+

कञ्चनपुरमा वन डढेलो नियन्त्रणका लागि जागरण

कञ्चनपुर ।  वन डढेलो नियन्त्रणका लागि कञ्चनपुरमा जनजागरण अभियान सञ्चालन गरिएको छ ।

वन क्षेत्रमा लाग्ने डढेलो चुनौतीपूर्ण बन्दै जान थालेपछि सामुदायिक वन समन्वय समिति कञ्चनपुरले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी) को जल जङ्गल परियोजनाको आर्थिक सहयोगमा जागरण अभियान सञ्चालन गरेको समितिका अध्यक्ष महेशदत्त जोशीले जानकारी दिनुभएको छ ।  

सामुदायिक वनका उपभोक्तालाई वन डढेलोबारे जानकारी दिने उद्देश्यले चैत अन्तिम सातादेखि सुरूगरिएको अभियानअन्तर्गत हालसम्म भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर र पुनर्वास नगरपालिका तथा लालझाडी गाउँपालिकाका ६० सामुदायिक वनका दुई हजारभन्दा बढी उपभोक्तालाई वन डढेलोबारे जानकारी दिइएको उहाँले बताउनुभयो । 

 ‘सानो लापरबाहीले पनि वनमा डढेलो लागेर ठूलो नोक्सानी हुनसक्छ । हामीले वर्षदेखि जोगाएर राखेका बोटबिरुवा, काठ, जडीबुटीलगायत बहुमूल्य सम्पदा क्षणभरमै खरानी हुन्छन् । त्यसैले सावधानी अपनाउन जरूरी छ’ जोशीले भन्नुभयो– ‘त्यसबाहेक चराचुरुङ्गीको बासस्थान मासिने, घिस्रेर हिँड्ने वन्यजन्तु मर्ने र समग्रमा जैविधि विविधतामा गम्भीर असरपर्ने बारे उपभोक्तालाई सचेत र सजग रहन आग्रह गरिरहेका छौँ’ अध्यक्ष जोशीले  भन्नुभयो । त्यसक्रममा पालिका र समुदायस्तरमा बैठक, गोष्ठी र तालिम आयोजना गर्नुका साथै सामुदायिक वनसँग समन्वय गरी अग्निरेखा निर्माण, सरसफाइका लागि उपभोक्तालाई प्रयोगात्मक अभ्यासमा सहभागी गराएर सचेतना अभिवृद्धिमा जोड दिने गरिएको छ ।  ‘वन डढेलो व्यवस्थापनका लाागि निरोधात्मक उपाय अवलम्बन गर्ने कार्यमा उपभोक्तालाई सक्षम बनाउने हाम्रो लक्ष्य हो । यस कार्यबाट सामुदायिक वनका उपभोक्ता वन डढेलो व्यवस्थापन गर्न सक्षम हुन हाम्रो अपेक्षा छ’ उहाँले भन्नुभयो । 

समन्वय समितिका सदस्य पुनाराम चौधरीले वन क्षेत्रमा डढेलो लागिसकेपछि नियन्त्रण गर्न निकै कठिन हुने भन्दै डढेलो लाग्न नदिनुनै उत्तम उपाय भएकाबारे समुदायस्तरमा समचेतना जगाउने काम भइरहेको बताउनुभयो ।  उहाँका अनुसार वन डढेलो नियन्त्रणका लागि सामुदायिक वनका उपभोक्ताले प्रयास गर्दैआए पनि स्रोतसाधनको अभावले प्रयासअनुसारको प्रतिफल हासिल हुन सकिरहेको छैन । जनचेतनाको अभाव, चुरोट, बिडीका ठुटा ननिभाइ वन क्षेत्रमा फाल्नु, नयाँ घाँस उम्रिने आशमा आगो लगाउनु र चोरी सिकारीजस्ता कारणले पनि डढेलोका घटना बढ्दैगएका चौधरीको भनाइ छ । 

महाकाली जनहित सामुदायिक वनका अध्यक्ष तुलसीराम चौधरी वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन नगरिँदा प्रत्येक वर्ष ठूलो नोक्सानी हुँदै गएकाले सरोकारवालाहरूले रणनीतिक योजना बनाएर कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘हरेक वर्ष फागुनदेखि जेठसम्मको अवधिमा डढेलो लाग्ने गरेका बारे हामी सबै जानकार छौँ । सुख्खायाम लम्बिदै जाँदा डढेलो थप बढ्दै जान्छ । त्यसैले समस्या आउनुभन्दा अघि नै योजना बनाएर प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक छ ।’

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीमप्रसाद कँडेलले पनि वन क्षेत्रमा नियोजित रूपमा डढेलो लगाउने प्रवृत्ति मुख्य समस्या र चुनौतीका रूपमा रहेका बताउनुभयो । उहाँले यसवर्ष चुरे क्षेत्रमा रहेको राष्ट्रिय वन र लालझाडी मोहना संरक्षण क्षेत्रको कोर एरियामा डढेलोले बढी क्षति पुर्याएको समेत बताउनुभयो ।  ‘डढेलोबारे सचेतना अभिवृद्धिका लागि सञ्चारमाध्यमबाट सूचना प्रसारण, समुदायस्तरमा जनचेतनामूलक कार्यक्रममा जोड दिइरहेका छौँ । अहिले सामुदायिक वन समन्वय समिति कञ्चनपुरले उपभोक्तालाई लक्षित गरी सचेतनाका कार्यक्रम गरिरहनुभएको छ । सबै मिलेर लागेमा पक्कै पनि केही समस्या समाधान गर्न सघाउ पुग्नेछ’  कँडेलले भन्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै