर, भगवानपुर, बरियारपट्टी, सखुवानन्कारकट्टी र लक्ष्मीपुरपतारी गाउँपालिका गरी ९ पालिका पर्दछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै